News 24 Television
नेपालका उद्योगी विदेश कब्जाको तयारीमा ! 

काठमाडौं । नेपाल टायल उत्पादनमा आत्मनिर्भरताको बाटोमा अग्रसर भएको छ । उद्योगीहरुको दाबी अनुसार अब टायलमा भारतको भर पर्नु पर्ने छैन । मुलुकलाई आत्मनिर्भर मात्रै होइन, अन्य मुलुकमा टायल निर्यात गर्ने योजनामा छन् उद्योगीहरु । 

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी जारी  छ । यस प्रदर्शनीमा सहभागी उद्यमीहरुका कुरा सुन्ने हो भने उनीहरुले नेपालमा टायल उद्योगको सम्भावना निकै राम्रो देखेका छन् । 

नेपाल टायलमा आत्मनिर्भर बन्दै गएको दाबी उत्पादकहरुले गरेका छन् । नेपालमा हाल ६ वटा टायल उद्योगले टायल उत्पादन गरिरहेका छन् । यि नै उद्योगले टायलमा नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको उद्योगिहरुको दाबी छ ।

गत वर्षसम्म भारतबाट १४ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेकोमा यस वर्षदेखि ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने दाबी उनीहरुको छ । स्वदेशी उत्पादन फस्टाएकाले मूल्यमा पनि २० देखि ३० प्रतिशत घटे बताउछन् उद्योगीहरु ।

नेपालको टायल उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति देखाउने समय आएको उद्योगीहरुको भनाई छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा टायल उत्पादन भइरहेकाले उनीहरुले भारत, चीन, अमेरिकालगायत युरोपिएन देशहरुमा समेत निर्यातका लागि योजनाहरु समेत बनाइरहेको दाबी गर्छन् । 

आफ्नो कम्पनी नेपालबाट भारतमा टायल निर्यात गर्ने पहिलो कम्पनी बनिसकेको भन्दै दैनिक १८ हजार स्क्वाएर फिट टायल उत्पादन गरिरहेको निमाटो प्रा.लि.का निर्देशक जयश जैन बताउछन् । 

यता, नेपाल सेरामिक्सका सञ्चालक शम्भुनाथ झाले टायल निर्यातका लागि प्लान्ट थप्ने तयारी गरिरहेका छन् । अहिलेको प्लान्टमा उत्पादन भइरहेका टायल स्वदेशकै माग धान्न ठिक्क भएको उनको भनाइ छ । भारत र चीनमा गएर कच्चा पदार्थका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर नेपालमा टायल उद्योग शुरु गरेको बताउँदै उनी नेपालको वार्षिक टायलको माग २ हजार हरोड रहेकाले पाँचदेखि ६ वटा उद्योग राम्रोसँग चल्नसक्ने बताउछन् ।

यसरी हेर्दा केही वर्षअघिसम्म एकाधिकाररुपमा भारतबाट आयात हुने टायल हाल स्वदेशकै उत्पादनले आत्मनिर्भर बन्न थालेको छ । नेपालमा उद्योग स्थापनाले स्थानीयले रोजगार पाउने मात्र नभइ विदेशी मुद्रा पनि विदेशिनबाट जोगिएको छ । 

टायल उद्योगलाई थप उत्पादनशिल बनाएर निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको पनि महत्वपूर्ण स्रोत बन्नसक्ने देखिन्छ । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update