
काठमाडौं । ऐतिहासिक कमलपोखरी मासेर उठाइएको छ भव्य व्यवसायीक टावर, छायाँदेवी कम्प्लेक्स । एकातिर, यो संरचना धितोपत्र बजारमा आईपीओ जारी गर्दै आमनागरिकको पैसा संकलन गर्ने योजनामा छ भने अर्कोतिर सर्वोच्च अदालतमा यसको वैधता नै चुनौतीका रूपमा उभिएको छ ।
एक दशकभन्दा लामो समयदेखि कानुनी अन्योलमा फसेको यो जग्गा विवाद पूरै समाधान नभई सर्वसाधारण लगानीकर्ताको जोखिम उठाउनु के नैतिकरूपमा उचित हुन्छ ? प्रश्न पेचिलो बनिरहेको छ ।
छायाँदेवी कम्प्लेक्स यथावत् राख्ने कि भत्काउने अझै निर्णय हुन बाँकी छ । तर, छायादेवी कम्प्लेक्सका लगानीकर्ताहरू भने आफ्नै सुरमा छन् । उनीहरू सर्वसाधारणलाई प्रिमियममा सेयर बिक्री गरेर आफ्नो लगानी जोगाउने दाउमा देखिएका छन् ।
राजधानीको ठमेलमा रहेको ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको यो कम्प्लेक्स विवादको भुमरीमा छ । सार्वजनिक जग्गामा अवैध रूपमा बनेको भन्दै यसविरुद्ध परेको मुद्दा अहिले सर्वोच्च अदालतको पूर्ण इजलासमा अन्तिम टुंगो लाग्ने चरणमा छ । तर, अदालतको निर्णय आउनुअघि नै लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्नका लागि स्वीकृति लिने प्रयत्नमा जुटेका छन् ।
उनीहरूको योजना भनेको आईपीओ निष्कासन गरेर सर्वसाधारणलाई सेयर बिक्री गर्ने र रकम उठाउने । यसका लागि लगानीकर्ताहरूले बोर्डमाथि विभिन्न शक्ति केन्द्रबाट दबाब पु¥याएको बुझिएको छ ।
विवादास्पद जग्गामा सेयर बिक्रीको तयारी !
पहिले विवादस्पद जग्गामा भवन ठड्याउने र पछि शक्ति केन्द्रहरूसँगको मिलेमतोमा प्रमाणपत्र लिने रणनीति अपनाइएको थियो । अहिले भने मुद्दा अदालतमै विचाराधीन रहँदारहँदै सर्वसाधारण जनतालाई महँगो मूल्यमा सेयर बिक्री गरेर सञ्चालकहरू उम्किने दाउमा छन् ।
छायादेवी कम्प्लेक्सले १४ लाख ३७ हजार ५ सय कित्ता सेयरलाई प्रतिकित्ता ४ सय रुपियाँ प्रिमियममा आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । सेवनले पनि छाँयादेवी कम्प्लेक्सको आइपीओलाई अन्यको सूचीमा पाइपलाइनमा राखेको छ ।
यसको अर्थ हो, छायाँदेवी कम्प्लेक्स अब सर्वसाधारणसँग आइपीओमार्फत आफ्नो लगानी सुरक्षित गर्ने बाटोमा शक्ति केन्द्रलाई रिझाएर अघि बढ्ने दाउमा तल्लिन छ । उसोतः यसअघि नै कम्प्लेक्सभित्र विभिन्न व्यवसायीलाई पसल बिक्री गरेर ठूलो रकम उठाइसकेको कम्पनीले अब सर्वसाधारणलाई महँगो सेयर बेचेर झन्डै ५७ करोड रुपैयाँ संकलन गर्ने योजना बुनिरहेको छ । तर, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भइरहेका कारण बोर्डका अधिकारीहरू यस विषयमा निर्णय लिन हिच्किचाइरहेका बताइएको छ । के यसअघि जस्तै शक्ति केन्द्रहरूको चलखेल फेरि देखिने हो त ? प्रश्न उठेको छ ।
छायाँ सेन्टर सम्बन्धी विवादमा सर्वोच्च अदालतमा १५ वटा मुद्दा विचाराधीन छन् । यी मुद्दाहरूमा नक्सा पास बदर, लिखत बदर, गुठी रैतानी बदर, मिलापत्र बदर, लिखत धितो र अदालतको अवहेलनासम्बन्धी विषयहरू समावेश छन् । यो विवाद करिब एक दशकदेखि सर्वोच्च अदालतमा विचाराधीन रहँदै आएको छ ।
– २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतले ठमेलस्थित कमलपोखरीमा सार्वजनिक जग्गा अतिक्रमण गरी छाया सेन्टर निर्माण गरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर ।
– हाल सर्वोच्चको पूर्णइजलासमा विचाराधीन रहेको यो मुद्धाको फैसला मिति अझै तोकिएको छैन् ।
कस्तो आउला फैसला ?
सर्वोच्च अदालतको गत २० चैतको आदेशले सार्वजनिक पोखरीमा निर्माण भएका संरचनाको टुंगो लगाइसकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासले छायादेवी कम्प्लेक्स निर्माण गरिएको साविक कित्ता नम्बर १६७ र १०४० का जग्गाहरू नेपाल सरकारका नाममा २३ मंसिर २०४४ मा दर्ता स्रेस्ता कायम भएको ठहर गरेको छ ।
यसअघि, सर्वोच्चकै न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र केदारप्रसाद चालिसेको संयुक्त इजलासले ६ चैत २०७३ मा उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेको भन्दै दोहोर्याउने निस्सा दिएको थियो । तर, बितेका सात वर्षमा मुस्किलले दुई पटक मात्र सुनुवाइ हुन सक्नु न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्छ ।
सर्वोच्च अदालतकै आदेशले त्रुटिपूर्ण औंल्याएर दोहोर्याउने निस्सा दिइएको मुद्दामा लामो समयसम्म सुनुवाइ नहुनु न्यायालयमाथि विभिन्न दबाब परेको संकेत गर्छ । विशेषतः जब मुद्दा पहुँचवाला व्यवसायीको लगानीसँग जोडिन्छ न्यायालयको तटस्थता माथि प्रश्न उठ्ने गरेको छ ।
त्रुटिपूर्ण ठहर भइसकेका फैसलाहरू उल्टिने सम्भावना उच्च हुने भएकाले कतिपय न्यायाधीशहरू यस्तो विवादित मुद्दा हेर्न हिचकिचाउने गरेको सार्वजनिक आरोपसमेत लाग्ने गरेको छ ।
आईपीओ निष्कासन किन जोखिमपूर्ण ?
छायाँदेवी सेन्टर अहिले न्यायिक प्रक्रियामा रहेको कम्पनी हो । कम्पनीको स्वामित्व तथा आर्थिक पारदर्शितासम्बन्धी विभिन्न मुद्दाहरू अदालतमा छन् । जसको अन्तिम फैसला हुन बाँकी छ ।
यदि अदालतले निर्णय गरेपछि छाया सेन्टरलाई भत्काउनु पर्ने वा कारोबार रोक्नुपर्ने स्थिति आयो भने लगानीकर्ताहरूको पैसा डुब्नेछ । ऐतिहासिक सम्पदा मासेर बनेको संरचना अदालतको निर्णयले धराशायी हुनुपरेमा लगानीकर्ताको करोडौंको पूँजी के हुने ? प्रश्न अनुतरित्त छ ।
– यदि छायाँदेवी सेन्टरले अदालतको अन्तिम निर्णय नआउँदै आईपीओ जारी गर्छ भने लगानीकर्ताले कानुनी रूपमा असुरक्षित कम्पनीमा पैसा लगानी गर्नुपर्छ ।
– कम्पनीको वित्तीय पारदर्शिता र वास्तविक आम्दानीबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । यसले लगानीकर्ताहरूलाई स्पष्ट निर्णय लिन कठिन बनाउँछ ।
– यदि अदालतको फैसला छायाँदेवी सेन्टरको विपक्षमा आयो भने कम्पनीको वित्तीय स्थिति कमजोर हुनुका साथै सेयर बजारमा मूल्य गिरावट आउँछ । जनताले गरेको लगानी गुम्न सक्छ ।
छायाँदेवि सेन्टर हालसम्म कानुनी अन्योलमा रहेको कम्पनी भएकाले यसको आईपीओ निष्कासन भएपछि सर्वसाधारणको लगानी डुब्ने खतरा उच्च छ । नेपालमा विगतमा पनि विवादित कम्पनीहरूले आईपीओ जारी गर्दा सर्वसाधारण लगानीकर्ताहरू नै मारमा परेका घटनाहरू धेरै छन् ।
कमलपोखरी मासेर कसरी बन्यो छाया सेन्टर ?
श्री सिंह सार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखअनुसार, ठमेलस्थित थँ वहिल नजिक रहेको कमलपोखरीको डिलको बगैंचामा फुलेको फूल दिनहुँ भगवानको पूजामा अर्पण गरिन्थ्यो । भगवानलाई पञ्चामृत स्नान गराइ कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो रहेको उल्लेख छ । अभिलेखहरूले कमल फुल्ने उक्त पोखरीको इतिहास पनि त्यति नै प्राचीन रहेको संकेत गर्छन् ।
पोखरीको निकै स्याहार हुन्थ्यो र कमलको फूल फुलाउनकै लागि कामदार खटाइन्थ्यो । १९५३ को अभिलेखअनुसार कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ । अहिले थँ बहिलमा कमलपोखरी छैन ।
केशरशमशेरको पालासम्म पोखरी रह्यो । उनका सन्तानले त्यसको अस्तित्व मात्र नष्ट गरेनन् ऐतिहासिक अभिलेखले ‘भगवान्को बिर्ता’ उल्लेख गरेको जग्गा सत्ता र शक्तिको आँडमा लालपुर्जा निकालेर व्यक्तिलाई बिक्री गरे ।
– १९४७ सालमा कमलपोखरीको पश्चिमपट्टिको पर्खालमा ढोका बनाउने र पर्खाल भत्केको बिग्रेको बनाउने’ अभिलेख ।
– १९५० सालको अभिलेखले पनि पोखरीको डिलको विषय उल्लेख ।
– १९५३ सालको विक्रमशील महावीर गरुड भगवान् गुठीको जग्गा जनरल केदारनरसिंह राणाको पर्खालभित्र पर्न गएको गुठीमा रहेको अभिलेखमा उल्लेख ।
– १९५९ सालमा भगवान् बहालको निकास कमलपोखरीमा पठाउन बहालअगाडि कुलो बनाउने अभिलेख ।
औपचारिक रूपमै पनि विसं १९६५ को स्रेस्तामा यसको नाममा साढे २६ रोपनी क्षेत्रफल देखिन्छ । ठमेल क्षेत्रमा राणाहरू गएसँगै पोखरी अतिक्रमण सुरु भएको तथ्यहरूले पुष्टि गर्छन् । विसं १९७७ मा जनरल केशरशमशेर जबराले आफ्नो दरबारको शोभा बढाउन भन्दै विहारलाई १२५ रुपैयाँ भाडा दिएर सो पोखरी प्रयोग गर्न थालेको इतिहास छ ।
– केशरशमशेरले मासिक भाडामा लिएको पोखरी विस्तारै उनकै परिवारद्धारा कब्जा ।
– उनका छोरा केयुरशमशेरले पोखरीको केही भागमा धान रोप्न थाले ।
– विहारका गुठियारद्धारा त्यसको विरोध ।
– केयुर शमशेरविरुद्ध उनीहरूले २०२७ सालमा अदालतमा धर्मलोपको मुद्दासमेत लगाए ।
– २०३३ सालमा सर्वोच्च अदालतको फैसलाबाट सो पोखरी र डिल गुठीकै नाममा कायम भयो ।
– २०४१ मा केयुरशमशेरको निधनपछि उनको नामको कित्ता नम्बर १६१८ पत्नी अम्बिका राणाको नाममा सारियो ।
– अरू दुई कित्ताको जग्गा अम्बिकाका दाई शंकरप्रसाद शाहको नाममा सारियो ।
– २०४७ मा आएर अम्बिका र शंकरप्रसाद दिदीभाइद्धारा सो जग्गा अनधिकृत रूपमा रैतानीमा परिणत ।
तर, नामसारी हुने क्रम यति मै रोकिएन । अम्बिका राणाको जग्गा २०६३ मा सुरेसाथ हाउजिङ र २०६४ मा उनकै नामका सबै जग्गा नातेदार प्रतिभा राणा पाँडेलाई नामसारी गरियो । त्यस्तै, शंकरप्रसाद शाहका नाममा पुगेको दुई कित्ता पनि उनै प्रतिभाको नाममा नामसारी भयो । उनको नामबाट पनि २०६५ मा पुनः नामसारी भएपछि ऐतिहासिक कमलपोखरी व्यवसायी पृथ्वीबहादुर पाँडेको नाममा आइपुगेको हो ।
– जग्गा विवादकै बीच छायादेवी सेन्टरले धमाधम भवन निर्माण गरेर १५ तले कम्प्लेक्स निर्माण गरेर भवन निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत लिइसकेको ।
– छायादेवी सेन्टर बनेको जग्गा सार्वजनिक कि व्यक्तिको भन्ने विषयमा गम्भीर कानुनी प्रश्न उठेपछि पुनरावेदन अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले त्रुटिपूर्ण भएको भन्दै निस्सा प्रदान गरेपछि यो मुद्दा ब्युँतिएको ।
यस्तोमा निवेदकको माग ऐतिहासिक कमलपोखरी मासेर भवन बनाइएकाले भत्काउनुपर्नेछ । दस्तावेजहरूले पनि निवेदककै दाबी पुष्टि गर्छ । यस्तोमा बहुप्रतीक्षित फैसला कस्तो आऊला सबैको नजर सर्वोच्चतर्फ छ ।
छाया सेन्टरमा क–कस्को लगानी ?
‘मिनी ठमेल’ का रूपमा उभ्याइएको छायाँदेवी सेन्टरमा प्रभावशाली व्यवसायीहरूको लगानी छ । छायादेवी कम्प्लेक्स प्रालिको अध्यक्ष नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे छन् । मुख्य लगानी पाँडे परिवारकै छ । व्यापारिक कम्प्लेक्सको नामै उनकी आमा छाया देवीबाट राखिएको छ ।
६५ करोडबाट सुरु कम्पनीमा पाँडेसहित ४३ जना लगानीकर्ता छन् । पाँडे, पत्नी प्रतिभा, छोरा सिवान्त र दिवंगत दाजु पवनबहादुर पाँडेको नाममा कम्पनीमा सेयर छ ।
अरु को–को छन् लगानीकर्ता अब त्यो हेरौं :
– कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतका छोरा रक्षक महतको नाममा पनि ५० लाखको सेयर ।
– महेश्वरप्रकाश श्रेष्ठको चार करोड ७३ लाख ७१ हजार लगानी ।
– श्रेष्ठका कम्पनी हिमालयन इन्फ्रास्ट्रक्चर एण्ड लिमिटेडको नाममा तीन करोड ४८ लाख लगानी ।
– सुमनविक्रम पाण्डे, व्यवसायी दीपक शेरचन र उनका दाइ किरणमानको पनि कम्पनीमा झण्डै साढे पाँच करोडको लगानी ।
– मिजास भट्टचनको तीन करोड ५४ लाख १९ हजार लगानी ।
– मनोहरप्रसाद शेरचनको एक करोड ६० लाख ४३ हजार लगानी ।
– मधसूदन राजभण्डारीका छोरा प्रजन्य राजभण्डारी र उनका दुई छोराहरू प्रगुण र प्रणयको नाममा पनि छाया सेन्टरमा लगानी ।
छायाँदेवी सेन्टरमा संलग्न शक्ति र पैसाको चलखेलले न्यायिक निष्पक्षता र कानुनी प्रक्रियामाथि प्रश्न उठाइरहेको छ । यो केवल एउटा कम्प्लेक्सको भविष्यको कुरा मात्र होइन, नेपालको सम्पदा संरक्षण, कानुनी शासन, र वित्तीय पारदर्शितामाथि खडा भएको गम्भीर चुनौती हो ।