News 24 Television
प्रदीप ज्ञवालीको टिप्पणी– ‘प्रचण्ड बर्बराउन थाले’

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी ः तराई मधेश जागरण अभियान’ संचालन गरिरहेको छ । झण्डै एक महिनासम्म चल्ने यो अभियान माओवादीले सुदुरपूर्वी जिल्ला झापादेखि आरम्भ गरेको छ भने यो पश्चिम तराईको जिल्ला कञ्चनपुरसम्म पुगेर अन्त्य हुनेछ । खासगरी तराईँ मधेशका जनतासँग प्रत्यक्ष जोडिन भन्दै माओवादीले यो अभियान चलाइरहेको हो । तर माओवादी अध्यक्ष प्रचण्डले सरकार र सत्तारुढ दल काँग्रेस एमालेमाथि नै यो कार्यक्रमबाट पनि विविध आरोप र लाञ्छनाका लगाइरहेका छन । यो अवस्थामा अन्य दलहरुले भने प्रचण्ड चरित्रमाथि अनेक टिप्पणी गर्न थालेका छन् । र, जनतासँग समीप देखाउन प्रचण्डले गरिरहेका हर्कतमाथिसमेत चर्को टिप्पणी भइरहेको छ ।  

अभियानमा प्रचण्डको प्रस्तुति 

प्रचण्डले अभियनका क्रममा खास नयाँ केही नबोलेपनि केही पार्टीका नेता कार्यकर्तालाई माओवादीमा भित्र्याइरहेका छन् । तर उनले सरकारमाथि खेदो गर्ने चरित्रलाई भने दोहोर्याइ नै रहेका छन् । कार्यक्रमका दौरानमा आफूलाई विचौलियाको मिलेमत्तोमै सरकारबाट हटाइएको आरोप लगाउने गरेका देखिन्छन् । त्यस्तै सरकार कार्यसम्पादनमा कमजोर रहेको टिप्पणी गर्दै प्रचण्डले ओलीलाई राजीनामा दिनसमेत सुझाएका छन् । यस्तै कोशी प्रदेश नाम समर्थन गरेरै प्रदेशसभाबाट पारित गरेपनि पछिल्लो समय माओवादीले यसको विरोध र नाम परिवर्तनमा आफूहरुको बहुमत चाहिने विषय उठाइरहेको छ । प्रदेशको नाम सँगै जोडिएको विषय पाथीभरा केवुलकार विवादको पक्षमा समेत माओवादीले ‘नो केवुलकार’ समूहको पक्षमा विचार सम्प्रेषण गर्दैछ । 

खासमा तराई मधेशका जिल्लासँग साक्षत्कार गर्न खोजेको माओवादीले मधेश प्रदेशकै कार्यक्रममा मधेशी जनतालाई रुझाउनेगरी सम्बोधन गरेको देखिन्छ । मधेशका आवश्यकता र पूर्वाधारको विकास गर्नेे जिम्मेवारी लिने उद्घोष गरेका प्रचण्डले सक्कली र नक्कली मधेशवादी दल छुट्याउन समेत जनतालाई आग्रह गरिरहेका देखिन्छन् । 

अभियानमा प्रचण्ड चरित्र कस्तो ? 

प्रचण्डले अभियनमा विविध चरित्र देखाइरहेका छन् । सत्ताबाट बाहिरिएपछि नै देशव्यापी अभियानमा निस्किएका प्रचण्डले अहिलेको अभियानमा पनि जनताकैमा जाने र उनीहरुसँगै सम्ने रणनीति लिएका छन् । 
अभियनका क्रममा यस्ता विविध चरित्र देखाइरहँदा अन्य दलका नेताहरुले भने प्रचण्डको आलोचना गर्न थालेका हुन् । प्रचण्डले सरकारमाथि  लगातार लगाइरहेको आरोप र गरिरहेको टिप्पणीको विषयलाई लिएर एमालेसहितका अन्य नेताहरुले पनि प्रचण्ड चरित्रमाथि खण्डन गरिरहेका हुन् । 

कस्ले के–के भने ? 

प्रचण्ड चरित्र र उनले सरकारमाथि लगाइरहेको आरोपमाथि नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिचानका नाममा जातीय हिंसा बढाउन खोजेको आरोप लगाउँदै प्रचण्ड सत्ता बाहिर रहनै नसक्ने भनेका छन् । ज्ञवालीले प्रचण्डले अफवाह र निराशाको कार्ड खेल्न खोजेको भन्दै सत्तामा हुँदासम्म केही नगर्ने तर सत्ताबाट हटेपछि बर्बराउँदै हिड्ने गरेको आरोप लगाएका छन् । 

त्यस्तै प्रचण्डको चरित्रमाथि राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाले समेत गम्भीर टिप्पणी गरेकी छन् । थापाले सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै भनेकी छन् – 

‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरी एक चोटि मधेश तिर लालसेना खोज्न हिँडेछन् काम्रेडहरु, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो ?  चटक पनि कति जानेका ? यो देशमा सत्ता बाहिर बस्न यति पीडा महसुस गर्ने माओवादीले आफ्नो समीक्षा कहिले गर्ला ? छातीमा गोली थाप्नेहरु हराए, युद्धमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउँछौँ भन्नेहरु हराए, अब फेरी अभिनय किन ? बरु सिधै भन्नु नि– हामी राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ ।’ 
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update