
काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल अर्थतन्त्र आजको आधुनिक युगको अपरिहार्य अंग बन्दै गएको छ । नेपालमा पनि डिजिटल अर्थतन्त्रको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ । डिजिटल अर्थतन्त्रका लागि नगदरहित कारोबार, वित्तीय पहुँच विस्तार, पारदर्शिता वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।
पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय संस्थाहरू, मोबाइल वालेटहरू, ई–कमर्स प्लेटफर्महरू, फिनटेक कम्पनीहरू तथा डिजिटल सेवा प्रदायकहरूले डिजिटल कारोबारलाई सहज बनाउँदै गइरहेका छन् ।
डिजिटल प्रविधि, इन्टरनेट, मोबाइल एप्स, एआई र ब्लकचेनजस्ता प्रविधिहरूको प्रयोग गरी आर्थिक क्रियाकलापलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने प्रणालीलाई डिजिटल अर्थतन्त्र भनिन्छ । सूचना प्रविधिको युगमा विश्वभर नै डिजिटल अर्थतन्त्रको अपरिहार्यता बढ्दै गइरहेको छ । नेपालमा समेत यसको आवश्यकताका विषयमा बहसहरु हुँदै आएका छन् । डिजिटल अर्थतन्त्रले देशको आर्थिक वृद्धिमा ठूलो योगदान दिन सक्छ ।
डिजिटल अर्थतन्त्रका फाइदाहरूः
ग्रामीण तथा दुर्गम भेगका नागरिकलाई डिजिटल बैंकिङ पहुँचमा ल्याउँछ
अनलाइन भुक्तानी प्रणालीले नगदको प्रयोग घटाउँछ र कारोबारलाई पारदर्शी बनाउँछ
डिजिटल प्रविधि र स्टार्टअपहरूका कारण नयाँ रोजगारीका अवसरहरू खुल्छन्
अनलाइन कारोबार प्रणालीले कर छली रोक्न सहयोग गर्छ
डिजिटल प्रणालीले वित्तीय कारोबार, कागजी झन्झट तथा समयको बचत गर्छ
नेपालमा डिजिटल अर्थतन्त्रका चूनौतिहरु :
नेपालमा डिजिटल अर्थतन्त्रको विस्तार गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरिए पनि यसको कार्यान्वयनमा यस्ता विभिन्न चुनौतीहरू रहेका छन् ।
१. ग्रामिण भेगमा इन्टरनेटको सीमित पहुँच तथा डिजिटल प्रणाली प्रयोग गर्ने सीपको अभाव
२. साइबर सुरक्षा जोखिमका कारण डिजिटल कारोबारमा डाटा चोरी, ह्याकिङ र फ्रड जस्ता समस्याहरू बढ्न सक्ने जोखिम
३. प्रभावकारी नीतिगत संरचनाको अभावमा डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न आवश्यक कानुनी तथा नीतिगत संरचनाहरूको कमजोरी
४. स्वदेशी डिजिटल सेवा प्रदायकहरू विदेशी कम्पनीहरूमा निर्भर
५. उच्चगतिको इन्टरनेट, सस्तो डेटा तथा भरपर्दो डिजिटल पूर्वाधारको अभाव
नेपालले डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन सरकारी नीति, प्रविधि विकास, साइबर सुरक्षामा लगानी र डिजिटल साक्षरता अभियानलाई प्राथमिकता दिनुपर्छ । यदि यी चुनौतीहरू समाधान गर्न सकियो भने डिजिटल अर्थतन्त्र स्थापित भई नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।