
दोलखा । सुशिला कार्की दोलखाको चर्चित पर्यटकीय गन्तव्य कालिन्चोक र सैलुङ्गमा यस वर्षकै सबैभन्दा ठूलो हिमपात भएको छ। लगातारको हिमपातका कारण पूरा क्षेत्र सेताम्य बनेको छ, जसले पर्यटकलाई आकर्षित गर्दै होटल व्यवसायी र स्थानीयहरूलाई खुसी बनाएको छ।
कालिन्चोकमा करिब २ फिट हिउँ जमिसकेको छ भने सैलुङ्गमा पनि बाक्लो हिमपात भएको छ। हिउँ खेल्न र रमाइलो गर्न आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्न थालेको छ, जसले होटल तथा पर्यटन व्यवसायलाई थप चहलपहल ल्याएको छ।
होटल व्यवसायीहरु खुशी व्यक्त गर्दै भन्छन्, 'हिउँ परेपछि यहाँको पर्यटन व्यवसाय फस्टाउँछ। होटल फुल बुक हुन थालेका छन्, जसले स्थानीय अर्थतन्त्रलाई टेवा पुगेको छ।'
पर्यटकहरू पनि हिमपातपछि बनेको सुन्दर प्राकृतिक दृश्यको मज्जा लिँदै सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो शेयर गरिरहेका छन्। स्थानीय व्यवसायीहरूका अनुसार हिमपात बढ्दै गए पनि यातायात व्यवस्थित गरिएमा पर्यटकको संख्या झनै बढ्ने छ।
स्थानीय प्रशासनले हिमपातका कारण यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ भने ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि आवश्यक तयारी गरिरहेको छ।