
काठमाडौं । तपाई हामीले प्रयोग गर्ने मोबाइल नम्बर अब फोन सम्पर्क गर्नका लागि मात्रै सीमित छैन । यही नम्बरमार्फत् बैंकिङ सेवा पनि लिएका हुन्छौं । त्यसैले कुनैपनि बेला मोबाइल नम्बर परिवर्तन भयो भने त्यसको जानकारी खाता रहेको बैंकलाई तत्काल गराउनुपर्छ, नत्र परिवर्तन भएको फोन नम्बर अध्यावधिक गरिएन भने खातामा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्छ र पैसा चोरी हुनसक्छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने बैंक खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङहरु तपाइको इमेल वा मोबाइल नम्बरसँग आबद्ध गरिएका हुन्छन् । यस्तै भुक्तानी सेवा प्रदायकहरुले प्रदान गर्ने मोबाइल वालेट पनि मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएको हुन्छ ।
जसमा तपाइको खातासम्बन्धी महत्वपूर्ण विवरणहरु जोडिएका हुन्छन् । त्यसैले तपाईले मोबाइल नम्बर वा इमेल परिवर्तन गर्नुभयो भने त्यसको जानकारी सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी प्रदायकलाई गराउनुपर्छ । किनभने तपाइको बैंक कारोबारको सबै विवरणहरु मोबाइल नम्बर वा इमेलमा आउने गर्छ ।
यदि तपाईले मोबाइल नम्बर वा इमेल परिवर्तन गर्नुभयो र बैंक तथा वित्तीय संस्थामा अध्यावधिक गराउनुभएन भने कुनैपनि म्यासेज तपाइले प्राप्त गर्न सक्नुहुन्न । हिजोआज बैंकले मोबाइल नम्बरलाई स्पेसिफिक गरी कारोबार गर्न दिने भएकाले पनि परिवर्तन हुनासाथ बैंकलाई जानकारी दिनुपर्छ ।
यसैगरी आफ्नो मोबाइल फोन हराएको, चोरी भएको अवस्थामा पनि सोको जानकारी सम्बन्धित वित्तीय संस्थालाई समयमै गराउनुपर्छ । यदि जानकारी नगराएमा तपाईंको खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्छ । यस्तो हुँदा खातामा भएको पैसा चोरी हुने जोखिम हुन्छ । त्यसैले आफ्नो मोबाइल नम्बर वा इमेललाई सुरक्षित राख्नुपर्छ ।
मोबाइल नम्बर वा इमेल परिवर्तन भई अध्यावधिक नहुँदा हुने जोखिम
१. महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्छ ।
२. खाताबाट रकम चोरी हुन सक्छ ।
३. कारोबारको विवरण मोबाइल वा इमेलमा आउँदैन ।
४. कारोबारको विवरण तत्काल पाउन सकिदैन ।
५. आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्रै प्रयोग गर्नुपर्छ ।
६. बैंक वा भुक्तानी प्रदायकको आधिकारीक एप मात्रै प्रयोग गर्नुपर्छ ।
जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय संस्थालाई जानकारी गराउन विर्सिनु हुँदैन । मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र वित्तीय संस्थाले उपलब्ध गराएको आधिकारिक एप्लिकेसन मात्र प्रयोग प्रयोग गर्नुपर्छ ।