
काठमाडौं । तपाईंले विद्युतीय भुक्तानी गर्दा धेरैपटक ओटीपी प्रयोग गर्नुभएको होला । के तपाईलाई थाहा छ ? यो ओटीपी कोड के हो ? अनि तपाईलाई छ कि छैन ? कसैले तपाईंसँग ओटीपी कोड मागेर बैंक खाता वा वालेटबाट पैसा सिध्याइदिन सक्छ भन्ने । तपाई विद्युतीय कारोबार गर्दै हुनुहुन्छ र ओटीपी कोड सुरक्षित राख्नुपर्ने बारे थाहा छैन भने कुनैपनि बेला ठूलो आर्थिक हानी हुन सक्छ ।
हिजोआज नेपालमा मोबाइल बैंकिङ वा मोबाइल वालेटबाट क्यूआर स्क्यान गरी पैसा भुक्तानी गर्ने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मासिक नेपालमा दुई करोड ६२ लाख मोबाइल बैंकिङ र दुई करोड ५५ लाख मोबाइल वालेट प्रयोगमा छन् ।
मोबाइल बैकिङको माध्यमबाट मासिक करिब चार खर्ब र वालेटबाट ४० अर्ब बढीको कारोबार हुने गरेको छ । इन्टरनेटको माध्यमबाट कुनैपनि बैंकको एप वा भुक्तानी सेवा प्रदायकको वालेटबाट पैसा पठाउँदा नगद बोकेर हिँडनुपर्ने झन्झट हुँदैन । खुद्रा पैसाको हैरानी पनि हुँदैन । तर यसरी कारोबार गर्दा कहिलेकाहीं ठगिमा पर्न सकिन्छ । अनलाइन कारोबरको क्रममा ग्राहकको आधिकारिकता सुनिश्चित गर्न प्रयोग हुने ओटीपी सुरक्षाको महत्वपूर्ण साधन हो । तर यसको सही प्रयोग गरिएन भने खाताबाट अर्कैले पैसा निकाल्न सक्छ ।
त्यसो भए यो ओटीपी के हो ? एक पटकमात्र प्रयोगमा आउने पासवर्ड अर्थात वान टाइम पासवर्ड ओटीपी हो । विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही व्यक्ति हो वा होइन भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रुपमा प्रदान गर्ने पासवर्ड नै ओटीपी हो ।
निश्चित प्रयोजनका लागि एक मिनेटभित्र मात्र प्रयोग गर्न मिल्नेगरी प्रयोगकर्ताले दर्ता गरेको फोन वा इमेलमा मात्र प्राप्त हुने भएकोले अन्य कसैलाई पनि ओटीपी दिनुहुँदैन । विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेका छन । त्यसैले सजग भई विद्युतीय भुक्तानीको कारोबार गर्नुपर्छ ।
विद्युतीय माध्यमबाट ठगीका घटना बढेको प्रहरीको साइबर ब्यूरोको तथ्यांकले देखाउँछ । विद्युतीय माध्यमबाट कारोबार गर्दा हुने जोखिमबारे प्रयोगकर्ता सचेत नहुँदा ठगीका घट्ना बढेको देखिन्छ । ठगिबाट जोगिन यत्तिकुरा याद राख्नुपर्छ जुन कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवासम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि माग्दैनन् । त्यस्तै तपाईंले चिनेको वा नचिनेको कुनै पनि व्यक्तिलाई तपाईंको ओटीपी कुनै पनि कार्यका लागि आवश्यक पर्दैन ।