
काठमाडौं । नेपाल लगायत दक्षिण एशियाली मुलुकमा डिजिटल बैंक अवधारणाको विकास अझै पनि सुरुवाती चरणमा छ । नेपाल कानुन निर्माणको चरणमा छ । अहिले सञ्चालनमा रहेका केही बैंकले डिजिटल बैंकिङ कारोबार गरिरहेको भएपनि छुट्टै डिजिटल बैंक स्थापना भइसकेको अवस्था छैन । तरपनि विश्वका ठूला र विकसित मुलुकहरुको तुलनामा नेपालमा पनि डिजिटल बैंकिङको सुविधा र पहुँच सन्तोशजनक देखिन्छ ।
सरकारले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक २०७३’ को पहिलो संशोधन गर्दै डिजिटल बैंक खोल्न सकिने व्यवस्था गर्न खोजेको छ । यो विधेयक संसदबाट पास भएपछि राष्ट्र बैंकले डिजिटल बैंक सञ्चालनका लागि लाइसेन्स दिने बाटो खुल्छ । डिजिटल बैंकले निक्षेप लिने, कर्जा प्रवाह गर्ने लगायतका बैंकिङ करोबार गर्न पाउनेछन् ।
डिजिटल बैंकको अवधारणा नेपालका लागी नयाँ हो । नेपाल मात्र होइन दक्षिण एशियाली मुलुकहरुका लागि पनि यो विषय नौलो छ । भारत लगायत केहि मुलुकमा डिजिटल बैंक सञ्चालनमा आएका छन् । तर यसको सञ्जाल फैलिइसकेको भने छैन । नेपालमा पनि अहिले सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल डिजिटल बैंकिङ कारोबारमा निकै अगाडि पुगिसकेको बैंकरहरुको दाबी छ ।
विश्वका केही ठूला विकसित मुलुकमा भने डिजिटल बैंकको अवधारणा धेरै अगाडि बढीसकेको छ । विश्वमा करिब साढे दुई सयको संख्यामा डिजिटल बैंक स्थापना भइसकेका छन् । जहाँ कुनै पनि बैंकिङ सेवा लिन बैंकसम्म जानै पर्दैन । डिजिटल बैंक बाहेक परम्परागत बैंकिङ अभ्यास गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरुले पनि अहिले डिजिटल बैंकिङ कारोबारलाई तिव्रता दिएका छन् ।
ग्राहकको माग अनुसार छिटो, सजिलो र कम खर्चिलो वित्तीय सेवा दिन सक्ने भएकाले डिजिटल बैंकिङप्रति विश्वका धेरै देशले कानुन नै बनाएर कारोबार गर्नसक्ने व्यवस्था गरेका छन् । छिमेकी मुलुक भारतले पनि डिजिटल पेमेन्ट पुर्वाधारमा ठूलो लगानी गरिसकेका छन् ।
विश्वमा, डिजिटल बैंकिङ र फिनटेकको क्षेत्र विशेषगरी विकसित राष्ट्रहरुमा अत्यधकि समृद्ध भइसकेको छ । अमेरिका, युरोप, एशियाका केही विकसित देशहरुले डिजिटल करेन्सी र क्रिप्टोकरेन्सीको प्रयोग खुला गरी कारोबार गर्न दिइरहेका छन् । यि देशहरुमा विकास भएका डिजिटल प्लेटफर्महरुले डिजिटल कारोबारलाई अझ सहज बनाएको छ ।
ठूला र विकसित मुलुकमा डिजिटल बैंकले तिव्रता पाइरहेको भएपनि नेपाल लगायत दक्षिण एशियाली मुलुकमा प्रविधि र पुर्वाधारका कारण यसको विकास भइसकेको छैन । नेपाल पनि बल्ल कानुन निर्माणको चरणमा छ । डिजिटल बैंक सञ्चालनका लागि ‘फाइभ जी’ नेटवर्क आवश्यक पर्छ ।
जुन हालसम्म उपलब्ध छैन । यसबाहेक कारोबारका लागि चाहिने बायोमेट्रिक राष्ट्रिय परिचयपत्र, साइबर सुरक्षा प्रविधि र पूर्वाधारको ढाँचा अझै पुर्णरुपमा विकास भइसकेको छैन । पुर्वाधारसँगै, साइबर सुरक्षाका जोखिमहरु र डिजिटल साक्षरतामा कमि हुनु नेपालको डिजिटल बैंकिङका प्रमखु समस्या हुन् ।