
काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफ्नै सहपाठी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि असुरक्षित महशुस गर्दै स्वदेश फर्कनुपरेको बताइरहेका छन् ।
विश्वविद्यालय प्रशासन र सुरक्षाकर्मीको व्यवहार असहज बनेपछि उनीहरू अहिले आफ्नै भविष्यप्रति अनिश्चित बनेका हुन् । सुरक्षित भविष्यको खोजीमा उनीहरू फेरि सोही कलेज फर्किन बाध्य छन् । तर, फेरि पनि हिंसात्मक दमनको जोखिम झेल्नुपर्ने त होइन ! उनीहरुमा त्रास मानसिकता भने देखिन्छ ।
भारतको केआईआईटीमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतिले विद्यार्थीको मानसिकतामा नै खलल ल्याइदिएको छ । फेरि पनि हिंसात्मक दमनको जोखिम झेल्नुपर्ने त होइन ! उनीहरुमा त्रास मानसिकता देखिन्छ । तर पनि आँट गरेरै उनीहरु आँखामा चस्मा, अनुहार छोप्ने मास्क र ज्याकेटको टोपीले अनुहार ढाकेका ११ जना नेपाली विद्यार्थी शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्न आइपुगे ।
उनीहरू भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत छन् । तर, अहिले स्वदेश फर्किन बाध्य भएका छन् । केआईआईटीकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि नेपाली विद्यार्थीहरू त्रासमा छन् ।
कलेज प्रशासन र भारतीय प्रहरीको व्यवहार असहज भएपछि उनीहरू नेपाल फर्कन थालेका हुन् । पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म विभिन्न मार्ग हुँदै १ सय ५९ नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।
पत्रकार सम्मेलन गरेका उनीहरूले आफूहरू पुनः कलेज फर्किनुपर्ने बाध्यता रहेको र त्यहाँ हिंसात्मक आक्रमण हुन सक्ने डरले अनुहार देखाउन नमानेको बताए । आफूहरुले सरकारबाट कुनै पनि आशा नगरेको र कलेजले यातना दिने भन्दै मास्क नखोल्ने र परिचय पनि नदिने बताए ।
गत आइतबार दिउँसो २ बजे भुवनेश्वरको पटिया क्षेत्रस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी लम्सालको रहस्यमय मृत्यु भयो । तर, न्यायको माग गर्ने नेपाली विद्यार्थीहरूमाथि निर्घात कुटपिट गरियो ।
झन्डै पाँच सय नेपाली विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तर, विश्वविद्यालय प्रशासन र सुरक्षाकर्मीले उनीहरूलाई तितरबितर पार्ने नाममा हिंसात्मक दमन गरे । कुटपिटपछि तिनीहरूलाई जबरजस्ती विभिन्न रेलवे स्टेशनहरूमा छोडियो ।
अन्य देशका विद्यार्थीहरु पनि त्यहाँ पढ्ने गरेको तर आफूहरु नेपाली भएकै कारण यस्तो अपमान सहनुपरेको महशुस उनीहरूले गरेका छन् ।
विद्यार्थीहरूले कलेज प्रशासनले आफूहरूलाई पशुजस्तै कुटपिट गरेको बताएका छन् । नेपाल फर्किएका विद्यार्थीहरूका अनुसार उनीहरू आफ्नो पढाइका लागि पुनः सोही विश्वविद्यालयमा जान बाध्य छन्, तर त्यहाँ आफूहरू सुरक्षित नरहेको अनुभव गरेका छन् । उनीहरूको भनाइमा, जुनसुकै परिस्थितिमा पनि फेरि कुटिनुपर्ने खतरा रहन्छ ।
यसैबीच, श्रीवास्तवसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सरकारको तर्फबाट घटना मिलिसकेको भनिए पनि विद्यार्थीहरूले आफूहरूसँग कुनै वार्ता नगरिएको गुनासो गरेका छन् ।
विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीहरूले प्रशासनसमक्ष निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए ।
मृतक छात्रा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका विद्यार्थी अड्विक श्रीवास्तवले ‘ब्ल्याकमेलिङ’ गर्दै मानसिक यातना दिएको आरोप छ । लम्सालको पार्थिव शरीर गृह जिल्ला रुपन्देही ल्याइ स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिसकिएको छ । तर, प्रकृतिको मृत्युमाथि समेत खेलवाड गर्दै भारतीय कलेजले दिएको मानसिक घाउले नेपाली विद्यार्थी हतासमै छन् । सरकारले पीडित विद्यार्थीलाई व्यवहारिक पक्षमा सहज बनाउनेतर्फ उचित कदम चाल्ने कि ?