News 24 Television
ट्रम्पको शैलीले विश्व थर्कमान, युरोप र क्यानडामा चल्यो यस्तो लहर 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आवेशपूर्ण र अराजक शैलीले हाल विश्वव्यापी रूपमा अमेरिकाविरुद्ध चुनौतिहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । क्यानडा र युरोपेली देशहरूमा अमेरिकी उत्पादनहरूको बहिष्कार गर्ने अभियान तीव्र रूपमा फैलिदा यसले अमेरिकी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्ने देखिएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र युक्रेनजस्ता देशहरूसँग गरेको धम्कीपूर्ण व्यवहारले ती राष्ट्रहरूमा असन्तोष बढाएको छ । ट्रम्पले क्यानडा अमेरिकाको ५१ औं राज्य बने कर लगायतका धेरै सुविधामा छुट दिने बताएपछि क्यानडेली नागरिक अमेरिका रुष्ट छन् भने क्यानडामा अमेरिकी उत्पादनहरूको बहिष्कार अभियान नै चलाइएको छ । 

क्यानडेलीहरूले अमेरिकी उत्पादनहरू बहिष्कार गर्न थालेका छन्, जसले क्यानाडामा अमेरिकी उत्पादनहरूको बजारमा गिरावट ल्याएको छ । यसले अमेरिकी व्यापारलाई नराम्रो धक्का दिएको छ । उता, युक्रेनसँग अमेरिकाले गरेको व्यवहारका कारण युरोप तर्सिएको छ । अहिले युरोपभरि नै अमेरिकी सामान बहिष्कार गर्ने अभियान तीव्र रूपमा फैलिएको छ । 

सामाजिक सञ्जालमा लाखौं मानिसहरूले अमेरिकी उत्पादनहरू बहिष्कार गर्न आह्वान गरेका छन् । फ्रान्समा अमेरिकी टेस्ला गाडीहरू जलाइएको घटनाले युरोपेली नगारिकको अमेरिकाप्रतिको आक्रोशलाई स्पष्ट पारेको छ । स्वीडेन र डेनमार्कमा पनि दशौं हजार मानिसहरूले अमेरिकी सामान नकिन्न आह्वान गर्दै सामाजिक सञ्जालहरुमार्फत् अभियान नै चलाएका छन् । फ्रान्सेली सञ्चारमाध्यम ल मोंद दैनिकका अनुसार नर्वेजियन कम्पनी हाल्टबक बन्कर्सले अमेरिकी सैन्य जहाजहरूलाई इन्धन आपूर्ति बन्द गर्ने घोषणा गरेको छ । 

ट्रम्पसँग सशंकित विश्व   

ट्रम्पको आवेशपूर्ण अभिव्यक्ति र निर्णयहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा तनाव बढाएको छ । उनले युक्रेनलाई दिएको धम्की र दुव्र्यवहारले युरोपेली राष्ट्रहरूमा अमेरिका प्रतिको विश्वास घटाएको छ । युक्रेनको सहयोग रोक्ने ट्रम्पको निर्णयले युरोपेली राष्ट्रहरूमा असन्तोष बढाएको छ । ट्रम्पले चीन, मेक्सिको र क्यानडासँग सुरु गरेको व्यापारिक युद्धको असर विश्वमै पर्ने देखिएको छ । 

अमेरिकी सीमाभित्र प्रवेश गर्ने यी तीन देशहरुको सामानमा लाग्ने ट्यारिफबिरुद्ध तीनै देशले बदला लिने कशम खाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोविरुद्ध २५ प्रतिशत र चीनविरुद्ध २० प्रतिशत ट्यारिफहरू थोपरेका छन् । यी ट्यारिफहरु लागु भएपछि अमेरिकी, बेलायती र एसियाली शेयर बजारमा त्यसको असर परेको छ । 

अमेरिकालाई आइलाग्ने संकट !

अहिले विश्व नै एउटा गाउँजस्तै बनिसकेको अवस्थामा सबै देशहरुबीच व्यापार, उत्पादन र श्रमका हिसाबले अन्योन्याश्रित सम्बन्ध छ । 

यस्तो अवस्थामा अहिले एउटै देशले अड्डी कसेर बाँकी देशहरुलाई कस्नु सम्भव छैन । यो कुरा अमेरिकामा पनि लागु हुन्छ । अहिले युरोप र क्यानडामा जुन किशिमले अमेरिकी उत्पादनहरुको बहिस्कारले अभियानको रुप लिदैछ, यो अमेरिकाकै लागि पनि जोखिमपूर्ण अवस्था हो । युरोपभरी आगोसरी फैलिरहेको बहिस्कार अभियानले चर्कै रुप लिने देखिएको छ । यो अभियानले अमेरिकामाथि निर्भर रहनुहुन्न, अमेरिकालाई विश्वाश गर्नुहुन्न भन्ने नारा युरोपभरी नै स्थापित बन्ने जस्तो देखिएको छ । 

यदि युरोपभरी यस्तै सोच नागरिक तहमा स्थापित भयो भने यसको असर अमेरिकी अर्थतन्त्रमा नराम्रोसँग पर्न सक्छ । युरोप र क्यानडामा अमेरिकी उत्पादनहरूको माग घट्दा अमेरिकी कम्पनीहरूको आम्दानीमा गिरावट आउन सक्छ, जसको प्रत्यक्ष असर अमेरिकालाई नै पर्छ । 

तेस्रो विश्वलाई शिक्षा 

अमेरिकी रवैयाले नेपाल जस्ता सामरिकरुपमा कमजोर रहेका देशहरुलाई नराम्रोसँग झस्काइ दिएको छ । ठूला र शक्तिशाली राष्ट्रहरु मिलेर अर्को तेस्रो कमजोर देशको बारेमा आफुखुशी निर्णय गर्ने र त्यसलाई कार्यान्वयनमा लैजानै किशिमको हरकत अमेरिका र रुसले युक्रेनको सम्बन्धमा गरेका थिए । तर यो नजिर स्थापित बन्न गएमा भोलीका दिनहरुमा कमजोर राष्ट्रहरुमाथि शक्तिशाली देशहरु मिलेर जे पनि गर्न सकिन्छ भन्ने नजिर स्थापित हुन सक्छ । यो केही शक्तिशाली देशहरुबाहेक बाँकी सबैका लागि चिन्ताको विषय हो । 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update