News 24 Television
प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान 

रुपन्देही । यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । फागुन २५ देखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा हुने भएपछि यहाँका खेलाडी र क्रिकेट प्रेमी उत्साहित छन् । 

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ ।

यी तीनमध्ये एक्स्ट्राटेक निजी लगानीको मैदान हो भने अन्य दुई सरकारी हुन् । प्रतियोगिताका लागि तीनवटै मैदानमा रंगरोगनदेखि आवश्यक स्थायी तथा अस्थायी संरचना निर्माण गरिएको छ भने विज्ञ क्यूरेटर मार्फत् पिच मर्मत गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटका सबै खेल राजधानी बाहिर लुम्बिनी प्रदेशमा गराउन लागेको हो । प्रदेशमा क्रिकेटका लागि आश लाग्दा धेरै खेलाडी भएकाले पनि क्यानको निर्णयले लुम्बिनी उत्साहित छ । 

प्रतियोगिताले लुम्बिनी क्षेत्रको खेलमात्र नभई आर्थिक क्षेत्रसमेत चलायमान बनाउने विश्वास धेरैको छ । क्रिकेट खेल्न रुचाउने नयाँ पुस्ताले समेत घरेलु मैदानमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको प्रदर्शन हेरेर धेरै कुरा सिक्न पाउने भन्दै खेलाडी र खेलप्रेमी हौसिएका छन् ।

क्यानका अनुसार फागुन २५ देखि चैत १६ गतेसम्म हुने प्रतियोगिताका ४६ खेलमध्ये भैरहवाको सिद्धार्थ रंगलाशामा १७, तिलोत्तमाको एक्स्ट्राटेकमा १५ र दाङको लमहीमा १४ खेल हुनेछन् । गत संस्करणको प्रधानमन्त्री कपका केही खेल सिद्धार्थ रंगशालामा पनि भएका थिए । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी हुँदैछन् । प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् । स्तरीय होटल तथा हवाई सुविधासहितका सबै पूर्वाधार भएकाले पनि प्रधानमन्त्री कपले प्रदेशलाई थप अवसर सिर्जना गरेको प्रदेशबासीका बुझाइ छ । 

लुम्बिनीका तीन वटै मैदान राम्रा र अन्तर्राष्ट्रिय मापदण्डका छन् । यसले गर्दा प्रतियोगिताले प्रदेश र जिल्ला क्रिकेट संघ झनै उत्साहित बनेका छन् । लुम्बिनी प्रदेश खेलाडी उत्पादनसँगै खेल मैदानमा पनि सक्षम बन्दै गएको उनीहरुको बुझाई छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ । यो नेपालमै जिल्लास्तरमा ५० ओभरको १ दिवसीय खेल हुने यो पहिलो रंगशालाका समेत हो । यहाँबाट करिब १ सय अन्तर्राष्ट्रिय र करिब दुई सयभन्दा राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन् । सिद्धार्थ क्रिकेट मैदानमा प्रधानमन्त्री कपका १७ खेल हुनेछन् । 

अष्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका विनोद कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका–१७, दरखसवामा बनेको एक्स्ट्राटेक ओभल निजी क्षेत्रको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो । 

एक्स्ट्राटेकमा गत फागुनदेखि अहिलेसम्म १ सय भन्दा बढी खेल भइसकेका छन् । यसमा मुलुकमै  पहिलोपटक ५ वटा फ्लड लाइट पनि जडान भएको छ । यस्तै, प्रतियोगिताका लागि दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पनि उत्कृष्ट छ । 

यहाँ पछिल्लो एक वर्षमा झण्डै तीन दर्जन प्रदेशस्तरका प्रतियोगिता र ५० बढी अभ्यास खेल भएका छन् । 

स्तरीय रंगशाला, होटल तथा हवाई र यातायात सुविधा, क्रिकेटको हब, लुम्बिनी जस्ता पर्यटकीय गन्तव्य रहेको लुम्बिनीमा हुन लागेको प्रधानमन्त्री कपले मुलुकसँगै अन्तर्राष्ट्रियस्तरमा समेत यस क्षेत्रको प्रवद्र्धन हुने भन्दै लुम्बिनी बासीलाई उत्साहित बनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update