
लमजुङ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा लमजुङको घले गाउँमा सिनेमा संवाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा चलचित्र क्षेत्र सम्बन्धि चार सेसनमा विभिन्न विषयवस्तु माथि गहन छलफल गरिएको हो ।
पर्यटकीय स्थान लमजुङको घले गाउँमा सिनेकर्मी, संगीतकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । कार्यक्रम थियो सिनेमा संवाद । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा घलेगाउँको खुला डाँडामा गरिएको कार्यक्रममा पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर ।
जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । यो सेसनमा सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको र यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको वक्ताहरुको जोड़ थियो ।
अर्को सेसन थियो, सिनेमामा संगीतः कति मौलिक, कति आधुनिक ? उक्त सेसनमा गफिदैँ थिए, तीन पुस्ताका कलाकार । संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत । पछिल्लो समय बनेका चलचित्र तथा गीत संगीत परिवारसँगै बसेर हेर्न नसकिने खालका र त्यहाँ प्रयोग हुने शब्द, भाषाले मौलिकता गुमाउँदै गएको कुरा चर्को रूपमा उठ्यो ।
सिनेमा संवादको तेस्रो सेसन थियो, रिलदेखि एआईसम्म । उक्त सेसनमा थिए, सदाबहार अभिनेत्री करिष्मा मानन्धर, कलाकार महेश त्रिपाठी र एनिमेटर अनिल न्यौपाने । सेसनमा एआईका कारण मानिसहरुको स्मरण क्षमता कमजोर हुँदै गएको तर मानिसको क्रियाकलापमा धेरै सहजता ल्याएको औंल्याइयो ।
सिनेमा संवादको अन्तिम सेसनमा थिए, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी । बोर्ड अध्यक्ष डिसीले चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको हुँदा २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै चलचित्र ऐन आउने र आगामी वैशाखदेखि देशभरका हलहरुमा रियल बक्स अफिस हुने बताउँछन् ।
पछिल्लो समय चलचित्र क्षेत्र अव्यवस्थित रहेको गुनासो आइरहेको छ । चलचित्र क्षेत्र सुधारका लागि भन्दै विभिन्न कार्यक्रम पनि हुँदै आएका छन् तर त्यस्ता कार्यक्रम लक्षित समूहमै नपुग्ने भएकोले चलचित्र क्षेत्र झन् पछाडि परेको कलाकार माओत्से गुरुङ बताउँछन्
चलचित्र पत्रकार संघ कास्कीले यसअघि पनि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ । विषेशगरी चलचित्र क्षेत्र विकासका लागि कार्यक्रम गर्ने संस्थाले चलचित्र क्षेत्र बुझाउन र पर्यटन प्रबर्धन गर्ने हेतुले ’सिनेमा संवाद’ कार्यक्रम गरिदै आएको चलचित्र पत्रकार संघ कास्कीका कार्यवाहक अध्यक्ष अर्पण तिवारी बताउँछन् ।
हाल नेपाली फिल्म उद्योगले प्रविधि, कथा वस्तु, बजार व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाजस्ता विभिन्न चुनौतीहरूसँग जुधिरहेको छ । चलचित्र क्षेत्रमा देखिएका धेरै समस्यालाई हटाउन नियमित छलफल र संवाद आवश्यक दखिन्छ ।