
काठमाडौं । रुससँग युद्ध लडिरहेका युक्रेनी राष्ट्रपति ठूलो आशा बोकेर अमेरिका गएपनि वार्ता तनावमा परिणत हुँदा युद्धको स्थिति के होला भन्ने चासो बढेको छ । रुस–युक्रेन युद्धलाई शान्तिमा परिणत गर्ने दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेपछि यसले विश्वभर तरङ्ग पैदा गरिदिएको छ ।
शान्तिको नारा लगाउदै युक्रेनमा राष्ट्रपति निर्वाचित भएका भोलोडिमिर जेलेन्स्की निर्णायक तर, कठिन मोडमा पुगेका छन् । अमेरिका भ्रमणमा पुगेका जेलेन्स्कीले खनिज सम्झौता गरेर भएपनि अमेरिकी सहायतालाई कायमै राख्ने रणनीतिलाई निरन्तरता दिन नसक्ने स्थिति सिर्जना भएको छ ।
अमेरिका भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा पाएका उनले महत्वपूर्ण सम्झौता गर्ने ठानिएको थियो तर, त्यो अपेक्षाकृत बन्न पुगेन् । खराब माहोलका बीच जेलेनेस्कीलाई अन्ततः ओभल अफिसबाट निस्किनु प¥यो । यो परिस्थिति निर्माण भएपनि धेरैले उनको प्रसंसा गरेका छन् भने युरोप, क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकले साथ रहने आश्वासन दिएका छन् । तर, यो समाधानको बाटो हो त ? प्रश्न भने खडा भएको छ ।
अमेरिका भ्रमणको क्रममा दुई देशबीच खनिज सम्झौता हुने तय भएको बताइएको थियो । हसिलो र हिम्मतका साथ ह्वाइट हाउस छिरेका जेलेन्स्की निस्किदा भने मलिन देखिन्थे । यसको कारण थियो, ओभल अफिसमा चलेको भनाभन । अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र जेलेन्स्कीबीच भनाभन कडा र तिक्ततापूर्ण बन्न पुग्यो । उपराष्ट्रपति भेन्सले युद्ध अन्त्य गर्ने प्रस्ताव गरेका थिए भने जेलेनेस्कीले रुसी राष्ट्रपति पुटिनको चर्को आलोचना र खण्डन गरे ।
विवाद बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीले कार्ड खेल्न खोजेको आरोप लगाए भने तेश्रो विश्वयुद्धका लागि तयार रहेको भनिदिए । तर, जेलेन्स्की पनि प्रतिवादमा उत्रिने कुरामा कतै पछि परेनन् । जेलेन्स्कीको यो शैली भने कूटनीतिक रुपमा असाध्यै कच्चापना भएको चर्चा समेत चल्न थालेको छ । भेन्सले कूटनीतिबारे कुरा गरिरहेको भन्दै युक्रेनको विनाश रोक्ने भनेपछि जेलेन्स्कीले कस्तो कूटनीति भनि प्रतिप्रश्न गरे । त्यसपछि माहोल थप चर्किन थाल्यो ।
यतिसम्म ट्रम्पले दुई नेताबीचको सम्वाद सुनिरहेका थिए । भेन्सले युक्रेनमा सेना अभावको विषयदेखि अमेरिकी राष्ट्रपतिलाई धन्यवाद नदिएको आरोप लगाए । रुस युक्रेन युद्ध रोक्न खोजिरहेका राष्ट्रपतिलाई धन्यवाद नदिएको भनेपछि जेलेन्स्कीले युक्रेन पुगेर त्यहाँको समस्या हेर्नुभएको छ ? भने । त्यसपछि भेन्स थप चर्किए र प्रचारात्मक भ्रमणमा लैजाने गरेको भन्दै जनशक्तिको अभावलाई अस्वीकार गर्नुहुन्छ भनिदिए । त्यसपछि जेलेन्स्कीले समस्या छन्, मात्रै भने । स्थिति थप बिग्रिदै गयो । भेन्स रोकिएनन् ।
अमेरिकी राष्ट्रपतिको ओभल अफिसमा आएर प्रशासनको आलोचना गर्नु सम्मानजनक कुरा हो भन्ने भेन्सको प्रश्नमाथि जेलेन्स्सकीले जवाफमा– अमेरिकालाई पनि युद्धमा समस्या हुने, समुन्द्र छ । भविष्यमा महशुस गर्नुहुन्छ भनेपछि ट्रम्प आक्रोशित बने ।
यो विवाद लम्बेतान बनिरह्यो । ट्रम्प रोकिएनन् । अमेरिकाले ३५० अर्ब डलर दिएको दाबी गरे । बाइडेनलाई मुर्ख भन्न भ्याए । युद्ध लड्न सक्ने स्थिति थिएन भने । जवाफमा जेलेन्स्कीले पुटिनले तीन दिनमै सकिन्छ भनेको स्मरण गरे । ट्रम्प थप आक्रोशित बने र भने, अझं कम समय लाग्थ्यो ।
युद्ध रोक्ने विषयमा युक्रेनी जनतालाई सोध्न ट्रम्पलाई चुनौति दिएपछि ट्रम्पको क्रोध थप उत्कर्षमा पुग्यो । बाइडेन र ओबामामाथि पनि आक्रोश पोखे । अहिले सम्झौता हुन नसक्ने भने । यस्तो स्थिति सिर्जना भएपछि ओभल अफिसबाट जेलेन्स्कीलाई बाहिरिन आदेश दिइयो । उनी बाहिरिए ।
आरोप–प्रत्यारोप र खतरा
ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको आरोप लगाउदै युद्धविरामको पक्षमा उभिने भए ह्वाइट हाउस फर्किन सक्ने भनेका छन् । तर, जेलेन्स्कीले माफी माग्नुपर्ने आवाजमा जेलेन्स्की भने गल्ति नगरेको भनिरहेका छन् ।
यस्तो स्थितिमा अब अमेरिकाले युक्रेनलाई रुसविरुद्धको युद्धमा सघाउला ? प्रश्न धेरै अनुत्तरित नै देखिएका छन् भने युक्रेनको भविष्य समेत अन्योलतामा धकेलिएको छ । यसरी विश्व राजनीतिमा देखिएको तनावले विश्वलाई युद्धमा लैजाने त होइन भन्ने चिन्ता भने बढाइदिएको छ । युरोपदेखि अन्य मुलुकले युक्रेनलाई उक्साउने र अमेरिकाले अर्को बाटो समात्ने स्थिति बन्दा विश्वमा युद्धको खतरा बढ्ने चिन्ता बढेको छ ।
युरोपदेखि क्यानडाको साथ जेलेन्स्कीलाई
युरोपियन राष्ट्र र क्यानडा, अष्ट्रेलियादेखि धेरै मुलुकहरुले युक्रेनको साथमा रहेको भनिरहेका छन् । जेलेन्स्कीलाई उनीहरुले साथ दिने भन्दै गर्दा यहि विन्दुबाट विश्वमा युद्धको संकेत थप बलियो बन्ने त होइन भन्ने चिन्ता समेत बढेको छ । युक्रेनलाई समर्थन गर्ने मुलुकहरुले रुस र पुटिनलाई विभिन्न दोषारोपनसहित युक्रेनको सार्वभौमसत्ताको पक्षमा उभिने भनिरहेका छन् । तर, अमेरिकाबिनाको युक्रेनले रुसविरुद्ध कति समयसम्म लडाईमा सरिक हुन सक्ला ? प्रश्न भने देखिएका छन् ।
विवादको अन्तर्य
झट्ट हेर्दा अमेरिकी पक्षले जेलेन्स्कीलाई अपमान गरेको जस्तो देखिन्छ । तर, स्थिति केहि फरक देखिन्छ । लामो समयको वार्ताको क्रममा जेलेन्स्कीले अमेरिकाले गर्ने सहयोग र युक्रेनको सुरक्षा ग्यारेन्टीको नाममा अनेक विषय उप्काएका थिए । अमेरिकी पक्षले खनिज सम्झौता भए अमेरिकी कम्पनीले काम गर्ने र रुस आक्रमण गर्न नआउने भनिरहेका थिए । तर, जेलेन्स्कीले यसमा विश्वास जनाउन सकेको देखिए ।
रुसलाई एक्लो बनाएर अघि बढ्ने मनशायका साथ अमेरिका पुगेका जेलेन्स्कीले देखाएको व्यवहारमा भने अमेरिकी पक्ष पहिलेदेखि नै आक्रान्त देखिन्थ्यो । कुटनीतिक रुपले गर्नुपर्ने सम्झौतामा झनक्क रिसाइ हाल्ने जेलेन्स्कीको स्वभावले पनि वार्ताको माहोल बिगार्ने काम प्रशस्त गर्न पुग्यो ।
ट्रम्पले अब युद्ध समाप्त गर्ने समय आएको भन्दैगर्दा जवाफमा जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनले सम्झौता पालना गर्दैनन् भनेपछि ट्रम्पले आफूसँग भएको सम्झौतामा यस्तो नहुने भने । तर, जेलेन्स्की अमेरिकाले भन्दैमा युद्ध रोक्दैन भनेपछि वार्ताको माहोल बिग्रिन शुरु ग¥यो । यहि बिन्दुबाट वार्ताले मूर्त रुप लिन सकेन भने विवाद लम्बेतान बन्न पुग्यो ।