
रुपन्देही । रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको परीक्षा अनिश्चित बनेको छ । भेटेरिनरी प्राध्यापाकहरुको पेनडाउन सहितको विरोधका कारण परीक्षा प्रभावित भएको हो ।
भैरहवाको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसका नियमित परीक्षा र पठनपाठन ठप्प भएका छन् । भेटेरीनरी अध्ययनलाई पनि कृषिसरह मान्यता दिएर विश्वविद्यालयका पदाधिकारी र विशेष समितिमा नियुक्ति गरिनुपर्ने माग राखेर क्याम्पसमा कार्यरत १७ जना प्राध्यापकले गत माघ ९ गतेदेखि ‘पेन डाउन’ गरेपछि फागुन ९ देखि हुने भनिएको भेटेरीनरीतर्फको ९औं सेमेस्टरको परीक्षा नै भएन ।
यस्तै, १३ गतेदेखि सुरु कृषितर्फको पहिलो दिनको परीक्षा भए पनि बिहीबारदेखिका परीक्षा स्थगित भएका छन् । भेटेरीनरी शंकायका प्राध्यापकहरुले विद्यार्थीलाई दिनुपर्ने आन्तरिक मूल्यांकनको नम्बर नै नदिए पछि फागुन ८ मा सूचना जारी गरेर परीक्षा स्थगित गरिएको थियो ।
विवाद बढ्दै जाँदा भेटेरीनरी अध्ययनरत विद्यार्थीहरुले कृषि शंकायको परीक्षा रोक्न माग गर्दै परीक्षा शाखामा तालाबन्दी गरेपछि कृषितर्फको परीक्षा पनि स्थगित भएको क्याम्पस प्रशासनले जनाएको छ ।
अहिले परीक्षा गरिनुुपर्ने माग गर्दै भेटेरीनरी शंकायका विद्यार्थीले क्याम्पस प्रमुख, प्रशासन र परीक्षा शाखामा तालबन्दी गरेका छन् । यसले क्याम्पसमा अध्ययन÷अध्यापन र परीक्षा ठप्प भएको छ ।
आफूहरुले गत साउनमा डीन समक्ष बुँदागत रुपमा माग राखे पनि अहिलेसम्म पूरा गर्नेतर्फ पहल नगरिएको भेटेरीनरी प्राध्यापकहरुको आरोप छ ।
आन्दोलनरत पक्षले अध्ययन संस्थानका तीनजना डीनमध्ये एकजना भेटेरीनरीतर्फबाट नियुक्त हुनुपर्ने, संस्थानमा गठन हुने विशेष समितिमा भेटेरीनरी शिक्षक हुनुपर्ने, असम्बन्धित व्यक्तिमार्फत उत्तर पुस्तिका जाँच गराउनुको साटो सम्बन्धित बिज्ञलाई जिम्मेवारी दिनुपर्ने, क्याम्पसमा रहेको भेटेनरी अस्पतालाई व्यवस्थित रुपमा सञ्चालन गरिनुपर्ने र छुट्टै भेटेनरी क्याम्पस सञ्चालन गरिनुपर्ने माग राखेका छन् ।
यी माग १० वर्षदेखि राख्दै आए पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।
त्रिभुवन विश्वविद्यालयले गत माघ ११ गते सूचना जारी गरेर फागुन ९ गतेबाट भेटेरीनरी र १३ गतेदेखि कृषि संकायका परीक्षा सञ्चालन गर्नेगरि तालीका सार्वजनिक गरेका थियो ।
यसपछि क्याम्पस प्रशासनले माघ १४ गते सम्बन्धित विषयका प्राध्यापकसित विद्यार्थीले पाउनुपर्ने आन्तरिक मूल्यांकनको नम्बर माग गरेको थियो ।
कृषितर्फका प्राध्यापकले आन्तरिक मूल्यांकनको नम्बर तत्काल पठाए पनि पेन डाउन गरेको जनाउँदै भेटेरीनरीतर्फका प्राध्यापकले पठाएनन् । पटक–पटक छलफल गर्दा पनि भेटेरीनरीतर्फका प्राध्यापकले आन्तरिक मूल्यांकनको नम्बर क्यापस प्रशासनलाई बुझाउन मानेका छैनन् ।
क्याम्पस प्रमुखको कार्यकक्षामा तालाबन्दीपछि टाँसिएको बिरोधपत्रमा विभिन्न विद्यार्थी संगठनले शिक्षक, क्याम्पस प्रशासन र डीन कार्यालयले विद्यार्थीको हित विपरित अडान लिँदै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गरेर भयंकर लापरबाही गरेको उल्लेख छ ।
परीक्षा स्थगित हुँदा भेटेनरी संकायतर्फ स्नातक दोस्रो, चौथो र नवौं सेमेस्टरका विद्यार्थीको भविष्य अनिश्चित भएको छ । यसको प्रभाव कृषि शंकाय र पठनपाठमा समेत परेको छ ।
प्राध्यापकहरुकै पेन डाउन भएकाले आन्तरिक मूल्यांकनमा नम्बर काटिने डरले विद्यार्थीहरु खुलेर बोल्दैनन् । परीक्षा र पठनपाठन ठप्प हुँदा क्याम्पस सुनसान छ । प्रहरी खटाएर क्याम्पसको सुरक्षा दिइएको छ ।