News 24 Television
क्यूआर कोडले परिवर्तन गरेको बैंकिङ सेवा

काठमाडौं । नेपालमा क्यूआरकोडबाट हुने भुक्तानी तीव्र रुपमा बढ्दै गएको छ । भुक्तानीका लागि सजिलो हुने, समयको बचत हुने भएपछि मानिसहरु डिजिटल बैंकिङ कारोबारमा आकर्षित हुँदै गएका छन । एक महिनामा करिब एक खर्ब रुपैयाँको कारोबार क्यूबार कोडबाट मात्रै हुने गरेको छ । 

राष्ट्र बैंकको तथ्यांक अनुसार नगदरहित डिजिटल कारोबारमा क्यूआर कोडको प्रयोग बढ्दै गएको छ । २०८१ पुस महिनामा मात्रै क्यूआर स्क्यानबाट ७३ अर्ब २२ करोड रुपैयाँ हाराहारीको कारोबार भएको छ । जवकी एक वर्षअघि २०८० पुसमा यस्तो कारोबार ३८ अर्ब ५९ करोड रुपैयाँ मात्रै थियो । 

भुक्तानीका लागि सजिलो र समयको समेत बचत हुने भएपछि क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सहज भएको छ । विभिन्न पसल, सपिङ सेन्टर आदीमा क्यूआर कोडको प्रयोग बढ्दै गएको छ । क्यूआर कोडले डिजिटल भुक्तानीका माध्यमहरुलाई एक आपसमा आवद्ध गराई कारोबार सफल पार्न मद्दत गर्छ ।

काठमाडौं लगायत देशका ठूला सहरमा सानासाना पसलदेखि, ट्याक्सी, राइड सेयरिङ, रेष्टुरेन्ट, होटल, सपिङ मल, तरकारी बजार जताततै क्यूआर कोडबाटै भुक्तानी गर्न क्यूआर कोडको प्रयोग गरेको देखिन्छ । क्यूआरबाट पैसा लिँदा प्राप्त गर्नुपर्ने रकम तुरुन्तै बैंक खातामा आउने, बैंकमा पैसा जम्मा गर्न जानु नपर्ने र ब्याज पनि प्राप्त हुने भएपछि मानिसहरुको आकर्षण बढेको देखिन्छ । 

क्यूआर कोडले कारोबार सहज बनाएपनि तर कहिलेकाहिं कारोबारमा समस्या देखिने गरेको गुनासो आउने गरेको छ । भुक्तानी लिएको केही समयपछि मात्रै खातामा रकम देखिने र कहिलेकाँही भुक्तानी नहुने समस्या पनि हुने गरेको व्यवसायी बताउँछन् । बैंक वित्तीय संस्थाहरुका अनुसार सिस्टममा भन्दा पनि इन्टनरेटमा हुने समस्याका कारण कहिलेकाहिँ कारोबार ढिला सफल भएको देखाउने हुन सक्छ । 

यसरी कारोबार सफल नभएमा पेन्डिङ भएको रकम फिर्ता हुने व्यवस्था पनि बैंकहरुले गरेका हुन्छन् । क्यूआर कोड लगायत कुनै पनि डिजिटल कारोबार गर्दा समस्या भएको खण्डमा तत्काल सम्बन्धित बैंकमा सम्पर्क गरी समस्या समाधान गर्न सकिन्छ । 

कुनै वित्तीय संस्थाले समयमा समस्या समाधान नगरे राष्ट्र बैंकको गुनासो शाखामा उजुरी गर्नसक्ने व्यवास्था पनि छ । त्यसका लागि राष्ट्र बैंकले वेवसाइटमा ग्राहक संरक्षण पोर्टलमा गुनासो दर्ता गर्न पाउने व्यवस्था गरेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update