News 24 Television
पर्यटन पुर्वाधार नहुँदा बराहताल सम्भावना हुँदा पनि ओझेलमा 

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करिब ३५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ बराहताल । प्रदेश राजधानीबाट नजिकै रहेको जिल्लाकै ठूलो बराहताल उचित प्रचार प्रसार र पूर्वाधार विकास नहुँदा ओझेलमा परेको छ । सहज सडक सुविधा नहुँदा बराहतालमा पर्यटकको आगमन एकदमै न्यून छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट झन्डै ३५ किलोमिटर दूरीमा रहेको बराहताल भौतिक पूर्वाधार, प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेको छ । वरिपरि अग्ला डाँडाले घेरिएको जंगलको बीचमा रहेको बराहताल निक्कै सुन्दर छ । तालमा चराहरु पौडिरहेका दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउछ । तालको बीचमा बराह देवताका २ वटा मन्दिर छन् । जसले धार्मिक पर्यटकलाई पनि आकर्षण गरेको छ । तर मन्दिरसम्म पुग्ने बाटोको असहजता र तालको सरसफाई नहुँदा उत्साहका साथ पुगेका पर्यटक मन खिन्न पारेर फर्कन्छन् ।   

बराहताल गाउँपालिका ४ स्थित भेरी नदी किनारसम्म सवारी साधन पुग्छ । भेरी नदिमा मोटरेवलपुल नभएकाले भेरी पारी गाडी लैजान सकिदैन । यहाँबाट पैदल नै तालसम्म पुग्न करिब आधा घन्टा लाग्दछ । झोलुङ्गे पुलबाट भेरी नदि तरेपछि ताल पुग्न तरंगाको रमणिय गाउँलाई छिचोल्दै पूर्व तर्फ अघि बढ्नुपर्दछ । ताल पुग्नुभन्दा करिब २ सय मिटर अगाडी पुनःभेरी नदिपार गर्नुपर्छ । 

झोलुङ्गेपुलबाट भेरी तर्र्ने वित्तिकै करिब ५ सय सिडीको उकालो चढेपछि ताल छेउमै पुगिन्छ । झोलुङ्गे पुलबाट मोटरसाइकल लैजाने हो भने ताल छेउसम्मै पुग्न सकिन्छ । तालको उत्पति र नामका बारेमा स्थानीयवासीका धारणा यस्तो छ ।

तालकै नामबाट स्थानीय तहको नाम बराहताल नामकरण गरिएको हो । बराहताल गाउँपालिका–४ तरंगास्थित यो ताल १६ बिगाह क्षेत्रफलमा फैलिएको छ । वरिपरि बाक्लो जंगलले घेरिएको यो तालमा बाह्रै महिना विभिन्न प्रजातिका सिमकुखुरा, पानी हाँसलगायत पन्छीहरूको अवलोकन गर्न पाइन्छ । जाडो मौसममा विभिन्न ठाउँबाट आगन्तुक चराहरू पनि आउने गरेका छन् । ताललाई व्यवस्थित बनाउन गुरुयोजना बनाई विभिन्न योजना सुरु गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले बताए । 

कर्णाली प्रदेशकै ठुला तालमध्ये पर्ने बराहताल चुरे पहाडको काखमा निकै आकर्षक देखिन्छ । तर पर्यटक आकर्षण गर्नका उचित प्रचार प्रसार र तालको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ । 

वीरेन्द्रनगरबाट एक दिनको समयमा सजिलैसँग बराहताल घुमेर फर्किन सकिन्छ । वीरेन्द्रनगरदेखि कर्णाली राजमार्गको हुड्केसम्म पक्की सडक छ । हुड्केदेखि तरंगा भेरी किनारसम्मकोसडक पनिस्तरोन्नतीको काम भैरहेको छ । सडक कालोपत्रे भएपछि भने बराहताल पुग्न भएपछि निकै सहज हुनेछ । ताल संरक्षणसँगै प्रचार प्रसारमा उचित ध्यान दिनसके स्थानीय र पालिकाकै आम्दानीको श्रोत बन्न सक्छ । 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update