
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरेपनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताएका छन् ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोईरालाले नेपाली काँग्रस सत्ता पक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर कतिपयले काँग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट शुरु भएको अनुमान गरेका थिए ।
सांसद कोईरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभएर पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पारेका छन् । उनले आगामी निर्वाचनमा पनि एमाले नै काँग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताए ।
देश, लोकतन्त्र र काँग्रेस अफ्ठ्यारोमा पर्ने
नेता कोईरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताए । तोकिएको समयभन्दा पछि धकेलेर अधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने उनकाे भनाइ छ ।
सांसद कोईरालाले भने, ‘नेपाली काँग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने हामी नेपाली काँग्रेसका धेरै कार्यकर्ताहरुको इच्छा छ । ४ वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली काँग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनैपनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरुको तर्क छ, त्यसले नेपाली काँग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ । नेपाली काँग्रेसमा ग्रुपिजमहरु छ । अधिवेशनको बेलामा प्यानलहरु बन्छ तर यो कुराहरु अहिले धेरै छिटो भयो भन्ने लाग्छ । मैले त्यसरी भन्न खोजेको होइन । हामी एमाले र नेपाली काँग्रेसको सरकार छ । करिव करिव दुई तिहाईको सरकार छ । दुई तिहाईको सरकार चलाउँदा नेपाली काँग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिष्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ । जो साथीहरु मन्त्रीमण्डलमा सरकारमा जानुभएको छ, ति साथीहरुले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छाँै तर बाहिर छौँ । हामी प्रतिष्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ यो सरकारलाई ता की सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो ।’
कोईरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएकोमा जाेड दिएका छन् । - न्यूज एजेन्सी नेपाल