
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले देवताका पनि देवका रुपमा चिनिने भगवान शिवको पवित्र तिर्थस्थलको रुपमा मानिने पशुपतिनाथ मन्दिरमा यो वर्ष पनि दर्शनार्थीहरुको भीँड उत्तिकै देखियो ।
लाखौंले दर्शन गर्ने महाशिवरात्रीका दिन दर्शनार्थीहरुलाई सहज मन्दिर दर्शनको ब्यवस्था मिलाएको थियो । कस्तो रह्यो पशुपतिनाथ मन्दिरमा पूजा दर्शनको ब्यवस्था र पाशुपत क्षेत्रमा दिनभरीको दृष्य ?
शिवरात्रीका दिनमा मन्दिर दर्शन आउने भक्तजनहरुलाई मध्य नजर गर्दै चारै ढोका खुल्ला थिए । तर पनि मन्दिरमा बिहानैदेखि बेलुकासम्म नै निकै लामो लाइन देखियो ।
बिहानको समयमा निकै चाप देखिए पनि बेलुकीपख भने २ घण्टा लाइन बसेर मन्दिर भित्र दर्शन गरिरहेका देखिन्थे । मन्दिरमा आएका भक्तजनहरु विरामी परेमा प्रथामिक उपचार गर्नका लागि मन्दिर छिर्ने सबै नाकामा स्वाथ्य चेक जाँचको व्यवस्था मिलाईएको थियो ।
मन्दिरमा आएका दर्शीनार्थीहरु पनि मन्दिर दर्शन गर्न पाउँदा आफुहरुलाई सन्तुष्ट मिलेको बताउँछन् । विगतमा भन्दा सजिलो संग मन्दिर दर्शन गर्न पाएको भक्तजनहरुले बताए । रित अनुसार पुजा गरेर शिवको भक्ति आरधना गरेर पुजा गरेको र यसले आफुलाई सन्तुष्टि मिलेको दर्शनार्थीहरुको भनाइ छ ।
पुजा आजा गरेपछि भक्तजनहरुले मन्दिर परिरमै शिव महिमाका भजनकिर्तनमा रमाएका देखिन्थे । पाशुपत क्षेत्रमा कोही भजन गाइरहेका थिए भने कोही साधुसन्तहरुसँग प्रसाद ग्रहण गरीरहेका देखिन्थे ।
विगतका वर्षहरुमा जस्तो यो वर्ष भने साधुसन्तहरुको उपस्थिति न्यून रहेको छ । यसपटक भारतको प्रयागराजमा जारी महाकुम्भका कारण साधुसन्तहरुको उपस्थिति कम रहेको थियो ।
महाशिवरात्रीका लागि पशुपतिनाथ मन्दिरमा नागाबाबादेखि साधुसन्तहरुलाई आमन्त्रण नै गर्ने प्रचलन छ । शिवरात्रीका लागि आएका साधुसन्तहरु पशुपति विकास कोषबाट पाएको स्वागत सत्कारबाट सन्तुष्ट देखिएका छन् ।
मुल मन्दिर छिर्ने मुल ढोका बाहिर साधुसन्तहरुको लहरै बसेका थिए । यहाँ उनीहरुलाई भक्तजनहरुले गच्छे अनुसारको दान दक्षिणा दिइरहेका थिए ।
महाशिवरात्रीका दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु मात्र होइन, रमाइलो हेर्न आउने युवा पुस्ताको भिँड पनि उत्तिकै हुने गर्छ । नागाबाबादेखि शिवरात्रीको महाप्रसाद ग्रहण गर्न भन्दै यस्ता युवाहरु हरेक वर्ष पशुपतिमा झुम्मिने गरेका हुन्छन् । मन्दिर पछाडिको मृगस्थलीको माथिल्लो भागमा युवा पुस्ताहरुको भीँड रहेको यो वर्ष पनि उस्तै देखिन्थ्यो ।
मंगलबार बिहानैदेखि बेलुकीसम्म नै पशुपति क्षेत्रमा चहल पहल थियो । काठमाडौंको पशुपतिनाथ मन्दिरका साथै देशैभरका शिवालय मन्दिरहरुमा बुधबार दिनभरी नै दर्शनार्थीहरुको भीँड रहेको थियो ।