
काठमाडौं । नेपाल भारतबीचको सम्बन्धका अनेक आयाममा प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री केपी ओलीलाई भारतले अथक प्रयासका बाबजुत पनि भ्रमण निम्ति नदिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । यस्तै, ओलीको भारत भ्रमणको चाँजो मिलाउने प्रयास भने रोकिएको छैन ।केपी ओली प्रधानमन्त्रीको रुपमा आएपनि भारतले उनलाई खुलेर स्वागत गर्न चाहेको देखिन्न । परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई भारतले दिएको उच्च सम्मान र त्यसपछि देखाएको व्यवहारले पनि अनेक संसय उत्पन्न भएका छन् ।
उसोतः सरकारले भारतसँगको सम्बन्ध सुधारको प्रयास गरेपनि सफल हुन नसकेको चर्चा कुटनीतिक वृत्तमा चल्ने गरेको पाइन्छ । यता, सरकारका मन्त्रीहरुले पनि भारतलाई खुशी पार्न अनेक अभिव्यक्ति दिने गरेका छन् । ऊर्जामन्त्री दीपक खड्काले भारतका कारण नेपालको लोडसेडिङ अन्त्य भएको भन्दै साटेको खुशीलाई पनि भुराजनीतिक दाउपेचको अर्थमा समेत लिइएको छ ।
प्रतिनिधिसभामा सांसदहरुले पनि प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्ने गरेका छन् । निकट भविष्यमै भारत भ्रमण गर्ने दाबी गर्ने गरेका प्रधानमन्त्री केपी ओलीको भ्रमण हुन नसक्दा पनि प्रश्नहरु स्वभाविक रुपमा उठ्ने गरेका छन् । यस्तोमा प्रतिनिधिसभामै उठेका प्रश्नले समेत सरकार र भारतबीचको सम्बन्ध सुधार हुन नसकेको छनक प्रष्ट देखिन्छ ।
आरजुको अर्को प्रयास
परराष्ट्रमन्त्री आरजु राणा देउवा पुनः भारत भ्रमणमा जाने भएकी छन् । आगामी चैत्र ४ देखि ६ गतेसम्म आयोजना हुने रायसिना डायलगमा सहभागी हुन उनी भारत जाने भएकी हुन् । भारत भ्रमणको क्रममा आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिने भनिएको छ ।
भ्रमणको निम्तो दिने कारण बनेको छ, सगरमाथा सम्वाद । नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म नेपालमा सगरमाथा संवाद आयोजना गर्दैछ ।
यो क्रममा भएको भेटमा नेपाल भ्रमणको निम्तो दिएर ओलीलाई भारत भ्रमणमा बोलाउने वातावरण सिर्जना गर्ने दाउमा आरजुले सक्रियता बढाएकी छन् । तर, यो कति सफल हुन्छ भन्ने चासो देखिन्छ । उसोतः अन्य मन्त्रीहरु भने धमाधम भारत गइरहेका छन् ।
देउवाको त्यो कदम
कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको प्रयागराजमा लामो समय चलेको महाकुम्भ मेलाको क्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर अन्तिममा भारतीय शीर्ष नेता र नरेन्द्र मोदीसँगको भेट अनिश्चित भएपछि कार्यक्रम नै स्थगित गरेका थिए ।
लामो समयदेखि भारतले ओली सरकारको विकल्पमा जानुपर्ने दबाब कांग्रेसमाथि लगाउने गरेको बताइन्छ । तर, सत्ता साझेदार दल कांग्रेसले अहिलेको सत्ता गठबन्धनलाई टिकाएरै जाने संकेत गरेपछि भारत कांग्रेससँग पनि चिढिन पुगेको बताइन्छ ।
ओली र भारत सम्बन्ध
प्रधानमन्त्री केपी ओलीले सार्वजनिक मञ्चमा भारतविरोधि जनमत सिर्जना गर्ने गरेको आरोप भारतले लगाउने गरेको छ । नेपाल आइरहने नरेन्द्र मोदीले पछिल्लो पटक आफ्नो नेपाल नीति नै फेरेको चर्चा समेत हुने गरेको छ ।
यस्तोमा ओलीले नेपालको नयाँ नक्सालाई कार्यान्वयन गर्नुपर्नेदेखि कुटनीतिक विषय पनि सार्वजनिक खपतको विषय बनाउने गरेका कारण भारतले चासो मारेको दाबी गर्ने गरिएको छ । छिमेक सम्बन्ध सुधार गर्न सरकारले पर्याप्त कुटनीतिक च्यानलको प्रयोग गर्न चुक्दा प्रकृति लम्साल प्रकरण र त्यसमा देखिएको उदासिनतालाई पनि धेरैले उदाहरणको रुपमा लिने गरेको पाइन्छ ।
यस्तोमा ओलीको कुटनीतिक चातुर्यतामै भारतसँगको सम्बन्ध सुधारमा नयाँ आयाम थप्ने वा नथप्ने भन्ने निक्र्याैल हुने ठानिएको छ ।