
ओखलढुङ्गा । ओखलढुंगाको रुम्जाटार विमानस्थल पुनः सुनसान बनेको छ । झन्डै ५ वर्ष पछि गत असोजबाट सञ्चालनमा आएको विमानस्थलमा केहि समय उडान भएपनि अहिले फेरी उडान अबरुद्ध भएको छ । जहाजमा आएको प्राविधिक खराबीका कारण उडान अबरुद्ध भएको बताउँदै नागरिक उड्ययन प्राधिकरणले पछिल्लो २ महिना यता एउटापनि उडान भरेको छैन ।
करिब ५ वर्षपछि ओखलढुंगाको रुम्जाटार विमान स्थलमा गत असोज २० गते समिट एअरको जहाज अवतरण भयो । नेपाल सरकारका राज्य ब्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका नेपाली कांग्रेसका नेता रामहरी खतिवडा सहित, केही बिरामी तथा सर्वसाधरण, १ दर्जनको हाराहारीमा कांग्रेसबाटै निर्वाचित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधी, नेता तथा कार्यकर्ता जहाजबाट ओर्लिए । लामो समयपछि विमान आएकोले हर्षित बनेका स्थानीले फुलमाला सहित उनीहरुलाई भब्य स्वागत गरे ।
जहाजबाट ओर्लिँदै नेता खतिवडाले अबदेखी हप्तामा २ पटक नियमित उडान हुन्छ समेत भन्न भ्याए । नेता खतिवडाका अनुसार प्रत्येक आईतबार समिट एअर र बुधबार नेपाल एअरलाईन्सको जहाजले काठमाण्डौ–रुम्जाटार–काठमाण्डौ नियमित उडान गर्ने तय भएको थियो । त्यस यता हप्तामा २ पटक नै नभए पनि नेपाल एअरलाईन्सले कहिले हप्ता दिन र कहिले १०÷१२ दिनको फरकमा ८ पटक उडान भ¥यो । तर गत पुस ३ गते रुम्जाटार विमानस्थलमा जहाज अवतरण र उडान भए यता भने उडान ठप्प भएको छ । ओखलढुंगा र आसपासका अन्य जिल्लामा समेत उडान भर्ने नेपाल एयरलाइन्सको विमानको ईञ्जिनमै खराबी आएकोले तत्कालका लागि उडान अबरुद्ध भएको बताइएको छ ।
शेष गरि जिल्लाबाट रेफर गरिएका विरामीलाई निकै राहत मिलेको थियो । त्यसकारण स्थानीय र सर्वसाधारणले भने हप्तामा एक पटक मात्रै भएपनि काठमाण्डौ–ओखलढुंगा–काठमाण्डौ उडान हुनुपर्नेमा जोड दिएका छन ।
ओखलढुंगाबाट काठमाण्डौ लगायत तराईका जिल्ला आवतजावतका लागि सडक मार्ग सहज नै छ । तर जिल्ला बाहिर तत्काल लैजानु पर्ने बिरामीका लागि भने विमान नियमित उडान नहुँदा लाखौँ खर्चेर हेलिकोप्टर नै झिकाउनु पर्ने बाध्यतात्मक परिस्थिति छ । त्यसैले पनि प्राधिकरणले विशेष चासो दिदै उडान सुचारु गर्न आवश्यक छ ।