
काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै बैंकिङ क्षेत्रले डिजिटल रूप लिँदै गएको छ । डिजिटल बैंकिङलाई प्रभावकारी बनाउन फाइनान्सियल टेक्नोलोजी फिनटेक महत्वपूर्ण बनेको छ । फिनटेक भन्नाले वित्तीय सेवाहरूलाई प्रविधिमैत्री बनाउने प्रणालीलाई जनाउँछ ।
नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङलाई सहज बनाउन फिनटेकका विभिन्न प्रविधिहरू अपनाएका छन् ।
फिनटेक भनेको वित्तीय सेवा तथा बैंकिङ प्रक्रियालाई प्रविधि प्रयोग गरी सरल, सुरक्षित र छरितो बनाउने प्रविधि हो। यसमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड भुक्तानी, डिजिटल वालेट, ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स एआई तथा बिग डेटा एनालिटिक्सजस्ता प्रविधि समावेश छन् । यी प्रविधिहरूले वित्तीय कारोबारलाई छिटो, पारदर्शी र सुलभ बनाउँछन् ।
फिनटेकले बैंकिङ प्रणालीमा निम्न कार्य गर्छ :
फिनटेकले मोबाइल वालेट, क्युआर कोड, एनएफसी प्रविधि, यूपीआई जस्ता डिजिटल भुक्तानी प्रणालीलाई सहज र स्वचालित बनाउँछ ।
एआई तथा बिग डेटा प्रयोग गरी ग्राहकको वित्तीय अवस्था विश्लेषण गरी क्रेडिट मूल्यांकन र ऋण स्वीकृति छिटो गर्ने कार्यलाई छिटो गराउँछ ।
ब्लकचेन तथा बायोमेट्रिक प्रविधि प्रयोग गरी वित्तीय कारोबारलाई सुरक्षित बनाउउँछ । बैंकिङ सेवाहरूलाई मोबाइल एप्स तथा च्याटबोटमार्फत स्वचालित बनाउँदै डिजिटल कस्टमर सेवालाई सहज बनाउँछ ।
डिजिटल बैंकिङका लागि फिनटेक किन महत्वपूर्ण ?
फिनटेकले बैंक तथा वित्तीय संस्थाहरूलाई परम्परागत कागजी प्रक्रियाबाट मुक्त गर्दै डिजिटल रूपान्तरण गर्न मद्दत गर्छ । यसले ग्राहकलाई वित्तीय सेवा छिटो, सरल र सहज रूपमा उपलब्ध गराउँछ ।
डिजिटल भुक्तानी प्रणालीले नगद कारोबारमा निर्भरता कम गरी वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्छ । नेपालमा डिजिटल कारोबार बढ्दै जाँदा फिनटेकको प्रयोग आवश्यक अनिवार्य बन्दै गएपछि नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्न विभिन्न नीतिहरू ल्याइरहेको छ ।
नेपालमा फिनटेकको प्रयोग
नेपालमा पछिल्लो समय फिनटेक प्रविधिको प्रयोग तीव्र रूपमा बढेको छ । फिनटेकमा आधारित इसेवा, आइएमई पे, खल्ती जस्ता मोबाइल वालेट, इन्टरनेट बैंकिङ, क्युआर कोड भुक्तानी, कनेक्ट आइपिएस जस्ता प्रणालीहरू लोकप्रिय बनेका छन् । धेरै बैंकहरूले डिजिटल ऋण प्रणाली, बायोमेट्रिक प्रमाणीकरण तथा ब्लकचेन प्रविधि प्रयोग गर्न थालेका छन् ।
अहिले फिनटेककै कारण क्यूआर भुक्तानी, मोबाइल बैंकिङ तथा डिजिटल वालेटको प्रयोग ग्रामीण भेगसम्म विस्तार भइरहेको छ ।
त्यसैले डिजिटल कारोबारलाई प्रभावकारी बनाउन फिनटेकको प्रयोग अझ सशक्त बनाउनु आवश्यक छ । नेपालमा डिजिटल बैंकिङको भविष्य उज्ज्वल देखिए पनि साइबर सुरक्षाका चुनौती तथा प्रविधिसम्बन्धी सचेतनाको कमी रहेको पाइन्छ ।
सरकार, बैंक तथा फिनटेक कम्पनीहरूले सहकार्य गरी प्रविधि र साइबर सुरक्षालाई मजबुत बनाएमात्रै डिजिटल बैंकिङलाई अझ प्रभावकारी बनाउन सम्भव हुन्छ ।