News 24 Television
ज्ञानेन्द्रमाथि विमानस्थलमै खतरा ! राजावादीभित्रै भयंकर षड्यन्त्र खुलासा !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फागुन २५ गते काठमाडौं फर्किदैछन् । काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र दुर्गा प्रसाई समूहले भव्य स्वागत गर्ने भनेका छन् । यस्तोमा पूर्वराजा काठमाडौं फर्किने कार्यक्रममा कुनै किसिमको तनाव सृजना हुने अवस्था त छैन ? 

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा छन् । उनले केही दिन अघि प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिपछि राजनीतिक रुपमा तरङ्ग पैदा भएकै छ । त्यसपछि पूर्वराजा र राजापक्षीयहरु थप सक्रिय बन्न खोजेको देखिन्छ । 

यस्तो अवस्थामा पूर्वराजाको समर्थनमा विमानस्थलमै हुल जम्मा हुने अनि राजनीतिक दलहरु पनि आक्रामक बनिरहेकाले सरकारले पूर्वराजाको पक्षमा देखिएको माहोललाई मत्थर बनाउन कुनै एक्सन चाल्ने त होइन ? कतै पूर्वराजामाथि नजरबन्दको अस्त्र प्रयोग गरिने त होइन ? सरकारदेखि दलका नेताहरुको अभिव्यक्तिले यस्तै अर्थमा बोलेको सुनिन्छ । साथै अहिलेको परिवेशमा दुई पक्षबीच मुठभेटको आशंका पनि गरिएको छ ।

माओवादी केन्द्रले ज्ञानेन्द्रलाई मुर्खता नदेखाउन चेतावनी नै दिएको छ । तर, राजावादी दल र संस्थाहरु भने फागुन २५ गतेलाई विशेष बनाउने भनिरहेका छन् । यस्तोमा ज्ञानेन्द्र पोखराबाट फर्किदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भीड जम्मा हुने र त्यसपछि कुनै अप्रिय घटना हुने त होइन भन्ने चिन्ता समेत देखिन्छ । यस्तोमा राप्रपा र दुर्गा प्रसाईले गरेका अपिल र यी पक्षबाट हुने भेलाको बीचमा समेत तनाव हुने ठानिएको छ। 

राप्रपा र दुर्गा प्रसाई फ्याक्टर

दुर्गा प्रसाई कट्टर राजावादी भन्न रुचाउछन् । वामपन्थी दल र नेताहरुसँगको सामिप्यतापछि राजावादी बनेका उनले राजा भनेपनि बैंक तथा वित्तीय संस्था, एमाले नेतृत्व र अन्य दलमाथि अनेक आरोप लगाउने गर्छन् । 

यतिमात्रै नभई प्रसाईले भ्रम फैलाउन विभिन्न नामका फेसबुक पेज, प्रोफाइल समेत चलाउने गरेका छन् । जसमा उनले जारी गरेको भनिएका विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्र र आफूलाई षडयन्त्रपूर्वक राज्यले दुख दिने योजना बनाएको दाबी समेत गरेको देखिन्छ । 

ज्ञानेन्द्रलाई नजरबन्दमा राख्ने र आफूलाई हिरासत लैजाने सरकारको तयारी रहेको दाबी प्रसाईले गरिरहेका छन् । जसको पुष्टी हुने आधार भने कतै देखिन्न । यता पूर्वराजालाई चुनाव लड्न र पार्टी खोलेर प्रधानमन्त्री बन्न दलका नेताहरुले चुनौति दिइरहेका छन् । यसको जवाफ दिन राप्रपालाई भ्याइनभ्याई देखिन्छ । 

चुनाव लडेर प्रधानमन्त्री बन्न नेताहरुले दिएको चेतावनीपछि राप्रपाले राजाले चुनाव नलड्ने र चुनाव लड्न राप्रपा नै काफी भएको भनिरहेको देखिन्छ । 

दलका अन्य नेताहरुले यस्तो जिकिर गर्दै गर्दा कांग्रेस नेता शेखर कोइरालाले भने आफूले ज्ञानेन्द्रलाई पूर्वराजा नभई राजा नै भन्ने गरेको भनेका छन् । कोइरालाले राजनीतिक दलहरुले जनतालाई खुशी दिन नसकेको स्वीकार त गरेका छन् तर, राजा फर्किन्छन् भन्ने विषयमा आफूलाई विश्वास नलागेको भनेका छन् । 

मुलुकमा बहुदलीय व्यवस्थासँगै संघीय शासन प्रणालीको अभ्यास भइरहेपनि सरकारहरु स्थिर हुन नसक्दा सुशासन र विकासको यात्रा खास सुधार भएको छैन । यही मौका छोपी पूर्वराजा ज्ञानेन्द्रले पहिलेदेखि नै असन्तुष्टि देखाउने र नेताहरुलाई अनुहार फेरिफेरि षडयन्त्र नगर्न भन्ने गरेका छन् । 

स्वागतको नाममा सुरक्षा तनावको स्थिति

पुर्वराजालाई विमानस्थलमा स्वागत गर्ने भनेको राप्रपा र दुर्गा प्रसाईबीच कुन समूह बढि राजावादी भन्ने होड चलेको देखिन्छ । राप्रपाभित्रै पनि राजावादीमा को कति कट्टर भन्ने विवादकाबीच चलिरहेको राजनीतिक यात्रामा प्रसाईले भड्काउने गरि कदम चाल्ने खतरा देखिन्छ । धार्मिक रुपमा समेत भड्काव अभिव्यक्ति दिदै पोखरामा कोटीहोम विवादलाई चर्काएर राजावादी समूहले फाइदा उठाउन खोजिरहेको बेला विमानस्थलमा उनीहरु आफैबीच तनाव सिर्जना हुने र त्यो सबै गणतन्त्रवादीहरुलाई आरोपित गर्ने काम समेत हुन सक्छ । 

यस्तो स्थितिमा राज्यले सुरक्षा संवेदनशीलताको ख्याल राख्नुपर्ने देखिन्छ । सरकारले सुरक्षा व्यवस्था कसरी मिलाउछ र विमानस्थलभित्रको माहोल संयमित कसरी गर्छ भन्ने विषयले समेत धेरै कुरा थाहा हुनेछ । राजाको पक्षमा राप्रपाले गरिरहेको प्रचारबाट विश्वास जागृत हुन नसकेपछि आफै सक्रिय बनेका ज्ञानेन्द्रले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने चासो समेत उत्तिकै देखिन्छ । यस्तोमा फागुन २५ लाई राप्रपाले कसरी अघि सार्छ भन्ने विषय थप चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update