
वीरगञ्ज । मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो वीरगञ्ज गोल्डकप २०८१ प्रतियोगिता सुरु भएको छ । भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा शनिबार फागुन १७ गतेदेखी वीरगञ्ज गोल्डकप सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा वीरगञ्ज युनाईटेडले गढवाल डाईमण्ड क्लब दिल्लीलाई पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । युनाईटेडले दिल्लीलाई १–० गोलले हराउँदै अन्तिम ४ मा स्थाान पक्का गरेको हो ।
खेलको ५१ औँ मिनेटमा दिल्लीका खेलाडी सन्दीप रानाले आफ्नै गोलपोष्टमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । पहिलो हाफ्मा वीरगञ्जमाथि हाबी देखिएको दिल्लीका खेलाडीहरु दोस्रो हाफमा भने तुलनात्मक रुपमा वीरगञ्जका खेलाडीहरुसंग कमजोर देखिए । खेलको २० औं मिनेटमा दिल्लीका खेलाडीले डिएरिया भित्रै बल हातले छोएपछि वीरगञ्जले पेनाल्टी किक् पाएको थियो ।
तर वीरगञ्जका कप्तान शीशष थापाले भने उक्त पेनाल्टी किक् खेर फालेका थिए । थापाले पेनाल्टी किक्मा प्रहार गरेको बल दिल्लीको गोलपोष्ट बाहिर गएको थियो । खेलको ८५ औं मिनेटमा दिल्लीले बराबरी गोल गर्ने अवसर गुमाएको थियो । दिल्लीका अभय डेसिलाले वीरगञ्जको डिएरिया भित्रैबाट प्रहार गरेको बल गोलपोष्टको बारमाथि बाट गएपछि दिल्लीले बराबरी गोल फर्काउन सकेन ।
खेलको म्यान अफ दी म्याच वीरगञ्जका बिपिन मगर घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको प्रतयोगिताका आयोजक भेट्रन सिटी क्लबका उपाध्य्क्ष रोशन श्रेष्ठले जानकारी दिए ।
दोश्रो वीरगञ्ज गोल्डकप २०८१ को उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका थिए । उनले प्रतियोगिताको सफलताका शुभकामना दिँदै खेलाडीहरुको मनोवल बढाउन महानगरपाकिलाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गरेका थिए ।