News 24 Television
भारत–पाकिस्तानको द्वन्द्व : नेपाल नैतिक संकटमा !

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) एक समय दक्षिण एसियाली राष्ट्रहरूबीच सहकार्य, व्यापार र आर्थिक सम्बद्धतालाई मजबुत बनाउने प्रमुख मञ्च थियो । तर, विगत केही वर्षयता यसको गति सुस्त हुँदै गइरहेको छ । नेपालसहितका सदस्य राष्ट्रहरूले पुनःसक्रिय बनाउने प्रयास गरिरहेका भए पनि भारत–पाकिस्तान द्वन्द्व, सदस्य राष्ट्रहरूबीचको असमझदारी र भारत अरु फोरमहरुमा व्यस्त हुँदा सार्कको भविष्य र औचित्यमै उठेको छ । 

सार्कको अवधारणा र यसको महत्व

सार्क सन १९८५ डिसेम्बरमा स्थापना गरिएको थियो, जसको मुख्य उद्देश्य दक्षिण एसियाली राष्ट्रहरूबीच क्षेत्रीय सहयोगलाई प्रवद्र्धन गर्नु थियो । 

सार्कमा सुरुवातमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भूटान सात देश सदस्य थिए । पछि २००७ मा अफगानिस्तान पनि समावेश भएपछि सार्क सदस्य राष्ट्रको संख्या ८ पुग्यो । 

क्षेत्रीय व्यापार, आपसी विकास, गरिबी न्यूनीकरण र सांस्कृतिक आदानप्रदान सार्कको प्राथमिक उद्देश्य थियो । तर, यो संगठन कहिल्यै पनि युरोपियन युनियन वा आसियान जस्तो प्रभावशाली बन्न सकेन ।

सदस्य राष्ट्रहरूबीचको आपसी असमझदारी, व्यापारिक असहयोग र राजनीतिक विवादले सार्कलाई अपेक्षाकृत बलियो बन्न दिएन । 

भारत–पाकिस्तान द्वन्द्व र सार्कको गिरावट

भारत र पाकिस्तानबीच दशकौँदेखि जारी द्वन्द्वले सार्कलाई निरन्तर कमजोर बनाइरहेको छ । २०१६ मा पाकिस्तानमा हुने तय भएको १९औं सार्क शिखर सम्मेलन भारतको बहिष्कारका कारण स्थगित भयो । भारतले उरी हमलापछि पाकिस्तानमाथि कूटनीतिक दबाब बढाएको थियो, त्यसयता सार्क शिखर सम्मेलन आयोजना हुन सकेको छैन । 

सार्कको निर्णय प्रक्रिया सर्वसम्मतिको आधारमा चल्ने भएकाले एउटा मात्र देशको असहमति भए पनि महत्वपूर्ण निर्णयहरू कार्यान्वयन हुन सक्दैनन् । भारत–पाकिस्तानबीचको तनावले सार्कका मुख्य परियोजनाहरू अवरुद्ध बने, जसमा साफ्टा, सार्क रेलवे नेटवर्क र सार्क ऊर्जा ग्रिड जस्ता योजनाहरू उल्लेखनीय छन् । 

भारतको वेवास्ता किन ? 

भारत, सार्ककै सबैभन्दा ठूलो अर्थतन्त्र भएको र प्रभावशाली देश हो । तर केही वर्षयता भारत सार्कलाई ओझेलमा पार्दै विकल्प खोज्न सक्रिय देखिन्छ । भारतले पछिल्लो समय आफुलाई बिमस्टेक, बिबिआइएन जस्ता क्षेत्रिय मन्चहरुमा व्यस्त बनाउँदै गइरहेको छ । 

बिमस्टेकमा नेपाल, भूटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, र म्यानमार र बीबीआइएनमा बंगलादेश, भारत, भुटान र नेपाल छन् । यी दुवै मञ्चमा पाकिस्तान छैन, जसले गर्दा भारतलाई आफ्नो प्रभाव विस्तार गर्न सहज बनाएको छ । भारतको रणनीति स्पष्ट छ – पाकिस्तानलाई छायाँमा पारेर दक्षिण एसियाली राष्ट्रबीचको क्षेत्रीय सहकार्यलाई नयाँ दिशामा लैजानु । 

केही दिन अघिमात्रै पनि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पाकिस्तानको नाम नलिइकनै कसका कारण सार्कमा अवरोध आएको छ दक्षिण एसियामा सबैलाई थाहै छ भनेका थिए । 

चीन फ्याक्टर पनि...

सार्कमा चीनको प्रवेशको विषयले तरंग सिर्जना गर्ने गरेको छ । हरेक सार्क शिखर सम्मेलन अघि चीनलाई सदस्यता दिने कि नदिने भन्नेमा ठूलै बहस हुने गर्छ । चीन शिखर सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागि हुँदै आएको छ । 

दक्षिण एसियकै अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको चीन सार्कमा सहभागि हुँदा यो क्षेत्रलाई फाइदा पुग्न सक्छ । तर भारत अहिले सार्कको सबैभन्दा शक्तिशाली मुलुक भएकाले उसकै स्वार्थका कारण चीनलाई सार्कमा समावेश गर्न नसकिएको बताइन्छ । 

सार्क निष्क्रिय हुँदाको प्रभाव

आसियान र युरोपियन युनियनकै परिकल्पनामा सार्क गठन भएको हो । तर लामो समयदेखि सार्क निष्क्रिय रहँदा सार्क मुलुकबीच सडक, रेल र ऊर्जा सञ्जालका क्षेत्रमा उपलव्धिमूलक काम हुनै सकेको छैन । 

एक मुलुकको मुद्रा अर्को मुलुकमा नचल्ने अवस्थाले व्यापार, पर्यटन लगायत आपसी हितका मुद्दा प्रवद्र्धन गर्न सकिएको छैन । 

सार्क राष्ट्रभित्र सुल्झन बाँकी सीमाका मुद्दा, शरणार्थी समस्या, तस्करी, आतंकवादी गतिविधि, लागुऔषध व्यापार तथा चेलिबेटी बेचबिखनजस्ता विभिन्न चुनौतीमा पनि आशातित काम गर्न सकिएको छैन । 

नेपालको भूमिका के हुन सक्छ ?

नेपाल भारत सम्बन्ध, छिमेक कुटनीति र बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा बोल्नका लागि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, जसपा उपाध्यक्ष राजकिशोर यादव र रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । 

इन्डिया इन्टरनेशनल सेन्टरमा आयोजित कार्यक्रममा भारतकै कारण एक दशकदेखि निष्क्रिय रहेको सार्कको प्रसंग पनि उठेको छ । नेपाल सार्कको संस्थापक अध्यक्ष हो भने सार्कको सचिवालय नै नेपालमा छ । 

त्यस्तै सार्क शिखर सम्मेलन सन् २०१४ यता हुन नसक्दा नेपालले अध्यक्षता हस्तान्तरण गर्न समेत पाएको छैन । त्यसैले पनि नेपाल सार्कलाई लिएर नैतिकरुपमै संकटमा छ । सार्कलाई पुनःसक्रिय गराउन र पुनर्जीवित गर्न नेपालले यी कार्यहरु गर्न सक्छ । 

सार्कलाई पुनःक्रियाशील बनाउन नेपालले कूटनीतिक पहल गर्दै दुबै देशलाई वार्तामा ल्याउन सक्छ

नेपालले बंगलादेश, श्रीलंका र भूटान जस्ता मुलुकहरूसँग मिलेर सार्कलाई जीवित राख्ने प्रयास गर्न सक्छ 

क्षेत्रीय व्यापार वृद्धि गर्न नेपालले सार्कका विकास परियोजनाहरूलाई पुनः सञ्चालनमा ल्याउन पहल गर्न सक्छ

नेपालले अन्य क्षेत्रीय संगठनहरूसँग प्रतिस्पर्धा गर्नेभन्दा सार्कभित्रै सुधार र नवीनतम दृष्टिकोण लागू गर्ने पहल गर्नुपर्छ 

तर भारत र पाकिस्तानका कारण सार्क आज संकटग्रस्त अवस्थामा छ । भारतको वैकल्पिक रणनीतिले यसलाई अझ कमजोर बनाइरहेको छ । यद्यपि, नेपालजस्ता सदस्य राष्ट्रहरूको सक्रियताले सार्कलाई पुनर्जीवित गर्न सक्छ । 

दक्षिण एसियाली राष्ट्रहरूको आर्थिक समृद्धि, व्यापारिक वृद्धि र कूटनीतिक सहकार्यको लागि सार्क अझै पनि महत्वपूर्ण मञ्च हो । 

विश्वकै घना आवादी र आर्थिकरुपले उदयीमान यो क्षेत्रलाई शसक्त बनाउन पनि सार्क जस्तो मञ्च अत्यावश्यक छ, त्यसैले पनि यसलाई सक्रिय बनाउन नेपालले ठोस कदम चाल्नै पर्छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update