
काठमाडौं । नेपालका महिलाहरूले केवल परिवर्तनको केही हिस्सा मात्र होइन, परिवर्तनको संवाहकका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । समाजले उनीहरूलाई कहिल्यै चुलोचौकोमा सीमित राख्न खोजे पनि समयसँगै उनीहरूले हर क्षेत्रमा अग्रसर हुँदै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । राजनीतिदेखि सुरक्षाक्षेत्र, विज्ञान, खेलकुद, कला, साहित्यसम्म नेपाली महिलाहरूले आफ्नो अद्भुत क्षमता प्रमाणित गरेका छन् ।
नेपालमा सामाजिक र राजनीतिक परिवर्तनको संर्घष चल्दै गर्दा महिलाहरूको अस्तित्व र पहिचान झनै उजागर हुँदै गएको छ । चुलोचौको र घरको चौघेरामा सीमित मानिएका नेपाली महिलाहरूले समयसँगै आफैंलाई परिर्वतन गर्दै, चुनौतीहरूलाई चिर्दै इतिहास रच्ने यात्रामा अघि बढिरहेका छन् । उनीहरू अब केवल सहभागी मात्र होइनन् परिवर्तनका संवाहक बनेर समाजलाई नयाँ दिशा दिन लागिपरेका छन् ।
जहाँ–जहाँ उनीहरूलाई नेतृत्वको अवसर प्राप्त भएको छ त्यहाँ उनीहरूले आफ्नो क्षमता प्रमाणित गरेर देखाइदिएका छन् । चुनौतीहरूका पहाड भत्काउँदै, संघर्षको अग्निपरिक्षा पार गर्दै, उनीहरू बुलन्द आवाजका साथ अगाडि बढिरहेका छन् । अब नेपाली महिलाहरू इतिहासमा केवल नाम मात्र लेख्न सीमित छैनन् उनीहरू इतिहास आफैं रचिरहेका छन् ।
यसै सन्दर्भमा, अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपालका ती पहिलो महिलाहरूको कथा हृदयंगम गरौं, जसले आफ्ना क्षेत्रहरूमा पहिलो भएर नयाँ कीर्तिमान कायम गरे । समाजलाई नयाँ दृष्टिकोण दिए र हजारौं नेपाली चेलीहरूको प्रेरणाका स्रोत बने ।
राजनीति र प्रशासनतर्फ नेतृत्वकर्ता महिलाहरु
– बिन्दाश्वरी शाह : राजदूत बन्न सफल नेपालको पहिलो महिला
– सुशिला कार्की : प्रधानन्यायाधीश बन्न सफल नेपालको पहिलो महिला
– विद्या भण्डारी : राष्ट्रपति बन्न सफल नेपालको पहिलो महिला
– ओनसरी घर्ती मगर : सभामुख बन्न सफल नेपालको पहिलो महिला
सुरक्षा क्षेत्रतर्फ प्रभावशाली महिलाहरु
– सञ्जु कार्की : सहायक प्रधानसेनापति बन्न सफल नेपालको पहिलो महिला
– किरण बज्राचार्य : नेपाल प्रहरीको एसएसपी बन्न सफल नेपालको पहिलो महिला
उड्डयन र विज्ञान क्षेत्रमा चम्किएका नेपाली महिलाहरु
– प्रभा मानन्ध : चिकित्सक बन्न सफल नेपालको पहिलो महिला
– सोनी राणा : जेट पाइलट बन्न सफल नेपालको पहिलो महिला
– प्रिया अधिकारी : हेलिकप्टर पाइलट बन्न सफल नेपालको पहिलो महिला
खेलकुद र साहसिक क्षेत्रमा इतिहास रचेका महिलाहरु
– त्रिसा श्रेष्ठ : प्याराग्लाइडिङ पाइलट बन्न सफल नेपालको पहिलो महिला
– पासाङ ल्हामु शेर्पा : सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला
– मिरा राईः अल्ट्रा म्याराथन धाविका जो अन्तर्राष्ट्रिय स्तरमा परिचित पहिलो नेपाली महिला हुन् ।
कला, साहित्य र सञ्चार क्षेत्रमा महिलाको इतिहास
– राजामती तुलाधर : फोटोग्राफर बन्न सफल नेपालको पहिलो महिला
– सिद्दी लक्ष्मी : नेपालको पहिलो महिला नृत्यांगना
– सरस्वती प्रतिक्षा : नेपालकी पहिलो ट्रान्सजेंडर महिला मोडल
नेपाली महिलाहरूले आफ्नो संघर्ष, योगदान, र सफलताको उज्ज्वल गाथा इतिहासका पानामा कोरिरहेका छन् । कसैले समाज रूपान्तरणको दियो बालेर अन्धकार चिरे त कसैले राष्ट्रनिर्माणमा अतुलनीय योगदान दिँदै इतिहास रचे ।
उनीहरूको अटल साहस, अद्वितीय नेतृत्व र अडिग संकल्पले नेपाली समाजलाई बदल्ने क्रान्ति सिर्जना ग¥यो । यी महिलाहरूको योगदान शब्दहरूमा मात्र सीमित छैन । उनीहरूको साहस र बलिदानले हजारौंलाई प्रेरित गरिरहेको छ ।
समय बित्न सक्छ, पुस्ताहरू बदलिन सक्छन्, तर उनीहरूको नाम सधैं नेपाली इतिहासमा अमर रहनेछ ।
शासकका रुपमा नेपालकी प्रथम महिला : महारानी राजेन्द्रलक्ष्मी
नेपालको इतिहासमा महिलाको नेतृत्व दुर्लभ मानिए पनि महारानी राजेन्द्रलक्ष्मीले यो परम्परालाई तोड्दै पहिलो नेपाली महिला शासकको रूपमा आफ्नो नाम अमर बनाइन् ।
– श्री ५ प्रतापसिंह शाहकी रानी तथा पृथ्वीनारायण शाहकी बुहारीका रूपमा उनले नायव भई शासन सत्ता सम्हाल्ने पहिलो नेपाली महिला बन्ने अवसर पाइन् ।
– उनको शासनकाल नेपाल एकीकरणको महत्वपूर्ण चरण थियो ।
– ससुरा पृथ्वीनारायण शाहले शुरू गरेको एकीकरण अभियानलाई उनले निरन्तरता दिइन् र नेपाललाई अझ मजबुत बनाउन निर्णायक भूमिका निर्वाह गरिन् ।
– नेपालका इतिहासमा सबैभन्दा शक्तिशाली नारी शासकका रूपमा उनले आफ्नो नाम अमिट छाप छोडेकी छन् ।
साहसी राजनीतिज्ञ शैलजा आचार्य : नेपालको उपप्रधानमन्त्री बन्न सफल पहिलो महिला
नेपालको राजनीतिक इतिहासमा महिलाको उपस्थिति सीमित रहँदै आएको भए पनि शैलजा आचार्यले आफ्नै बलबुताले त्यो बाधा तोड्दै अग्रणी भूमिकामा उदायो ।
– २०५५ सालमा नेपालले पहिलो पटक महिला उपप्रधानमन्त्रीको रूपमा शैलजा आचार्यलाई पायो । जसले नेपाली राजनीतिमा नयाँ इतिहास को¥यो ।
– आजीवन अविवाहित रहेर उनले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रको स्थापनाका लागि समर्पित गरिन् ।
– लोकतान्त्रिक मूल्य, आदर्श, र सिद्धान्तप्रति अडिग रहेकी आचार्य नेपाली राजनीतिमा साहसिक नारी व्यक्तित्वका रूपमा सधैं स्मरणीय रहनेछिन् ।
विद्रोही नारी मङ्गलादेवी सिंह : नेपालको लोकतान्त्रिक संघर्षको ऐतिहासिक प्रतीक
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा मङ्गलादेवी सिंहको योगदान अनमोल र अत्यन्तै महत्वपूर्ण छ ।
– १९९७ सालमा विवाह गरेको चार महिनामात्रमा पति गणेशमान सिंहको गिरफ्तारी र राणा शासनद्वारा लागू गरिएको शारीरिक यातनाले मङ्गलादेवीको जीवनलाई तहस नहस गरिदियो ।
– र, उनको संघर्षको यात्रा एक साहसिक अध्यायका रूपमा चिरकालसम्म सम्झिनु पर्ने बन्यो ।
– पतिको गिरफ्तारीले उनलाई राजनीतितर्फ आकर्षित गर्यो र त्यसै समयबाट उनी विद्रोही नारीका रूपमा उभिइन् ।
– विवाहका गहना फुकालेर उनले राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाइन् ।
– मङ्गलादेवीको त्याग, साहस, र संघर्ष नेपाली नारीहरूको सामूहिक संघर्षको प्रतीक बनेको छ ।
नेपाली राजनीतिकी पथप्रदर्शिका : द्वारिकादेवी ठकुरानी
नेपालको संसदीय प्रजातन्त्रको इतिहासमा पहिलो जननिर्वाचित महिला सांसदको रूपमा द्वारिकादेवी ठकुरानीको नाम अमर छ ।
– २०१५ सालको संसदमा मात्र एक महिला सांसद हुने गर्व लिई डडेलधुराका जनताले उनलाई निर्वाचित गरे ।
– द्वारिकादेवी ठकुरानीले २००३ सालमा नेपाली काँग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरिन् ।
– तर, त्यतिखेरै उनले एक अत्यन्तै पुरूषप्रधान र रूढीवादी समाजको सामना गरिन्।
– समाजले उनलाई अनेक निन्दा, तिरस्कार र अपहेलनाको शिकार बनाएको थियो ।
– उनको संघर्ष र समर्पणले महिला राजनीतिज्ञहरूको लागि नयाँ बाटो खोल्यो ।
– आज पनि द्वारिकादेवी ठकुरानीको नाम नेपाली राजनीति र महिलाको राजनीतिक सहभागितामा अग्रगामी कदमको प्रतीक बनेको छ ।
महिला प्रतिनिधित्व : प्रगति भयो तर चुनौती बाँकी
नेपालमा महिला प्रतिनिधित्वको क्षेत्रमा संख्यात्मक वृद्धि देखिए पनि यसको वास्तविक प्रभावकारिता अझै निराशाजनक छ । तीनै तहको सरकारमा महिलाहरूको उपस्थितिमा सुधार भएजस्तो देखिए पनि उनीहरूको निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता भने अझै सीमित छ ।
मन्त्री परिषद्मा महिलालाई स्थान दिने प्रवृत्ति बढे पनि त्यो मात्र सांकेतिक जस्तो देखिन्छ ।
वास्तविक सत्ता र नीति–निर्माणको अधिकार पुरुषप्रधान नेतृत्वकै हातमा रहन्छ । महिला सशक्तिकरणको मार्गमा सबभन्दा ठूलो बाधा पितृसत्तात्मक सोच र संरचनागत अवरोध नै बनेर खडा छन् ।
समाजमा गहिरोसँग जरा गाडेर बसेका परम्परागत मूल्य–मान्यता र शक्ति–सन्तुलनलाई परिवर्तन गर्न नेपालले अझै लामो यात्रा तय गर्न बाँकी छ ।
महिलाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने प्रक्रियालाई केवल संख्यात्मक प्रतिनिधित्वबाट माथि उठाएर उनीहरूको आवाजलाई नीति निर्माणमा प्रभावकारी रूपमा समावेश गर्न आवश्यक छ ।
तर, यो संघर्षलाई निराशाको दृष्टिले मात्र हेर्नुहुन्न। किनकि प्रत्येक चुनौतीले महिलाहरूलाई अझ दृढ बनाइरहेको छ । उनीहरू परम्परागत साङ्लाहरू तोड्दै अघि बढिरहेका छन् । न्याय, समानता, र समावेशी शासनका लागि आफ्नो स्थान खोजिरहेका छन् ।
प्रश्न यो होइन कि महिलाहरू नेतृत्व लिन सक्छन् कि सक्दैनन् । प्रश्न यो हो, ‘कहिलेसम्म समाजले उनीहरूलाई रोकिरहन्छ ?’ समय बदलिँदैछ र महिलाहरूको संघर्षले नयाँ मोड लिँदैछ ।
समाजमा कायम विभेद हटाउन माग
महिलाहरूले समाजमा पुरुषसरह अधिकार खोजे पनि, घरभित्रै उनीहरू शोषणको शिकार भइरहेका छन् । शिक्षाले, पदले, र उपलब्धिले मात्र महिला सशक्तिकरणको ग्यारेन्टी गर्दैन जबसम्म समाजको मानसिकता परिवर्तन हुँदैन ।
तबसम्म महिलाहरू दोहोरो संघर्ष गर्नैपर्ने बाध्यता यथावत् रहन्छ । राज्यका विभिन्न अंगहरूमा पुगेका शिक्षित महिलाहरूले समेत आफूलाई पुरुषसत्तात्मक सोचको जञ्जालबाट मुक्त गराउन सकेका छैनन् । उच्च पदमा रहँदा पनि उनीहरू केवल कर्मचारी होइनन् घरको सम्पूर्ण जिम्मेवारी उनैको काँधमा रहन्छ ।
घरबाहिर सशक्त देखिने महिलाहरू भित्रभित्रै समाजका परम्परागत बन्धनहरूसँग लडिरहेका छन् । राजनीतिमा गिनेचुनेका महिलाहरू अगाडि बढेका छन् । तर, अरू क्षेत्रहरूमा महिलाको उपस्थिति अझै पनि नगण्य नै छ । सशक्तिकरणका प्रयासहरू भइरहे पनि ती सतही मात्र देखिएका छन् ।
समाजको जरा गाडेको लैङ्गिक विभेद हटाउन केवल महिलाहरूको संघर्ष मात्र पर्याप्त छैन । यसका लागि राज्य, समाज, र परिवार सबैको साझा प्रतिबद्धता अनिवार्य छ ।
नेपालमा महिला सशक्तिकरणले उल्लेखनीय गति लिएको भएपनि यो यात्रा सहज छैन । चुनौतीहरूका पहाड अझै टसमस भएका छैनन् ।
नेतृत्वदायी स्थानमा पुगेका महिलाहरूले केवल आफ्नो प्रतिभा र परिश्रमको परीक्षा दिनुपरेको छैन सामाजिक पूर्वाग्रह, पितृसत्तात्मक मानसिकता, र संरचनागत अवरोधहरूसँग दिनहुँ लड्नुपरेको छ ।
सत्ताका उच्च तहमा पुगे पनि महिलाहरू अझै पनि पुरुषप्रधान सोचको चपेटामा छन् । उनीहरूलाई निर्णायक भूमिकामा सहज रूपमा स्वीकार गरिँदैन ।
उनीहरूको विचार र क्षमतालाई नजरअन्दाज गर्ने परिपाटी हट्न सकेको छैन । अब समानता, न्याय, र समावेशी सहभागिताको सुनिश्चितताका लागि राज्य, समाज, र परिवार सबै एकसाथ अघि बढ्नुपर्छ । सशक्त महिलाहरू मात्र होइन सशक्त समाज निर्माण गर्ने दिशामा प्रतिबद्धता आवश्यक छ ।