
काठमाडौं । चलनचल्तीमा रहेका नोटको प्रयोग जति बढी हुन्छ त्यति नै त्यसको आयु पनि कम हुन्छ । अर्थात केही वर्षमा नोट प्रयोग गर्न नसकिने हुन्छ ।
आयु सकिएर प्रयोगबिहिन भएका पुराना नोटलाई नयाँले विस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि वर्षेनी राज्यले अर्बौं पैसा खर्च गर्नुपर्छ । तर अहिले डिजिटल कारोबार बढ्दै जाँदा नोटको आयु पनि बढेको छ भने राज्यलाई नोट छपाइमा गर्नुपर्ने खर्चको भाग घटेको छ ।
तपाई हामीले अहिलेपनि कुनै पनि वस्तु तथा सेवा खरिद गरिसकेपछि त्यसको भुक्तानी कागजी नोटबाटै गरेका हुन्छौं । यसरी नोटको भुक्तानी हुँदा यसको प्रयोग पनि बढी हुन्छ । नोटको धेरै प्रयोग हुँदा नोट छिटो पुरानो हुन्छ र केही वर्षमै प्रयोग गर्न नसकिने अवस्थामा पुग्छ ।
अहिले नेपालमा नोटको औसत आयु चार वर्ष हाराहारी छ । प्रयोग गर्न अयोग्य भएका पुराना नोटलाई विस्थापित गर्नका लागि राज्यको अर्बौ रकम खर्च हुँदै आएको छ । एक वर्षमा नयाँ नोट छाप्नका लागि मात्रै राष्ट्र बैंकले एक अर्ब रुपैयाँ भन्दा बढी खर्च गर्ने गरेको छ ।
नोट छाप्न कति खर्च लाग्छ ?
- दश रुपैयाँको एउटा नोट छाप्न एक रुपैयाँ ४० पैसा पर्छ ।
- २० रुपैयाँको लागि एक रुपैयाँ ७३ पैसा
- ५० रुपैयाँको लागि दुई रुपैयाँ ६७ पैसा
- एक सय रुपैयाँको दुई रुपैयाँ ९९ पैसा
- पाँच सय रुपैयाँको चार रुपैयाँ ६८ पैसा
- र एक हजार रुपैयाँको लागि तीन रुपैयाँ ३७ पैसा छपाई खर्च लाग्छ
नयाँ नोटको छपाई नेपालमा हुँदैन । छपाइका लागि खर्च भएको सबै पैसा सिधै विदेश जान्छ ।
राज्यलाई नोट छपाईको भार कम गराउन र नोटको आयू लम्ब्याउन डिजिटल कारोबार बढाउनुपर्छ । त्यसका लागि डिजिटल बैंकिङ बारे साक्षरता बढाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले पनि डिजिटल कारोबारबारे साक्षरता फैलाउने काम गर्नुपर्छ ।
अहिले नेपालमा डेविट कार्ड, क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट, इ–बैंकिङ्ग जस्ता विद्युतीय कारोबारका माध्यमको प्रचलन बढेको छ । तर पनि नेपालमा डिजिटल वित्तीय कारोबारमा साक्षर भएको जनसंख्या जम्मा १८ प्रतिशत हाराहारी मात्रै छ ।
त्यसैले डिजिटल वित्तीय साक्षरतामा बैंकहरुले लगानी बढाउनुपर्ने, डिजिटल कारोबारको दायरा बढाउनुपर्ने र नागरिकलाई डिजिटल कारोबारमा प्रोत्साहन गरी नोटको प्रयोग कम गर्न प्रेरित गर्नुपर्ने देखिन्छ ।