News 24 Television
वामदेवको सुझाव ज्ञानेन्द्रलाई– ‘प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास गर्नुस्’

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवस (फगुन ७) को पूर्वसन्ध्यामा जारी गरेको एक भिडियो सन्देशले नेपालको राजनीतिक क्षेत्र राम्रैसँग तरंगित भयो । पूर्वराजाले एउटा जुँगा हल्लाएकै भरमा हल्लिने नेपालको वर्तमान सत्ता कति कमजोर जगमा अडिएको छ भन्ने कुरा पुनः प्रस्ट भएको छ । पूर्वराजा शाहको सन्देशमा देशको समृद्धि र उन्नतिका लागि आफूलाई पुनः साथ दिन देशवासीलाई आग्रह गरिएको छ । आफूले गणतन्त्र ल्याउनका लागि त्याग गरेको स्मरण गर्दै तर गणतान्त्रिक व्यवस्थाले पनि राष्ट्रिय समस्या समाधान हुनुको साटो मुलुक झन कमजोर भइरहेको उनको भनाइ छ । अब ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन उनले नेपाली जनतामा आह्वान गरेका छन् । उनको उक्त आह्वानप्रति सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले विभिन्न टिप्पणी गर्ने क्रम जारी छ ।

यसै क्रममा सत्तारुढ नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदमा बोल्दै पूर्वराजालाई चुनाव लडेर आउन चुनौती दिएकी छन् । पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै उनले आपत्ति समेत जनाइन् । वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरु नै समाजमा अराजकता फैलाइरहेको उनको भनाइ छ । उनले पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्था नै ठिक छैन भनेर डंका पिटिएको टिप्पणी गरिन् । पूर्वराजाको पुनः सत्तामा फर्किने चाहना भए टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्न आग्रह गरिन् ।

यस्तै राष्ट्रिय सभाका सांसद वामदेव गौतमले समेत पूर्वराजा शाहलाई निर्वाचनमा भाग लिएर सत्तामा आउन चुनौती दिएका छन् । गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक प्रणाली स्वीकारेर प्रधानमन्त्री बन्न शाहलाई दिए । राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित नहुने तर्क गर्दै उनले चुनाव लड्न शाहलाई सुझाव दिएका हुन् । आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराई २०८४ को निर्वाचनमा भाग लिन रसंसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास गर्न उनको आग्रह छ । राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राजपरिवारकै व्यक्ति भएको र राजा वीरेन्द्रको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरु भएको स्मरण समेत उनले गराएका छन् ।

सत्तामा फर्कने पूर्वराजाको सन्देशलाई राप्रपाले स्वागत गर्दै पुनः नयाँ क्रान्तिको सुत्रपात गर्नुपर्ने धारणा बनाएको छ । यद्यपि गणतन्त्र पक्षधर पार्टी र नेताहरुले पूर्वराजाको सन्देशलाई आलोचनात्मक टिप्पणी गरिरहेका छन् । पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरु फेरि सल्बलाउन थालेको टिप्पणी गरे । अहिले देशमा राजनीतिक परिस्थिति चुनौतिपूर्ण रहेको, सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा आक्रोश–असन्तुष्टि पोखिँदै गएको उनको भनाइ छ । सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवास्वप्ना देख्ने गरेको उनको टिप्पणी छ ।

यद्यपि सत्तारुढ काँग्रेसकै महामन्त्री गगन थापाले अभिव्यक्ति स्वतन्त्रता पूर्वराजालाई पनि भएको भन्दै उनको सन्देशलाई स्वाभाविक रुपमा लिएका छन् । पूर्व प्रधानमन्त्री एवं नेसपाका अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा शाहको अभिव्यक्तिले सीमा नाघेको र संविधानविरोधी भएको भन्दै उनलाई सरकारले नियन्त्रणमा लिनुपर्ने बताएका छन् । बाबुरामको भनाइको खण्डन गर्दै गगनले बोलेकै कारण पूर्वराजालाई पक्राउ गर्न वा मुख थुन्न सरकार र सत्तारुढ दलहरु नजाने बताएका हुन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update