News 24 Television
ह्याकरहरुले बैंकमा डिजिटल स्क्याम कसरी गर्छन् ? 

काठमाडौं । डिजिटल बैंकिङ अहिले अनिवार्य आवश्यकता बनिसकेको छ । डिजिटल बैंकिङका रुपमा रहेका अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, क्युआर कोड जस्ता सुविधाले बैंकिङ कारोबार सहज भए पनि यसले डिजिटल स्क्यामको जोखिमसमेत बढाएको छ । 

पछिल्ला वर्षहरूमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा साइबर आक्रमण, ह्याकिङ, फिसिङ, मालवेयर आक्रमण, कार्ड क्लोनिङ जस्ता साइबर अपराध बढ्दै गएका छन् । 

प्रविधिमा अभ्यस्त हुँदै जाँदा मानिसहरुको जीवनशैलीमा जति सहजता आइरहेको छ, त्यति नै चुनौति र जोखिम पनि बढिरहेको छ । 

अहिले डिजिटल माध्यमबाट मानिसहरुको गोपनियता, व्यक्तिगत सूचनासँगै बैंक खाताहरुबाट ठूलो धनराशी समेत चोरी भइरहेको छ । 

बैंकमा डिजिटल स्क्याम कसरी हुन्छ ?

१. फिसिङ आक्रमणमार्फत ह्याकरहरुले मानिसलाई बैंकको नाममा झूटा इमेल वा एसएमएस पठाएर गोप्य जानकारी तथा ओटीपी र पासवर्ड लिने गर्छन् । यसरी प्राप्त पासवर्ड वा ओटीपी प्रयोग गरी खाताबाट उनीहरुले रकम निकाल्ने गर्छन् । 

२. मालवेयर आक्रमणबाट पनि ह्याकरहरूले भाइरसयुक्त एप वा वेबसाइटको प्रयोग गरी बैंकको प्रणालीमा पहुँच बनाउने गर्छन् । यस्तो आक्रमण भएपछि खाताबाट अनधिकृत रुपमा रकम चोरी हुन सक्छ ।

३. कार्ड क्लोनिङ गर्दै एटीएम मेसिनमा स्किमिङ डिभाइस राखेर ग्राहकको डेबिट÷क्रेडिट कार्डको डेटा चोरी गरिन्छ । त्यसपछि सो डेटा प्रयोग गरी रकम झिक्ने गरिन्छ ।

४. कमजोर पासवर्ड वा असुरक्षित नेटवर्कको कारण इन्टरनेट बैंकिङ ह्याक हुन सक्छ । ह्याकरहरूले प्रयोगकर्ताको लगइन जानकारी चोरेर बैंक खातामा सहजै पहुँच बनाउँछन् । 

५. क्युआर कोड स्क्यामबाट पनि बैंकिङ ठगी हुने गर्छ । ठगहरुले नक्कली क्युआर कोड बनाएर भुक्तानी गर्ने प्रणालीमा ठगी गर्ने गर्छन् । यस्तो अवस्थामा, ग्राहकले पैसा पठाएपछि बैंक खातामा रकम नजाने समस्या आउँछ ।

डिजिटल स्क्यामबाट कसरी जोगिने ?

१. कुनै पनि व्यक्तिले बैंक खाताको पासवर्ड, ओटीपी वा व्यक्तिगत जानकारी अरुलाई दिनु हुँदैन । बैंकहरूले कहिल्यै पनि यस्ता जानकारी ग्राहकसँग माग्दैनन् ।

२. बैंकिङ खाताको पासवर्ड बलियो राख्नुपर्छ । ठूलो अक्षर, सानो अक्षर, अंक र विशेष चिन्ह मिसाएर पासवर्ड बनाउनु सुरक्षित हुन्छ ।

३. बैंकिङ कारोबारका लागि बैंकको आधिकारिक वेबसाइट वा एप मात्र प्रयोग गर्नुपर्छ । थर्ड–पार्टी एप वा नचिनेको लिंक क्लिक गर्दा स्क्यामको जोखिम हुन सक्छ ।

४.एटीएम प्रयोग गर्दा कार्ड इनसर्ट गर्ने ठाउँ वा पिन टाइप गर्ने स्थानमा कुनै अनौठो यन्त्र, क्यामेरा लगायत जडान गरिएको छ कि भनेर जाँच गर्नुपर्छ ।

५. आफ्नो बैंक खाताको स्टेटमेन्ट नियमित रूपमा हेर्दै अनधिकृत कारोबार भए÷नभएको निगरानी गर्नुपर्छ ।

६. अनलाइन कारोबार गर्दा फायरवाल तथा एन्टिभाइरस सफ्टवेयर राख्दै साइबर सुरक्षा अपनाउनु पर्छ । सार्वजनिक वा असुरक्षित वाइफाइमार्फत बैंकिङ कारोबार नगर्नु नै राम्रो हुन्छ ।

डिजिटल बैंकिङ प्रणालीले सहजता ल्याएपनि यसको सुरक्षित प्रयोग अनिवार्य छ । बैंक तथा ग्राहक दुवैले सतर्कता अपनाए मात्र डिजिटल स्क्यामको जोखिमबाट बच्न सकिन्छ । त्यसैले बैंकहरु जत्तिकै प्रयोगकर्ताहरु पनि सचेत बन्न सकेमात्रै डिजिटल बैंकिङ स्क्यामबाट जोगिन सकिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update