News 24 Television
पूर्वराजाविरुद्ध माओवादी एक्सनमा ! प्रचण्ड फेरि सुप्रिमो !

काठमाडौं । तराई–मधेस जागरण अभियानमा होमिएको माओवादी केन्द्रले राजावादीहरु सलबलाउन थालेको भन्दै अभियान स्थगित गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र राजावादी दलहरु र समूहको अराजकताले देश दुर्घटनातर्फ जान सक्ने भन्दै माओवादी केन्द्रले रणनीति तय गर्नु पर्ने भयो भन्दै हाललाई जागरण अभियान स्थगित गरेको बताएको छ ।  

माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि जनतासँग जोडिने अभ्यासमा देखिन्छ । माओवादी अहिले मधेसमा छ । 

मधेसमा विभिन्न कार्यक्रम गरिरहेको माओवादी केन्द्रले राजावादीको सक्रियतालाई गम्भीरतापूर्वक लिनुपर्ने र आवश्यक परे प्रतिरोध गर्नुपर्ने भन्दै तराई मधेस जागरण अभियानलाई नै स्थगित गरेको छ । अहिले पूर्वराजा र राजावादी समूहहरुले यस्तो  माहोल बनाउने वातावरण एमाले र प्रधानमन्त्री केपी ओलीकै कारण भएको आरोप समेत माओवादीले लगाएको छ । 

माओवादी–एमाले जुहारी

माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचारको संरक्षण गर्न थालेको आरोप लगाउदै आएको छ । सुशासनको पक्षमा काम गर्दा गर्दै सत्ताबाट षड्यन्त्रपूर्वक हटाइएको दाबी गर्दै आएको माओवादीले कांग्रेस–एमालेले भ्रष्टाचारलाई संस्थागत गर्न खोज्दा जनतामा चरम निराशा फैलिएको भन्ने गरेको छ ।

विभिन्न प्रकरणका कारण पछिल्लो समय जनताले अनेक आक्रोश पोख्ने गरेका छन् । यस्तो स्थितिमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सार्वजनिक अपिल र राजगद्दीको चाहनामा अनेक प्रश्न उठिरहेका  छन् । 

यस्ता प्रश्नका कारण पनि राजावादी दलहरुको सक्रियता र पूर्वराजालाई स्वागत गर्ने विषयले राजनीतिक तरङ्ग पैदा भएको छ । पूर्वराजाको सक्रियताको विषयले चर्चा पाइरहेको बेला माओवादी केन्द्रले जागरण अभियान नै स्थगित गर्नुलाई अझं रहस्यमय ढंगले हेरिएको छ ।

किन ब्याक भयो माओवादी ?

राजावादी दल राप्रपा र दुर्गा प्रसाईले पूर्वराजाको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सहभागिताको अपिल नै गरेका छन् । उनीहरुले कम्तिमा पनि १० हजार मान्छे उतार्ने भन्ने गरेका छन् । यस्तो स्थितिमा काठमाडौंको ट्राफिक स्थितिमात्रै नभई तनावको स्थिति सिर्जना हुनसक्नेतर्फ समेत सुरक्षा विश्लेषण भएपछि माओवादी केन्द्रले जागरण अभियानलाई स्थगित गर्दै पदाधिकारी बैठकबाट आवश्यक निर्णय लिने भनेको छ ।

माओवादी केन्द्रले पाएको सूचनाको आधारमा देशमा अराजकता सिर्जना हुने स्थितिको आवगमन सन्निकट रहेकाले पनि उनीहरु काठमाडौं फर्किएर रणनीति तय गर्ने भनिएको  छ । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update