
काठमाडौं । नेपालको हवाई सुरक्षामा फेरि गम्भीर प्रश्न उठेको छ । बुद्ध एयरको जनकपुर–काठमाडौँ उडानका क्रममा एउटा अचम्मको घटना घट्यो । जहाज उड्नुअघि सबै ठिकठाक देखिए पनि काठमाडौं ओर्लंदा अगाडिको एउटा पाङ्ग्रा नै हराएको देखियो । सुरक्षित अवतरण भए पनि अवतरणका लागि अति आवश्यक भागको अवस्था के–कस्तो छ भन्नेबारे नै वेवास्ता गरिनु जस्ता कार्यले हवाई सुरक्षाको लागि ठूलो चिन्ताको विषय बनेको छ ।
नेपालको वायुसेवा सुरक्षाबारे गम्भीर प्रश्न उठिनै रहेका समय फेरि अर्को सनसनीपूर्ण घटनाले चिन्तालाई बढाइदिएको छ । जहाजको पाङ्ग्रा नै हराएपछि बिहीबार देशभर खैलाबैला मच्चायो । बुद्ध एयरको नाइनएन–एएनएच जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचम्मलाग्दो तरिकाले अगाडिको एउटा मात्रै पाङ्ग्राको भरमा अवतरण गर्यो ।
जनकपुर विमानस्थलबाट बेलुकी ४ः३९ बजे उडेको यो विमान ५ः५१ बजे काठमाडौं आइपुग्दा सबैलाई अचम्ममा पार्ने रहस्य खुल्यो । अवतरणपछि गरिएको निरीक्षणमा जहाजको नोज ल्यान्डिङ गेयरको एउटा पाङ्ग्रा नै हराइरहेको थियो । तर, त्यो हराएको पाङ्ग्रा कहाँ गयो त ? खोजी गर्दा पत्ता लाग्यो पाङ्ग्रा त जनकपुर विमानस्थलकै रनवेको टर्निङ प्याडमा रहेछ । सुरक्षामा यस्तो गम्भीर त्रुटि कसरी भयो भन्ने प्रश्नले अहिले सबैलाई तरंगित बनाइरहेको छ ।
सुरक्षाको लापरबाही !
नेपालको हवाई सुरक्षामा बारम्बार प्रश्न उठिरहेका छन् र यो घटनाले फेरि एकपटक नागरिक उड्डयन प्राधिकरणको अनुगमन प्रणालीमाथि गम्भीर शंका उत्पन्न गराएको छ । हवाई यातायातको सबभन्दा ठूलो चुनौती भनेकै नियमित मर्मतसम्भार र प्राविधिक निरीक्षण हो । तर, के नेपालले यो पक्षलाई पर्याप्त गम्भीरतासाथ लिएको छ त ? प्रश्न उठेको छ ।
नेपालका एयरलाइन्सहरू लामो समयदेखि यूरोपेली संघको कालोसूचीमा छन् । २०१२ देखि नै नेपालका सबै एयरलाइन्सलाई असुरक्षित ठहर गर्दै यूरोपेली संघले आफ्ना हवाई क्षेत्रभित्र प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा बुद्ध एयरको पछिल्लो घटनाले नेपालमा हवाई सुरक्षाको स्तर अझै सुधार गर्नुपर्ने आवश्यकतालाई थप उजागर गरेको छ ।
पाइलटलाई नै थाहा नभइ टायरबिना जहाजको अवतरण !
अवतरणका क्रममा जहाजको अगाडिको टायर नै नभएको विषय पाइलटलाई नै जानकारी थिएन भन्ने खुलासा भएपछि यो घटना झनै आश्चर्यजनक बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार जहाज कसरी सुरक्षित अवतरण भयो भन्ने विषय अहिले चासोको विषय मात्रै बनेको छैन प्राधिकरण आफै चकित छ ।
पाइलटलाई नै टायर हराएको पत्तो नभएको र सुरक्षित अवतरण सम्भव भएको घटनाले थप अनुसन्धान आवश्यक भएको हो । तर, पाइलटले समयमै जानकारी नदिँदा कुनै इमर्जेन्सी घोषणा गरिएको थिएन । सुरक्षाको थप तयारीसमेत विमान स्थलमा हुन सकेन । जहाज अवतरण भइसकेपछि मात्र पाइलटले पोस्ट–फ्लाइट चेकअपको क्रममा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर गायब भएको जानकारी गराएका थिए । यो घटना पहिले भएकाले विस्तृत छानबिनपछि मात्रै सुरक्षाका उपाय पत्ता लाग्ने प्राधिकरणको भनाई छ ।
यात्रुहरू सुरक्षित तर अनुसन्धान अनिवार्य !
जनकपुरबाट सामान्य रूपमा उडान भरेको जहाज काठमाडौंमा सुरक्षित अवतरण त ग¥यो । तर बीचमै महत्त्वपूर्ण भाग खस्दा हवाई सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न उठेको छ ।
चालक दलसहित ६२ जना यात्रु सवार उक्त जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल ग्राउन्डेड गर्दै विस्तृत अनुसन्धान सुरु गरिसकेको छ । प्रारम्भिक अनुमानअनुसार ल्यान्डिङ गेयरको इन्डिकेशन प्रणालीले कुनै समस्या देखाएको थिएन । तर, विज्ञहरू भने यो केवल सामान्य प्राविधिक त्रुटि नभई गम्भीर लापरवाहीको संकेत भएको बताउँछन् ।
नेपाल वायुसेवा क्षेत्रमा पछिल्ला केही वर्षमा सुधारका प्रयास भए पनि प्राविधिक समस्या, मानव त्रुटि र अनुगमनको कमजोरीका कारण बारम्बार दुर्घटना भइरहेका छन् । २०२३ मा यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको घटना अझै ताजा छ ।
गत वर्ष मात्रै पनि सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो ।
यी घटनापछि सरकारले सुरक्षासम्बन्धी उपायहरू कडा पार्ने प्रतिबद्धता जनाएको थियो । तर, ती सबै भाषण र कागजमा मात्रै सीमित देखिनछन् । यता, यो घटनाले उड्डयन सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ भने यात्रुहरूको मनमा त्रास र आशंका जन्माएको छ । उक्त जहाजको घटनाबारे छानबिन हुनुपर्नेमा सांसदहरूको पनि माग छ ।
कहिले आकाशमै प्लेनबाट धुवाँ निस्किन्छ, कहिले पांग्रा फुस्किन्छ त कहिले उड्दाउड्दै झ्याल खुल्ने जस्तो अचम्मको घटना नेपाली आकाशमा घट्ने गरेको छ । प्राविधिक कमजोरीका कारण ज्यान जानेगरी ठूला दुर्घटना भइरहन्छन । तर, सुधार पक्ष अत्यन्तै फितलो छ ।
दुर्घटना भएपछि छानबिन समिति बन्छ । त्यसको रिपोर्ट पनि तयार हुन्छ । तर, उही पक्रिया– ‘कर्मकाण्ड पूरा, सुधार शून्य ।’ बुद्ध एयरको यो घटनाबाट सिक्दै कडा अनुगमन र हवाई सुरक्षाका मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ढिलाइ गरिए यस्ता त्रुटिहरू भविष्यमा अझै भयावह दुर्घटनाको कारण बन्न सक्छन् ।