News 24 Television
माधवले बाध्यताले बोल्ने वाक्य ‘कसैसँग एकता हुन्न’

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक चलिरहेको छ । पार्टी विभाजनलाई सहि भनिरहेका माधव नेपालले पार्टीलाई चलायमान बनाउन सकेका छैनन् । उनको पार्टीबाट अन्य पार्टीमा जानेहरुको लर्को लागि रहेकै छ । तर, उनी अहिले पनि एकता कसैसँग नहुने किन भनिरहेका छन् त ?

माधव नेपालले यस्तो भन्ने गरेको लामो समय भइसक्यो । उनी पार्टी एकताको विषयमा किन यस्तो सुनिने गर्छन ? धेरैले शंका गर्ने गरेका छन् । भित्रभित्रै माओवादी केन्द्रसँग एकताको छलफल र बहस चलिरहे पनि माधव नेपालले यस्तो भन्नैपर्ने बाध्यता देखिन्छ । तर, प्रचण्ड भने समाजवादी मोर्चा हुँदै एकताको छलफल सकारात्मक बनेको जिकिर गरिरहन्छन् । 

प्रचण्डले मात्रै नभई वर्षमान पुनले समेत पुर्व पुगेर नेकपा एकीकृत समाजवादीसँग एकताको छलफल चलिरहेको भनेका थिए । तर, माधव नेपालले एकताको विषयलाई अस्वीकार गरिरहेका छन् । तर, योसँगै प्रचण्डसँगको दूरी कम गर्नलाई भएपनि उनले केहि राजनीतिक काममा प्रचण्डको नाम लिने गर्छन् । 

माधव नेपालले यस्तो दाबी गर्दै गर्दा समाजवादी मोर्चाको निर्माण नै पार्टी एकताको पूर्वअभ्यास भएको प्रचण्डले भन्ने गरेका छन् । 

समाजवादी मोर्चा पार्टी एकताको स्वरुप भन्ने भाष्यप्रति भने झलनाथ खनाल सन्तुष्ट देखिदैनन् । खनाल समाजवादी मोर्चाको औचित्यमाथि नै प्रश्न गरिरहन्छन् । 

उसोतः प्रचण्डले यस्तो बताउदै गर्दा नेकपा एकीकृत समाजवादीले केन्द्रिय समिति बैठकबाटै निर्णय गरेर एकताको निम्ति ढोका बन्द गर्ने गरेको भन्ने गर्छ । पहिले पार्टीलाई सुदृढ पार्नेमै जोड दिने निर्णय लिने गरेको देखिन्छ । 

यसरी एकताको विषयमा चल्ने अनेक जुहारीकाबीच किन माधवलाई तनाव आइपर्ने गरेको छ ? यो विषयमा अनेक चासो र चर्चा चल्ने गरेको देखिन्छ । 

माधवलाई परेको आपत

माधव नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नजिक छन् । उनले प्रचण्डसँग एकता गर्न कुनैपनि विमति राख्दैनन् । तर, उनको केन्द्रिय समिति भने यसको पक्षमा खुलेर उभिने स्थिति छैन । झलनाथ खनाल पक्षका नेताहरु माधव नेपालको माओवादी केन्द्रसँगको हिमचिममा शंका गर्छन् । माओवादीमा जानुभन्दा बरु एमालेमै फर्किनुपर्ने मत उनीहरु राख्छन् । एमालेमा फर्किदा खास समस्या नहुने भन्ने नेताहरुको ठूलो जमात छ । यता, केहि सांसद र नेताहरु पार्टी विभाजन गराएरै भएपनि एमाले फर्किने भन्दै सम्वादमा छन् । सांसद प्रेम आले त पार्टीमा निष्क्रिय नै देखिन्छन् । 

कृष्णकुमार श्रेष्ठ ’किसान’ पनि केन्द्रिय समिति बैठकमा उपस्थित छैनन् । यसले नेकपा एसभित्र ठूलो उकुसमुकुस देखिएकोमा शंका छैन । त्यसैले पनि विस्फोट रोक्नकै लागि पनि माधव नेपालले एकता नहुने भन्नु परेको स्थिति छ । 

माओवादीसँग एकतामा जाने निर्णय भएमा धेरै नेता र सांसदहरुले एमाले रोज्ने स्थिति बन्ने ठानेका माधव पार्टीभित्र पहिरो नजाओस् भन्नका लागि पनि एकताको सम्भावना नरहेको दाबी गर्ने गर्छन् । तर, ०८४ को निर्वाचनको पूर्वसन्ध्यामा भने एकताको चर्चा थप खुल्ने नेताहरुको दाबी छ । 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update