
सिन्धुपाल्चोक । नेपाल एकीकरणका बेला गोर्खाली सेनाले बनाएका गढीहरूमध्ये सिन्धुपाल्चोकको साँगाचोकगढी पनि एक हो । तर यो गढी संरक्षण र प्रचारप्रसारसंगै बजेटको अभावमा ओझेलमा परेको छ ।
पृथ्वीनारायण शाहका पहिलो सेना प्रमुख शिवरामसिंह बस्नेतसहित १३ जना सेनाले भक्तपुर र कीर्तिपुरका मल्लराजका सेनापति काशीराम थापासँग युद्धमा वीरगति प्राप्त गरेको ऐतिहासिक साँगाचोकगढी निर्माणमा प्रचारप्रसार र संरक्षणमा राज्यले चासो नदिएको स्थानियको गुनासो छ ।
तत्कालीन समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्ने क्रममा आप्।m्नो सेनालाई सिन्धुपाल्चोक पठाए ।
नयाँ नेपाल निर्माणका लागि पृथ्वीनारायण शाह अघि बढ्ने क्रममा १८०३ सालमा साँगाचोकगढीको निर्माण भएको इतिहास सैनिक संग्रालय छाउनीको अभिलेखमा छ । नेपाल एकीकरणको बेला पृथ्वीनारायण शाहको सेनाले कान्तिपुरका मल्लराजाहरुले अड्डा जमाइरहेको साँगाचोकगढीमा आक्रमण गरेर विजय प्राप्त गरेका थिए ।
त्यतिवेला गढीकै छेउमा युद्ध सामग्री राख्न बनाइएको कोत छ । कोत भएको स्थानमा हाल स्थानीयले बच्छलादेवी मन्दिर निर्माण गरि दशैँको फूलपातीमा पूजाआजा गर्छन् । तर समुन्द्री सतहबाट एक हजार ५ मिटर उचाइमा रहेको साँगाचोकगढी कालान्तरमा आएर जीर्ण बनेको छ । यस्तो ऐतिहासिक गढी हाल झारपातले भरिएको छ ।
एक दशक अघि स्थानीयको प्रयासमा १६ करोड लागतमा गढीको निर्माण गरिने भनि डिपिआर गरियो । यो क्षेत्रमा पटक पटक गरेर ५ करोडको काम भएको छ । जसमा गढीसम्म पुग्न मानेडाँडा सडक र बज्छलादेवि मन्दिरदेखि गढी नजिकसम्म पदमार्गको सिँढी निर्माण भएको छ ।
तर बजेट अभावले गढीमा वीरगति प्राप्त गरेका तत्कालिन सेना प्रमुख शिवरामसिंह बस्नेतको सालिक सहितको स्मारक पार्क, शान्ती पार्क, गढी क्षेत्र र पिकनिक स्पोर्ट निर्माणको काम अपुरो छ । तत्कालिन समयमा इटाबाट लगाइएको गारो, पुराना इटादेखि उत्खननका क्रममा भेटिएका जाँतो, सिलौटो, लोहोरो जस्ता सामाग्री स्थानीयले बच्छलादेवी मन्दिरमा संरक्षण गरेर राख्नु परेको छ ।
राज्यको पुनर्संरचनापछि नगरपालिकाको नाम यसै गढीबाट राखिएको छ । यहाँबाट तिब्बतको माथिल्लो भेग र नेपाल तिब्बतको युद्ध स्थल दुुगुनागढी, नुवाकोट, काठमाडौं, भक्तपुरसँगै सिन्धुपाल्चोकका अधिकांश भेग देख्न सकिन्छ ।
पुर्खाको इतिहासलाई जीवित राख्न प्रयास गरिएपनि त्यसले सार्थकता नपाएको जनप्रतिनिधि बताउँछन् ।
घुमफिर र अवलोकनका लागि यहाँ पुगेका पर्यटकहरु पनि अपूरा संरचना हेरेर निराश भएर फर्किने गर्छन् । ऐतिहासिक, धार्मिक र पर्यटकीय हव बनाउने स्थानीयको दशक वढीको प्रयास अझै पुरा हुन सकिरहेको छैन ।