
काठमाडौं । कम्प्युटर, मोबाइल र कार्डजस्ता विद्युतीय उपकरणहरुको प्रयोग गरी इन्टरनेटको माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीका कारण नगद र चेक बोक्नुपर्ने बाध्यता हटेको छ ।
आजकाल भुक्तानीका लागि सबैभन्दा बढी मोबाइलको प्रयोग हुन थालेको छ । आजभोली अधिकांसले मोबाइल बैंकिङ वा मोबाइल वालेट एपमार्फत कारोबार गर्न गर्छन् । यी दुई एप हेर्दा र प्रयोग गर्दा उस्तै लाग्छ तर दुवैका विशेषता भने फरक–फरक छन् ।
भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकका नाममा जारी गर्ने विद्युतीय खाता वालेट हो । वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था वा एजेन्टबाट आफ्नो वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिदवापत रकम भुक्तानी गर्न सकिन्छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकका लागि स्मार्ट फोन वा ट्याबलेट जस्ता मोबाइल यन्त्र प्रयोग गरेर कारोबार गर्न दिएको एप मोबाइल बैंकिङ हो । मोबाइल बैंकिङ आफ्नो बैंक खातासँग सम्बन्धित हुन्छ भने मोबाइल वालेट भुक्तानी सेवामा मात्र प्रयोग हुन्छ ।
नेपालमा ई–सेवा, खल्ती, नमस्ते पे लगायत २६ वटा मोबाइल वालेट उपलब्ध छन् । त्यस्तै २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीले मोबाइल बैंकिङ कारोबारका लागि मोबाइल एपको सुविधा दिएका छन् । मोबाइल बैंकिङ र मोबाइल वालेट दुवै एपको प्रयोगबाट चल्ने भएकाले मानिसहरुले यसलाई एउटै मान्ने गर्छन । तर यी दुवै एप फरक प्रकृति र भुक्तानीको विधिलाई आधार मानेर विकास गरिएको हुन्छ ।
वालेट र मोबाइल बैंकिङबीच के फरक छ ?
१. मोबाइल बैंकिङ बैंक खातासँग सम्बन्धित हुने भएकाले ग्राहकले ब्याज पाउँछन, मोबाइल वालेट भुक्तानी सेवा मात्रै भएकाले ब्याज पाईंदैन ।
२. बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ र भुक्तानी सेवा प्रदायकले मोबाइल वालेट उपलब्ध गराउँछन् ।
३. मोबाइल बैंकिङमा धेरै रकम राख्न मिल्छ भने मेबाइल वालेटमा मिल्दैन ।
खाता खोल्न र प्रयोग गर्न सजिलो भएकाले वालेटको प्रयोग बढ्दै गएको छ । सानो रकम पठाउन, रिचार्ज गर्न वालेटको अत्याधिक प्रयोग हुन्छ । मोबाइल बैंकिङबाट तुलनात्मकरुपमा वालेटबाट भन्दा धेरै कारोबार गर्न सकिन्छ ।
मोबाइल बैंकिङ आफ्नै बैंक खातासँग जोडिने भएकाले खातामा रहेको पैसा जाँच गर्न, स्टेटमेन्ट हेर्न पनि सजिलो हुन्छ । मोबाइल बैंकिङ एप र मोबाइल वालेट एपबाट हुने कारोबारका लागि भने राष्ट्र बैंकले सीमा तोकिदिएको छ ।