
काठमाडौं । करिब ९० वर्षअघि सुरु भएको नेपालको बैंकिङ कारोबार अहिले डिजिटल युगमा छ । भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने कारोबार मोबाइलबाटै एक क्लिकमा गर्न सकिएपछि अहिले मानिसहरुको आकर्षण पनि डिजिटल कारोबारमा नै बढी छ ।
यसले केवल वित्तीय कारोबारलाई मात्रै सहज बनाएको छैन हाम्रो जीवनस्तरमा नै ठूलो परिवर्तन ल्याएको छ । विनिमयका लागि सिक्काको प्रचलन हुँदै नेपालमा औपचारिक बैंकिङ कारोबार सुरु भएको करिब नौ दशक पुगेको छ ।
विक्रम सम्बत् १९९४ सालमा नेपाल बैंकको स्थापना भएपछि नेपालमा औपचारिक बैंकिङको सुरुवात भएको थियो । त्यसपछि करिब ५० वर्षसम्म नेपालको बैंकिङमा सरकारी बैंकको मात्रै उपस्थिति थियो ।
पछि २०४०को दशकमा नेपालको बैंकिङमा निजी क्षेत्रको प्रवोश भएपछि बैंकहरुको संख्या बढ्दै गयो । अहिले बैंक तथा वित्तीय संस्थाको संख्या ५४ वटा छ । यसबाहेक ५० भन्दा बढी लघुवित्त वित्तीय संस्था छन् । यसले देशभर बैंकहरुको वित्तीय पहुँच पुर्याएको छ ।
अहिले बैंकिङ सेवा र कारोबार गर्ने शैलीमा ठूलो परिवर्तन आएको छ । २०४१ सालमा निजी क्षेत्रबाट खोलिएको नेपाल अरब बैंकबाट वित्तीय कारोबारमा कम्प्युटरको प्रयोग सुरु भएको थियो ।
अहिले सबै बैंकहरु पूर्णरुपमा प्रविधिमा निर्भर छन । बैंकमा भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने कारोबार अहिले डिजिटल बैंकिङ कारोबारको रुपमा विकासित भएको छ ।
प्रविधिको विकास, बदलिँदो परिस्थिति र समयका कारण डिजिटल कारोबार अहिलेको आवश्यकता बनेको छ । डिजिटल कारोबारले नै मानिसको जीवन सहज बनेको छ । बैंकमा घण्टौंसम्म लामो लाइन बस्नुपर्ने, नगद बोक्नुपर्ने लगायतका समस्या अहिले छैन ।
डिजिटल कारोबारको महत्व
- अपराधको घट्दो जोखिम
- कर छली नियन्त्रण
- संस्थागत अपराध नियन्त्रण
- कारोबारमा शीघ्रता
- कारोबार लागत न्यून
- सरल एवं सहज
- सरुवा रोग नियन्त्रण, कोरोनाजस्ता महामारी नियन्त्रणमा सहयोग
डिजिटल कारोबाको महत्व बढ्दै गएपछि बैंकहरु अहिले प्रतिस्पर्धात्मक बजारमा बढीभन्दा बढी ग्राकहरुलाई सहज तरिकाले बैंकिङ कारोबार गराउन डिजिटल कारोबारको विकास र प्रवर्धनमा लागेका छन् ।
केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले पनि बैंकिङ प्रणालीमा बढ्दै गएको डिजिटल बैंकिङ कारोबारलाई मध्यनजर गर्दै भुक्तानी प्रणाली विभाग खडा गरी नियमन गर्दै आएको छ ।