News 24 Television
‘बालेन–रवि’हरुप्रति प्रचण्डको स्वार्थ कि उदारपना ? 

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय जनाधार गुम्दै जाँदा राजनीतिक विचलनमा छन् । चुनावी नतिजाको निरन्तर ओरालो ग्राफ र पछिल्लो समय काँग्रेस र एमाले गठबन्धनमा सरकार बनेपछि त उनी अझ राजनीतिबाटै किनाराकृत हुनुपर्ने अवस्था त नआउँला ? भन्ने त्रासमै पनि पुगे । यद्यपि उनले यसलाई माओवादीको पुनरताजकी गर्ने अवसरकार रुपमा समेत लिएको दावी गरिरहेका छन् । 

यही अवस्थामा मुलुकमा राजतन्त्रवादी गतिविधिसमेत बढिरहेको । गर्नका लागि काँग्रेस एमालेले राजतन्त्रवादीको विरोध नै गरिरहे पनि उनीहरुको कार्यशैली र कदमलाई नै माओवादीले पश्चगामी र अधिनायकवादी चरित्रको संज्ञा नै दिइरहेको छ । यसकारण पनि प्रचण्ड अन्य दल भन्दा केही बढी नै अवस्थामा छन् । 

नयाँहरुप्रति ‘प्रचण्डको लोभ’

पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति जनताको आक्रोश र वितृष्णा बढ्दो छ । तर यसको ठिक विपरित जनताले स्वतन्त्र र नयाँ धारहरुप्रति भने आकर्षण देखाइरहेका छन् । यसको प्रतिफलस्वरुप काठमाडौं महानगरको मेयरमा बालेन शाह र धरान उपमहानगरको नेतृत्वमा हर्क साम्पाङ निर्वाचित भए । 

जनतामा यो पक्षप्रति लहड र आकर्षण बढिरेहेकै छ । यस्तोमा प्रचण्ड भने बालेन र हर्कजस्ता पात्रलाई लोकतन्त्रकै फुलबारीमा फुलेका सुन्दर फुलको संज्ञा दिँदै आएका छन् । बालेनले प्रचण्ड भेट्दा पनि उनीबाट प्रशंशित भएको खुलाएका थिए । 

ऊ बेला प्रचण्डको भनाइ उदृत गर्दै बालेनले भनेको थिए – ‘हतियारबाट राजनीति भयो । आलोचना र कतिपय अवस्थामा गालीगलौजकै स्तरको राजनीति पनि भयो । तर तपाईले कसैको आलोचना नगरी नयाँ किसिमबाट राजनीतिमा प्रवेश गर्नुभयो । यो परिवर्तन मात्रै भएको होइन, नेपालमा नयाँ किसिमको राजनीतिक र सामाजिक क्रान्ति भएको हो ।’

यसरी सूरुकै दिनदेखि औपचारिक र अनौपचारिक रुपमा नयाँहरुको प्रशंसा गर्ने प्रचण्ड अहिले बालेन र हर्कजस्ता उदयीमान पात्रहरु कार्यकारी नेतृत्वको लागिसमेत स्वीकार्य भएको टिप्पणी गर्न थालेका छन् । 

बालेन हर्कजस्ता पात्र मात्रै होइन, प्रचण्डले नयाँ दल रास्वपा तथा जनमत पार्टीहरुप्रति पनि बढी नै सदासयता प्रकट गर्दै आएका छन् । प्रचण्डले सहकारी ठगी प्रकरणले आफ्ठ्यारोमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई समेत पक्षपोषण गरिरहेका छन् । प्रचण्डले सरकारको नेतृत्वमा रहँदा संसदमै उभिएर रविको पक्षमा खुलमखुल्ला अभिव्यक्ति दिए । अनुसन्धानकै क्रममा उनले रविको बचाउमा दिएको अभिव्यक्ति अस्वभाविक रहेकोसमेत टिप्प्णी भयो । 

प्रचण्ड मनोविज्ञान 

प्रचण्ड राजनीतिक अफ्ठ्यारामा छन् । घट्दो जनाधारकै क्रममा उनले बालेनलाई आफ्नो अनुकुलनतर्फ तान्ने प्रयत्न गर्दै आएको प्रष्ट छ । आफू अफ्ठ्यारामा पर्दा वा काँग्रेस र एमालेजस्ता ठूला दलहरुसँग संघर्ष गर्दा प्रचण्डले रवि र बालेनजस्ता नयाँ पात्रहरुको आड खोज्ने गरेका छन् । प्रतिपक्षमा रहेर माओवादीले रास्वपासँग जमेरै सहकार्य गरिहँदा प्रचण्डले महोत्तरी पुगेर बालेनलाई सम्झिएका छन् । पार्टीकै अभियानका क्रममा बिहीबार बालेनको पुर्ख्यौली घर पुगेका प्रचण्डले आफूहरु मिलेरै देश बनाउने उद्घोष गरे ।

प्रचण्डले नयाँहरुप्रति यसरी लोभ वा प्रेम देखाइरहँदा उनीप्रति भने बालेन तथा रविजस्ता नयाँ पात्रले खास सहानूभूति नजनाइरहेको टिप्प्णी समेत भइरहेका छन् । दलहरुबीच सामान्यतय राजनीतिक स्वार्थ मिल्नु र राजनीतिक संस्कार कायम हुनु स्वभाविक हो । 

हालको अवस्थामा राजनीतिक मुद्धा र सरकारप्रति हेर्ने दृष्टिकोणमा केही समानता देखिएपनि रवि–बालेन प्रचण्ड नै स्वीकार्य नेतृत्व हुन् भन्ने अवस्थामा नभएको बताइन्छ । तर पनि प्रचण्डले भने नयाँहरुको उदयको श्रेय लिइरहेका छन् । र, उनीहरु आफ्नै लाग्ने दावी सँधै नै गरिरहेका हुन्छन्् । यो अवस्थामा प्रचण्डको नियतमा समेत प्रश्न उठिरहेको छ । किनकी प्रचण्ड नयाँहरुप्रतिको आकर्षण र प्रसिद्धिमाथि आफ्नो राजनीति मिसाउँदैछन् ? वा उनीहरुप्रति वास्तवमै अपनत्व गरिरहेका छन् ? यो शंकाकै रुपमा हेर्ने गरिएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update