
रुपन्देही । अष्ट्रेलिया बस्दै आएका गुल्मीका विनोदले एकल लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइरहेका छन् । विनोदले एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको ब्राण्ड एम्बेसडर १९ वर्ष मुनिको नेपाली महिला क्रिकेट टोलीको कप्तान पूजा महतो र महिला राष्ट्रिय टोलीकी सदस्य कविता कुंवरलाई नियुक्त दिदै क्रिकेट क्षेत्रमा नयाँ काम गर्न खोजेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी लगानीमा उक्त मैदान निर्माणाधीन छ । आइतबार मैदानमा आयोजित कार्यक्रममा प्रवन्ध निर्देशक विनोद कुंवरले उनीहरुलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेका हुन् । कुंवरले विशेष गरि महिला क्रिकेट खेलाडीको हौसला बढाउन ब्राण्ड एम्बेसडर तोकिएको जनाए ।
२ बर्षको लागि ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धित क्रिकेटरद्वयलाई प्रदान गर्ने सेवा सुविधा बारे भने खुलाइएको छैन । कुंवरले यस अघि नै नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचनलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले खेलाडीको प्रोत्साहनका लागि यो महत्वपूर्ण समझदारी भएको उल्लेख गरे ।
एम्बेसडर नियुक्त भएपछि खुसी व्यक्त गर्दै राष्ट्रिय महिला क्रिकेटकी सदस्य तथा यू–१९ क्याप्टेन पूजा महतले यसलाई सबैभन्दा खुसीको दिनको रुपमा लिएको जनाइन् ।
अष्ट्रेलिया बस्दै आएका गुल्मीका विनोदले एकल लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइरहेका छन् । यहाँ मुलुकमै पहिलोपटक फ्लडलाइट समेत जडान गरिएको छ । यहाँ बनिरहेको रंगशालामा फागुन २५ देखि आयोजना हुने प्रधनमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटका केही खेलहरु समेत हुँदैछन् ।