News 24 Television
महाशिवरात्रिकाे चहलपहल पशुपतिनाथमा, साधुदेखि भक्तजनसम्मकाे लस्कर

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र झिलिमिली बत्तीसँगै भक्तिमय वातावरणमा परिणत भएको छ । लाखौँ श्रद्धालुहरूको आगमन, साधुसन्तहरूको जमघट, भजन–कीर्तनको धुन र सुरक्षाको कडा प्रबन्धका कारण पशुपति क्षेत्र अहिले विशेष रौनकमा छ ।  यस पर्वको तयारीस्वरूप आकर्षक बत्तीको झलमल, सुगन्धित फूलका आकर्षित सजावट र सुरक्षा व्यवस्थाका विभिन्न उपायहरू लागू गरिएका छन् । 
    
    महाशिवरात्रिको रौनकले पशुपति क्षेत्र झिलीमिली बनेको छ । पर्वको तयारीस्वरूप दाताको सहयोगमा शुक्रबारदेखि नै पशुपति क्षेत्रमा रंगीन बिजुली बत्तीको झिलिमिली सुरु गरिएको छ । बिजुली बत्तीको झलमल र फूलका सुगन्धित सजावटले पशुपति क्षेत्रलाई झन् आकर्षक बनाएको छ । मुख्य मन्दिर परिसरलाई भने मंगलबार बिहानदेखि मात्र फूलले सजाउने तयारी गरिएको छ । बाँदरले फूल चुँड्ने भएकाले फसलको सजावट गरिएको छैन । पशुपतिनाथ मन्दिरमा करिब ५ लाख भक्तजन दर्शनका लागि आउने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार १ करोड ५० लाख रुपैयाँको बजेट छुट्याइएको छ । पशुपति क्षेत्रका खाली भित्ताहरूमा भगवान शिव र पार्वतीका अद्भुत चित्र कोरिएका छन्, जसले वातावरणलाई अझै भक्तिमय बनाएको छ । 
    
    महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्त र जोगीबाबाहरूको भीड बढ्न थालेको छ । विशेष गरी छिमेकी मुलुक भारतलगायत विभिन्न स्थानबाट साधुसन्त पशुपति क्षेत्रमा भित्रिन थालेका छन् । महाशिवरात्रि अवसरमा पशुपति क्षेत्रमा साधुसन्तहरूको रहनसहन, ध्यान, भजन–कीर्तन तथा धुनी रमाइलो दृश्य बनाउँछ । उनीहरूलाई हेर्न र दर्शन गर्न दर्शनार्थीहरूको पनि भिड लाग्ने गरेको छ । साधुसन्तहरूको अनौठो जीवनशैली, आध्यात्मिक चर्चा र आशिर्वाद लिनको लागि भक्तजनहरू लामबद्ध हुने गरेका छन् । पर्व मनाउन आएका साधुसन्त तथा जोगी बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले भोजनसहित धुनीको विशेष व्यवस्था गरेको छ । तर, साधुसन्तहरूले व्यवस्थापामा कमजोरी पनि रहेको औल्याएका छन् । 

    
    महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा भारतबाट आउने साधुसन्त तथा दर्शनार्थीको सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । प्रचारप्रसार समितिका अनुसार सुरक्षालाई व्यवस्थित गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा पशुपति क्षेत्र विकास कोषको सुरक्षा संयन्त्र सक्रिय रहनेछ । 
–    सुरक्षाका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा विशेष व्यवस्था मिलाइएको 
–    विद्युतीय शवदाह गृह तथा किरियापुत्री क्षेत्रलगायत स्थानहरूमा कडा सुरक्षा लागू गरिने
–    भकुण्डोल क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको कमाण्ड पोस्ट रहने
–    खोजखबर कक्षको पनि व्यवस्था गरिने 
–    दर्शन मार्गहरूमा निगरानी गर्न सिसी क्यामेरा जडान गरिने 
–    गोरखनाथ, कैलाश, वनकालीलगायतका स्थानहरूमा सब–कमाण्ड पोस्ट स्थापना गरि संयुक्त सुरक्षा व्यवस्था मिलाइने
–    ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाको सहयोगमा सम्पदा मैत्री पार्किङस्थलको व्यवस्था 
–    शिवरात्रिको भीडलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा संयन्त्रलाई सतर्क रहन निर्देशन 
    
    यसैबीच, पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरणमा कडाइ गरेको जनाएको छ । गतवर्षहरूको तुलनामा महाशिवरात्रि लक्षित व्यवस्थापनमा सुधार भएको महशुस दर्शनार्थीहरूले गरेका छन् । 
    
    यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्र सफा र वातावरणमैत्री बनाउन कोषले नयाँ नियम लागू गरेको छ । मन्दिर क्षेत्रमा निःशुल्क भोजन वितरण गर्ने संघ–संस्थाहरूलाई काँच र प्लास्टिकबाट बनेका कप तथा प्लेटको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ । महाशिवरात्रिमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिर पुग्ने भएकाले सफाइलाई विशेष प्राथमिकता दिइएको कोषले जनाएको छ 
    
    यता, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र पछिल्लो समय अनियन्त्रित कंक्रीट संरचनाका कारण आफ्नो मौलिक सौन्दर्य गुमाउँदै गएको छ । ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक सौन्दर्य कंक्रीट संरचनाले बिगार्दै लगेको छ ।
    
    पशुपति क्षेत्रको व्यवस्थापन जिम्मेवारी पाएको पशुपति क्षेत्र विकास कोषले परम्परागत वास्तुकला जोगाउने प्रतिबद्धता जनाए पनि पछिल्ला वर्षहरूमा अनियन्त्रित रूपमा कंक्रीट संरचना थपिएका छन् । परम्परागत शैलीका मठ–मन्दिर, धारा, पाटी–पौवा जोगाउनुपर्नेमा कंक्रीट प्रयोग गरेर नवीकरण तथा नयाँ संरचना निर्माण गरिनु क्षेत्रको मौलिक स्वरूप नष्ट गर्ने कारक बनेको छ । कंक्रीट संरचनाले प्राकृतिक रूपमै गर्मी बढाउने मात्र होइन, जलनिकास प्रणालीमा असर पु¥याएर बागमती नदीको प्रदूषणलाई अझ बढाइरहेको छ । परम्परागत वास्तुकलालाई जोगाउनेतर्फ ध्यान दिइएन भने महाशिवरात्रि लगायतका पर्वमा पशुपतिको रौनकता र मान्यता कम हुने खतरा रहन्छ । 
    
    महाशिवरात्रिमा भक्तजनहरूको अपार भीड, साधुसन्तहरूको आध्यात्मिक चर्चा र भक्तिमय माहोलले पशुपति क्षेत्रलाई अनुपम भव्यता प्रदान गरेको छ । तर, अनियन्त्रित कंक्रीट संरचनाका कारण पशुपतिको मौलिक सौन्दर्य घट्दै जानु चिन्ताको विषय बनेको छ । परम्परागत वास्तुकला र सांस्कृतिक सम्पदाको संरक्षण नगरेमा भविष्यमा यो ऐतिहासिक क्षेत्रको पहिचान धमिलिन सक्ने खतरा छ । त्यसैले, धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने दायित्व सम्पूर्ण सरोकारवालाले लिनु आवश्यक छ । 
    
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update