
काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मल कारखानका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरिएको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको बताए । उनले मल कारखाना स्थापनाका लागि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने समेत बताए ।
लगानी, पूर्वाधार विकास र बजार व्यवस्थापन लगायतका विषयमा सम्बन्धित निकाय तथा विदेशी संस्थामार्फत अध्ययन भइरहेको उनको भनाइ छ ।
मन्त्री अधिकारीले भने, ‘आर्थिक वर्ष २०८०/८१ को बजेटमा बुँदा नम्बर ८९ मा स्वदेशमै रासायिनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी लगानीमा लगानी बोर्डमार्फत काम अघि बढाइने छ भनी उल्लेख थियो । तथापी ८१/८२ को बजेटमा यो समबन्धी विषय उल्लेख भएको छैन । साथै चालु आर्थिक वर्ष ०८१/८२ मा समेत मल कारखान स्थापनाका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कुनै बजेट विनियोजन भएको छैन । नेपाल सरकारको कार्य विभाजनको नियामावली २०७४ को अनुसार उद्योग स्थापना सम्बन्धी विषय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयसँग सम्बन्धित रहेको देखिन्छ । रासायनिक कल कारखाना धेरै ठुलो लगानी पूर्वाधार विकास र बजार व्यवस्थापनलगायतका विषयसँग सम्बन्धित भएकाले सो सम्बन्धमा अर्थ मन्त्रालय, लगानी बोर्ड तथा विदेशी संस्थाहरुमार्फत विभिन्न चरणमा अध्ययन भएको छ ।’
मन्त्री अधिकारीले विक्रम संवत २०७२ मा जाइकाले ७२ अर्ब लगानी गरी वार्षिक ७ लाख मेट्रिक टन मल उत्पादन हुने भन्ने पूर्व सम्भाव्यता अध्ययन गरिएको बताए । चालु आर्थिक वर्षमा ग्लोबल ग्रिन ग्रोथ इस्न्टिच्युट जिजिजी र काठमाडौं विश्वाविद्यालयले ग्रिन युरियाको कारखाना स्थापना गर्न सकिने सम्बन्धमा अध्ययन भएको उनको भनाइ छ ।