News 24 Television
आफूलाई नपत्याइएको भन्दै तनावमा बामदेव, ‘पर्दैन’ भन्दा पनि एमाले प्रवेशको आकांक्षा !

काठमाडौं । एक महिना अघि बामदेव गौतम एमाले प्रवेश गर्ने चर्चा राजनीतिक वृत्तमा राम्रैसँग चलेपनि उनले त्यहाँ स्थान पाएनन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका बामदेव गौतमले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि नै स्वयम आँफैले एमाले प्रवेश गर्न लागेको हल्ला चलाएका थिए । 

प्रधानमन्त्री निवास वालुवाटारमै दुई नेताहरुबीच भएको वार्तापछि बामदेवले एमालेले आफूलाई स्वागत गर्न लागेको भनेपनि अन्त्यमा एमालेले उनलाई पार्टीमा प्रवेश गराएन । 

एमाले प्रवेशको चर्चा अघि उनले नेकपा एकीकृत समाजवादीसँग पनि एकताको लागि छलफल गरेका थिए । तर उनी त्यसमा पनि असफल भएका थिए । बामदेवलाई नेकपा एसले राजनीतिक एजेण्डाको विषयलाई कारण देखाएर अस्वीकार गरेको थियो, भने एमालेले आन्तरिक विमत्तिका कारण उनलाई पार्टीमा भित्र्याउन असक्षम बन्यो । यसपछि बामदेव यता न उताको अवस्थमा पुगेका छन् । 

बामदेवका दुःख 

बामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानका संयोजक मात्रै होइनन् । उनी कानून निर्माणको थलो राष्ट्रियसभाका सदस्यसमेत हुन् । राष्ट्रियसभामा सत्ता पक्ष कमजोर छ । यो मानेमा पनि उनलाई सत्ता पक्षले महत्वका साथ हेर्ने गर्छ । तरपनि एमाले उनलाई  पार्टीमा भित्र्याउन असमर्थ रह्यो । यसपछि ओलीको विविध सर्त मान्न तयार हुँदा पनि एमालेले आफूलाई अस्वीकार गरेको बामदेवको बयान छ । 

बामदेवको दुःख यतिमा मात्रै सिमित छैन । सरकारलाई आफूले सदनबाट जनजीविकाका सवालमा जति खबरदारी गरेपनि सुनुवाई नगरेको बामदेवको गुनासो छ । सरकारको यो नीतिले आफू अपमानित भएको समेत उनी जिकिर गरिरहेका छन् ।
 
एमालेमा समाहित हुने चाहना पूरा नभएको विषयप्रति चिन्तित रहेकै अवस्थामा सरकारले पनि आफ्नो आवाजको सम्मान नगरेको बामदेवको बुझाइ छ । 

एमाले मोह त्याग्नै मुस्किल !

बामदेवले एमाले प्रवेशका लागि ठूलै कसरत गरे । उनलाई पार्टीमा स्वीकार गर्न अध्यक्ष ओलीसमेत तयार देखिएका थिए । तर पार्टीका अन्य नेताहरुको असहमतिका कारण एमालेले बामदेवलाई भित्र्याउने गरि औपचारिक निर्णय गर्न भने सकेन । योसँगै बामदेव एमाले प्रवेश गर्ने ‘च्याप्टर क्लोज’ भएको थियो । तर बामदेव अझै एमालेमा प्रवेश पाउने आशमै देखिएका छन् ।

 कुनै समय एमालेमै शक्तिशाली रहेका वामदेव माओवादीसँगको एकतापछि बनेको नेकपामा उपाध्यक्ष मनोनित भएका थिए । तर नेकपा विभाजनपछि ओली, प्रचण्ड र माधव कसैको पक्षमा नलागेका बामदेव नेकपा बचाउने भन्दै एकता अभियानमा रुमालिए । तर अन्त्यमा एकता सम्भव नभएपछि पछिल्लो समय कुनै न कुनै दलको साहारा खोजिरहेका बामदेवले नेकपा एस र नेकपा एमालेको सहयोग खोजिरहेका छन् । 

तर यसमा उनी सफल हुन सकेका छैनन् । सुरुमा नेकपा एसलाई नै बाइपास गरेर अघि बढेका बामदेव एमालेमा पनि स्पेस नपाएपछि खालीहात बन्नुपरेको स्थिति छ । पटक पटकको प्रयास असफल भएपनि एमाले मोह त्याग्न नसकेका बामदेव अझै ओलीको बोलावटसहित एमालेकै सकारात्मक निर्णय कुर्न बाध्य देखिएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update