News 24 Television
घरघरमै पुगेर आँखा जाँच, ७५ जनाको निशुल्क शल्यक्रिया 

सिन्धुपाल्चोक । मानिसका लागि आँखाको महत्व त्यतिबेला मात्रै थाहा हुन्छ, जतिबेला मानिसले आँखाको ज्योति गुमाउँछ । आँखाको ज्योति गुमेपछि संसार नै अन्धकार मात्रै सामान्य दैनिकी पनि कष्टकर बन्छ । मोतियाविन्दुका कारण आँखाको दृष्टि गुमेपछि आर्थिक अवस्थाका कारण उपचार नगरी बसेकाहरुलाई सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीले निःशुल्क शल्यक्रिया गराउँदै गुमेको आँखाको ज्योति फर्काउन थालेको छ । 

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ६ पिपलडाँडाका ७८ वर्षीया रत्नकुमारी बस्नेतले आँखा राम्ररी देख्न छाडेको दशक भएको थियो । अधबैसे उमेरमै आँखामा समस्या सुरु भएपनि पैसा नहुदाँ उपचार गर्न उनलाई सम्भव भएन । 

मोतियाविन्दु कारण स्पष्ट देख्न नसक्दा पछिल्ला वर्षमा उनलाई हरेक काम गर्न अरुको साहारा लिनु पथ्र्यो । अन्धकार र कष्टकर जीवन कटाउँदै आएकी रत्नकुमारीले अहिले भने दुवै आँखाले स्पष्ट देख्न सक्ने भएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिकाले गरेको निःशुल्क आँखा शिविरमा शल्यक्रिया गरेकी उनको दुवै आँखाले देख्ने भएपछि दंग छिन् । 

रत्नकुमारी जस्तै मोतियाविन्दु लागेका नगरभित्रका विपन्न, एकल र जेष्ठ नागरिकहरुमा शल्यक्रिया पछि खुसी फर्किएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा फागुन २० गते यता तीन दिनसम्म ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । 

पहुँचबाट बाहिर रहेकाहरुलाई लक्षित गर्दै समुदायमा पुगेर १४ वटै वडाबाट शिविरमार्फत् पहिचान भएकाहरुको शल्यक्रिया गरिएको हो । पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न नसकेकाहरु घरदैलोमा पैसा नतिरिकनै आँखाको शल्यक्रिया गर्न पाउँदा खुसी देखिएका हुन् । 

नगरपालिकाले समुदायमा पुगेर शल्यक्रिया स्थानसम्म निशुल्क गाडीले ल्याउने र पु¥याउनुका साथै चस्मा समेत वितरण गरेको छ । 

आँखाका बिरामीको पहिचान गर्न फागुन यता १४ स्थानमा नगरले समुदायमा पुगेर शिविर आयोजना गरेको थियो । शिविरमा ३ हजार भन्दा माथिको आँखा जाँच गरिएको थियो जसमध्ये १ सय ८५ जनामा शल्यक्रिया गर्नुपर्ने पाइएको थियो । 

नेपालको सहरी क्षेत्रमा बाहेक ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य उपचारको पहुँच पुग्न सकेको छैन । आर्थिक र जनचेतना अभावका कारण धेरै नागरिकले आँखाको समस्या भोग्नु परेको छ । बेलाबेलामा हुने शिविरहरूले अन्धोपन हटाउन मद्दत पुगेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाको योजना छ । 

स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहँु लडेर बसिरहन बाध्य नागरिक धेरै छन् । तसर्थ राज्य हुनुको आभास नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो । यसअर्थमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्न परिवार लक्षित गर्दै गरेको आँखा शिविर अभियान सराहनीय छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update