News 24 Television
पोखरामा उखुको माग बढ्यो, आयात घट्दा मूल्य आकाशियो  

कास्की । हिन्दू धर्म अनुसार शिवारात्री लगायतका विशेष पर्वहरुमा उखुको प्रयोग अपरिहार्य मानिन्छ । अहिले महाशिवरात्रीलाई केन्द्रीत गरेर पोखरामा उखुको कारोवार बढेको छ । उखुको बढ्दो बजारीकरणका कारण किसान पनि सन्तुष्ट देखिन्छन् ।

कालरात्रि, मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र रात हो शिवरात्रि । शिवशक्ति पिठमा स्नान गरेर शिवरात्रीमा रातभर भजनकीर्तन गर्ने, धुनी बालेर शिवको पूजाआराधना गर्ने र उखु पोलेर पड्काउने चलन छ । यसरी पड्काइएको उखुलाई शिवजीको प्रसादको रूपमा खाने गरिन्छ । 

त्यसैले, शिवरात्रीका दिन शिवशक्ति पिठमा उखुको राम्रो व्यापार हुने गर्दछ । उखु सेवन गर्ने उपभोक्ता बढ्दो छन् । यस वर्ष तराइका जिल्लाबाट उखु कम आएकाले पोखरामा उखुको मुल्य बढेको छ । उखुको गुणस्तर र साइज अनुसार ५० देखि एक सय रुपैया सम्ममा होलसेल विक्री भएको छ । 

शिवरात्रीको लागि पोखरामा गोरखाको पालुङटार च्याङ्लीबाट विगतका वर्षमा जस्तै यस वर्ष पनि ठुलो मात्रामा उखु आएको छ । कृषि उपज थोकबजार केन्द्र पृथ्वीचोक पोखरामा विक्रीका लागि किसान आपैm आएका छन् । केही व्यापारीले पनि गोरखाबाटै उखु ल्याएर बिक्री गरेका छन् । 

धान, कोदो, गहुँ र तोरी भन्दा उखुमा राम्रो आम्दानी भए पछि गोरखाका किसान उखु खेती तर्फ आकर्षित भएका छन् । एक रोपनीमा ३० हजार भन्दा बढिको उखु उत्पादन हुने गरेको किसान बताउछन् । 

बजारमा एउटा उखुको खुद्रा मूल्य एक सयदेखि २०० रुपैँयासम्म पर्ने गर्दछ । महाशिवरात्री पर्वलाई लक्षित गर्दै पोखरामा सय टन भन्दा बढि अर्थात करिब एक करोड केजी बराबरको उखु भित्रिएको छ । 

यसको खुद्रा मुल्य भने करिब दोब्बर हुने गर्छ । पोखरामा सुनसरी, झापा, मकवानपुर, धादिङ र गोरखाबाट उखु आउने गरेकोमा केही वर्ष यता गोरखाको उखु धेरै आउन थालेको छ । त्यसपछि धादिङबाट उखु पोखरा आउने गरेको व्यवसायी बताउछन् । गत वर्ष कम विक्री भए पछि यो वर्ष आयतमा भने केही कमी देखिएपछि मुल्य बृद्धि भएको छ । 

पोखराको शान्ति वनवाटिकाको थोकबजार, पृथ्वीचोकको वास्तोला कृषि कम्प्लेक्स, सिद्धार्थचोकको कृषि थोकबजार लगायतका स्थानबाट उखुको होलसेल विक्री गर्ने गरिएको छ । कालोजातको उखु खानको लागि र सेतो जातको उखु शिवरात्रीको अवसरमा धुनी लगाउँदा पड्काउन प्रयोग गरिन्छ । 

शिवरात्रीको अवसरमा साँझदेखि देशका विभिन्न ठाउँका शिवमन्दिर एवं चौतारा तथा चोकमा धुनी लगाउने र उखु पड्काउने तथा उखु खाने प्रचलन रहेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update