News 24 Television
क्रिप्टोकरेन्सी अवैध किन ?

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध छ । नेपाल प्रहरीले विभिन्न समयमा क्रिप्टो कारोबार गर्नेहरुलाई पक्राउ गरी कारबाही समेत गरेको छ । क्रिप्टोकरेन्सी कारोबारबाट नागरिक ठगिने र देशको पुँजी पलायन हुने समस्याका कारण सरकारले यसको कारोबार गर्नु अवैध मानेको छ । विश्वका अधिकांश मुलुकमा यसको कारोबार बढ्दै गएपनि नेपालमा अवैध मानिनुको कारण के होला ?

नेपालको आफ्नै डिजिटल करेन्सी छैन । विश्वमा कारोबार भइरहेका क्रिप्टोकरेन्सीहरुमा कारोबार गर्न केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले प्रतिवन्ध लगाएको छ । नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध गरिएकाले पनि क्रिप्टोकरेन्सीमा कारोबार गर्नु भनेको प्रतिबन्धित कारोबार गर्नु सरह हो ।

क्रिप्टोकरेन्सी एउटा भर्चुअल मुद्रा हो । यसअको अस्तित्व अनलाइनमा मात्र सीमित छ । यसलाई नियमन गर्ने कुनै पनि निकाय हुँदैन । भौतिक रुपमा छुन र देख्न सकिदैन । तर यसको मूल्य तोकिएको छ र यसमा लगानी गरिएको पाइन्छ । धेरैजसो देशहरुमा यसको प्रयोग गरेर सामानहरु किन्न र भुक्तानी गर्न पनि सकिन्छ । यसलाई कम्प्युटर वा मोबाइलमा डिजिटल वालेटमार्फत सञ्चालन गरिन्छ । जुन ब्लकचेन टेक्नोलोजीमा आधारित छ ।

नेपालमा क्रिप्टोकरेन्सी निषेध किन ?

क्रिप्टोकरेन्सीको कारोबारबाट देशको पैसा बाहिरन सक्छ । पुँजी पलायनको जोखिम छ । कारोबारका लागि कानुनी व्यवस्था पनि छैन । त्यसैले सर्वसाधारण ठगिन सक्छन र नियमन गर्ने कुनै निकाय नभएकाले यस्ता करेन्सीहरु कुनैपनि बेला बन्द भइदिन सक्छन् । यसबाट सर्वसाधारण नागरिकलाई ठूलो आर्थिक क्षति पुग्न सक्छ । 

क्रिप्टोकरेन्सी कारोबार अवैध हुनुका प्रमुख कारण ।

-    क्रिप्टोकरेन्सीको कुनै नियामक निकाय छैन

-  रेमिट्यान्समा निर्भर अर्थतन्त्र अस्थिर बन्ने जोखिम हुन्छ

-    देश भित्रको रकम अवैध बाटोबाट बाहिरिन सक्छ

-    पुँजी पलायनको जोखिम हुन्छ

-   सर्वसधारण नागरिक ठगिन सक्छन

-  ठूलो मात्रामा कर छलि हुने सम्भावना रहन्छ 

-    अवैध वस्तुको कारोबारलाई प्रोत्साहन गर्छ

-    हुन्डी कारोबारलाई प्रोत्साहन गर्न सक्छ

-    वर्तमान वित्तीय प्रणालीमा जोखिम निम्त्याउन सक्छ 

-    कुनैपनि बेला क्रिप्टोकरेन्सी कम्पनीहरु बन्द भइदिन सक्छन् । 

डिजिटल मुद्राको सम्भावना 

नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । केन्द्रीय बैंकले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरमा अध्ययन भइरहेको जनाएको छ । तर यो क्रिप्टोकरेन्सी जस्तै करेन्सीको लागि गरिएको अध्ययन भने होइन । यसको स्वामित्व सम्बन्धित देशका केन्द्रीय बैंकले लिन्छ ।

क्रिप्टोकरेन्सीको अवसर ?

अमेरिकी राष्ट्र एल साल्भाडोरले बिटक्वाइनलाई आधिकारीक अफिसियल मुद्राको मान्यता दिएको छ । तर अरु देशमा अझैपनि अफिसियल मुद्राको मान्यता छैन । तर विभिन्न एक्सचेन्जमार्फत यसको कारोबार भएको पाइन्छ । मानिसहरुले पैसा जस्तै गरी यसबाट भुक्तानी गर्ने र स्टोर गरेर राख्ने गरेको पाइन्छ । 

कतिपय अर्थशास्त्रीहरुले क्रिप्टोकरेन्सी विश्वमा नयाँ उद्योगको रुपमा विकास भइरहेकोले यसलाई कुनै न कुनै रुपम मान्यता दिनुपर्ने तर्क गरिरहेको देखिन्छ । खासगरी क्रिप्टोकरेन्सी माइनिङका लागि नेपालले पनि खुला गर्नुपर्ने तर्क जानकारहरुले गर्दै आएका छन् । 

यसबाट नयाँ उद्योगको रुपमा माइनिङ कम्पनी खुल्ने र नयाँ अवसरहरु सिर्जना हुने अर्थशास्त्रीहरुको तर्क छ । 

क्रिप्टोकरेन्सीबाट कसरी हुन्छ ठगी ?

धेरैजसो देशले क्रिप्टोकरेन्सीलाई अवसरको रुपमा लिँदै कारोबार खुला राखेका छन् । केहीले कानुन नै बनाएर एक्सचेन्जमार्फत कारोबार गराएका छन् । नेपालमा क्रिप्टोकरेन्सी कारोबारका लागि कुनै कानुन छैन । यसको अवसर र चुनौतिको बारेमा पनि कुनै अध्ययन भइरहेको देखिदैन । त्यसैले अवैध रुपमा भित्रभित्रै कारोबार गर्ने कारोबारीहरु बढ्दै गएका छन् ।

नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबार मौलाउँदै गएको र ठगीका घट्ना बढ्ने गरेको प्रहरीको दाबी छ । नेपालमा यसलाई नियमन गर्ने निकाय छ न त यसको कुनै भौतिक स्वरुप नै छ । त्यसैले यसको नाममा भइरहेको ठगी रोक्न र नियमन गर्न कानुनी आधार भने तयार गर्नुपर्ने देखिन्छ । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update