
काठमाडौं । साप्ताहिक मिडिया ब्रिफिङमार्फत् नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्युमा भारतीय विदेश मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युमा समवेदना व्यक्त गर्दै दोषीलाई कारबाही गरिने बताएका छन् ।
भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी दुई देशबीचको सम्बन्धको विशेष आधार रहेको बताउँदै उनले विदेशी विद्यार्थीको सुरक्षाका लागि आवश्यक सबै कदम चालिने प्रतिबद्धता पनि जनाए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताएका छन् । शुक्रवार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा सञ्चारकर्मीले सोधेको प्रकृति लम्साल प्रकरणको प्रश्नमा जवाफ दिदै उनले नेपाली विद्यार्थी दुई देशबीचको सम्बन्धको विशेष कडी भएको प्रवक्ता जयसवालले बताए ।
भारतमा नेपाली विद्यार्थीको सुरक्षाका लािग सबै आवश्यक कदम चालिने पनि उनले प्रतिवद्धता जनाएका छन् । ओडिसा राज्यको केआइआइटी कलेजमा मृत्यु भएकी प्रकृति लम्सालप्रति समवेदना प्रकट गर्दै उनले दोषीलाई भारतीय कानूनअनुसार सजाय दिने बताए ।
प्रकृृतिको मृत्युपछि ओडिसा सरकार, प्रहरी र नेपाली अधिकारीहरुसँग पनि निरन्तर सम्पर्कमा रहेको उनले बताए । घटनाका आरोपी र मुख्य अभियुक्तहरुलाई पक्राउ गरि सकिएको पनि उनले जानकारी दिए । त्यस्तै ओडिसा राज्य सरकारले पनि यो घटनामा उच्च स्तरीय छानविन समिति बनाएर अनुसन्धान गरिरहेको उनले बताए । समितिको प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गरिने उनले जिकिर गरे ।
नेपाल फर्किएका विद्यार्थीहरुलाई कलेजमा पूर्ववत् अवस्थामै फर्काउनका लागि ओडिसा सरकारले नै पहल गरिरहेको पनि उनले जानकारी दिए । विद्यार्थीको सुरक्षा र अध्ययनका लागि ओडिसा सरकारले नै सुनिश्चिता दिने बताउँदै त्यहाँको स्थानीय र राज्य प्रहरीले नेपाली विद्यार्थीका लागि सातै दिन २४ सै घण्टा हेल्प लाइन सेवा दिने पनि उनले उल्लेख गरे ।
गत आइतवार ओडिसास्थित केआईआईटीमा बिटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु भएको थियो । उनको संकास्पदरुपमा मृत्यु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले सत्यतथ्य छानविनका लागि माग गर्दै प्रदर्शन गर्दा उनीहरुमाथि कलेज प्रशासनले धरपकड र कलेज छाड्न उर्दी गरेको थियो । त्यसपछि नेपाली विद्यार्थी भारतमै अलपत्र परेको खबर बाहिरिएपछि भारतीय कलेजको रवैयाको चौतर्फि आलोचना भएको थियो ।