
काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स फेरि संकटमा फसेको छ । आन्तरिक उडानमा प्रयोग हुँदै आएको अन्तिम ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक सेवा पूर्ण रूपमा बन्द भएको छ । यो घटनाले दुर्गम भेगका नागरिकहरूको हवाई पहुँचमा प्रत्यक्ष असर पुर्याएको छ भने निगमको व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) फेरि गम्भीर संकटको घेरामा परेको छ ।
आन्तरिक उडानका लागि प्रयोग गरिँदै आएका दुई ट्वीनअटरमध्ये उडान भरिहेको विमानसमेत ग्राउण्डेड भएपछि निगमको आन्तरिक सेवा पूर्ण रूपमा ठप्प छ । निगमले दुईवटा ट्विनअटर जहाजबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडान गर्दै आएको थियो ।
आन्तरिक उडान बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको छ । यो घटनाले नेपालको दुर्गम क्षेत्रमा भर पर्ने नागरिकहरूको हवाई पहुँचमा प्रत्यक्ष असर पु¥याएको छ भने निगमको व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
निगमको आन्तरिक उडानः आश्वासन मात्र कि दीर्घकालीन समस्या ?
नेपाल एयरलाइन्सले विगत केही वर्षयता आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन सकेको छैन । निजी क्षेत्रका एयरलाइन्सहरू आक्रामक रूपमा विस्तार भइरहेका बेला राष्ट्रिय ध्वजावाहक भने बारम्बार संकटमा फस्ने क्रम रोक्न असफल देखिन्छ । निगमसँग हाल आन्तरिक उडानका लागि मात्र दुई ट्वीनअटर विमान छन् ।
तीमध्ये एउटा गत जेठदेखि ग्राउण्डेड थियो भने अन्तिम रहेको अर्को विमान पनि प्राविधिक समस्याका कारण हालै ग्राउण्डेड भएको छ । यो अवस्था आउनु संयोग मात्र हो त? कि दीर्घकालीन योजनाको अभावले निगम बारम्बार यस्तो संकटमा फस्न बाध्य छ ? प्रश्नहरू पेचिलो बनिरहेका छन् ।
के गरिदैछ ग्राउण्डेड विमानलाई ?
निगमले ट्वीनअटर विमान ९ एन–एबीयू मा आवश्यक इन्जिनको मर्मतपछि मार्च ४ बाट नियमित उडानमा जाने जानकारी विज्ञप्ती मार्फत गराएको छ ।
त्यस्तै त्यस्को अर्को साता दोस्रो ट्वीनअटर विमान ९ एन–एबीटी को पनि इन्जिनको मर्मत कार्य सकेर नियमित उडान सञ्चालन गर्ने योजना रहेको निगमको भनाई छ ।
व्यवस्थापनको कमजोरी कि स्रोतसाधनको अभाव ?
निगमले विमान ग्राउण्डेड हुने वित्तिकै ‘प्राविधिक समस्या’ भन्दै पन्छन खोज्छ । प्राविधिक समस्या आइनै रहन्छन् । तर जब एउटै विमानमाथि निर्भर रहनुपर्ने अवस्था आउँछ, त्यसले व्यवस्थापनको पूर्व तयारीमाथि ठूलो प्रश्न उठाउँछ ।
निजी वायुसेवा कम्पनीहरू एकै समयमा आधा दर्जनभन्दा बढी जहाज सञ्चालन गरिरहेका छन् । राष्ट्रिय ध्वजावाहकले मात्रै बारम्बार ग्राउण्डेड समस्यामा फस्नु गम्भीर चिन्ताको विषय हो ।
उडान ठप्पले भारी घाटा : कर्मचारी व्यवस्थापन मै हम्मे
– ४३ जना पाइलट कार्यरत
– स्थायी पाइलटको मासिक तलब रु. ६ देखि ७ लाख रुपैयाँ
– आन्तरिक उडानका सिनियर पाइलटको प्रतिघण्टा आम्दानी रु. ४ हजार ५ सय रुपैयाँ
– को–पाइलटको प्रतिघण्टा आम्दानी रु. १ हजार ५ सय रुपैयाँ
– सिनियर पाइलटको मासिक तलब रु. ४ लाख रुपैयाँ
– को–पाइलटको मासिक तलब रु. १ लाख ९० हजार रुपैयाँ
कर्मचारी व्यवस्थापनमा लाखौं रुपैयाँ खर्चिनु पर्ने नेपाल वायुसेवा निगमको आर्थिक अवस्थालाई झट्का दिने गरी उडान ठप्प हुँदा दैनिक लाखौंको घाटा भइरहेको छ ।
घाटाको ग्राफ यस्तो
– विमानहरू ग्राउन्डेड हुँदा पनि पाइलटहरूको तलब रोकिँदैन
– दैनिक २ लाख १५ हजार रुपैयाँ घाटा
– वार्षिक घाटा २ अर्ब ७ करोड ६२ लाख रुपैयाँ
– गत वर्ष मात्र ६५ करोड २९ लाख रुपैयाँ नोक्सानी
– हालसम्म १६ अर्ब ३७ करोड बढी रुपैयाँ घाटा
– ३५ अर्ब ८० करोड रुपैयाँ ऋण अझै तिर्न बाँकी
– विमान नउड्दा पनि खर्च रोकिँदैन, निगमको आर्थिक भार झन् भारी बन्दै
के निजी विमान कम्पनीका जहाज ग्राउण्डेड हुँदैनन् त ?
निजी वायुसेवा कम्पनीहरू प्रतिस्पर्धी बजारमा चलेका छन्, जहाँ उनीहरू आफ्ना जहाजहरू समयमै मर्मत गर्छन्, आवश्यक परेमा प्रतिस्थापनका लागि थप जहाजहरू तयारी अवस्थामा राख्छन् । त्यसैले त, कुनै जहाज ग्राउण्डेड हुँदा पनि उडानहरू प्रभावित हुँदैनन् । तर, निगमको अवस्था ठीक उल्टो छ ।
– निजी कम्पनीहरूले आन्तरिक हवाई बजारलाई आफ्नो नियन्त्रणमा लिँदै
– निगम भने आफ्नै कमजोरीका कारण पछाडी धकेलिँदै
– आन्तरिक उडान बजारको झन्डै ९७ प्रतिशत हिस्सा निजी कम्पनीहरूको कब्जामा
– निगमको बजार हिस्सा दिन प्रतिदिन खुम्चिनु भनेको आर्थिक सङ्कटमा धकेलिनु
निगम आफ्ना समस्या समाधान गर्ने ठाउँमा हैन, अझै ढिलाइ गर्दैछ ।
निजी कम्पनीहरू नविनतम प्रविधि, सेवा सुधार, समयपालन र व्यवसायिक रणनीतिमा अगाडि बढिरहेका छन्, जसले उनीहरूको पकड बलियो बनाइरहेको छ । यो प्रवृत्ति जारी रह्यो भने अबको केही वर्षमै निगमको अस्तित्व नै खतरामा पर्ने सम्भावना बलियो छ ।
निगमको प्राथमिकता : आन्तरिक कि अन्तर्राष्ट्रिय उडान ?
हाल नेपाल एयरलाइन्सले आन्तरिकभन्दा अन्तर्राष्ट्रिय उडानमै बढी ध्यान दिइरहेको देखिन्छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी र दुई न्यारोबडी विमान छन् । अन्तर्राष्ट्रिय उडानमा प्राथमिकता दिने रणनीति गलत त छैन, तर आन्तरिक उडानलाई उपेक्षा गरिनु चाहिँ राष्ट्रिय ध्वजावाहकको मूल उद्देश्यसँग मेल खाँदैन ।
नेपालका दुर्गम क्षेत्रहरूमा निजी वायुसेवा कम्पनीहरू खासै आकर्षित हुँदैनन् । व्यवसायिक दृष्टिकोणले कम आम्दानी हुने दुर्गम क्षेत्रहरूमा हवाई सेवा पु¥याउने जिम्मेवारी मूलतः नेपाल एयरलाइन्सकै हो । तर स्रोतसाधन अभाव, व्यवस्थापकीय लापरबाही, र दीर्घकालीन सोचको कमीले गर्दा निगम यो भूमिकामा चुकेको देखिन्छ ।
समस्याको जडः नीतिगत अस्पष्टता र लगानी अभाव
निगमलाई बारम्बार समस्या आउने कारणहरूमध्ये नीतिगत अस्पष्टता प्रमुख हो । नेपाल सरकारले निगमलाई रणनीतिक सुधारको खाका बनाएर अगाडि बढाएको देखिँदैन ।
– पर्याप्त संख्यामा विमान अभाव
– नियमित मर्मत सम्भारको प्रभावकारी व्यवस्थापनको कमी
– सञ्चालकीय तथा वित्तीय अक्षमताका कारण नयाँ विमान खरिद गर्न नसक्ने अवस्था
यी सबै समस्या यथावत् रहेको देखिन्छ ।
नेपाल सरकारले निगमलाई नयाँ ट्वीनअटर वा अन्य उपयुक्त विमान खरिदका लागि आवश्यक बजेट छुट्याउने पहल नगरेसम्म यो संकट बारम्बार दोहोरिने निश्चित छ ।
नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प हुनु केवल प्राविधिक समस्या मात्र नभई व्यवस्थापकीय र नीतिगत कमजोरीको परिणाम हो । अहिले देखिएको समस्या केवल सतही संकट मात्र हो, जबकि यसको जड गहिरो छ ।
सरकारले दीर्घकालीन सोच राखेर राष्ट्रिय ध्वजावाहकको सशक्तीकरण गर्ने नीति अवलम्बन नगरेसम्म यो समस्या समाधान हुने देखिँदैन ।
देशको दुर्गम भेगका नागरिकहरू अझै पनि नेपाल एयरलाइन्सको भर पर्न बाध्य छन्, तर निगमले उनीहरूको अपेक्षा पूरा गर्न सक्ने अवस्थामा छैन । या त सरकार र निगमले दीर्घकालीन सुधार योजना ल्याउनुपर्छ वा नेपाल एयरलाइन्सले आन्तरिक उडान सेवा स्थायी रूपमा बन्द गर्नुपर्छ । तर अहिलेको बीचको अन्योल अवस्था न निगमका लागि फाइदाजनक छ न त यात्रुहरूका लागि ।