News 24 Television
पूर्वराजाको सन्देशले तरङ्गित राजनीति (भिडियोसहित)

काठमाडौं । विगतमा औपचारिकताका लागि मात्रै सुभकामना तथा बक्तव्य जारी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय राजनीतिक संक्रियताको संकेत दिइरहेका छन् । कहिले अभिनन्दन ग्रहण त कहिले धार्मिक गतिविधिका लागि देशव्यापी भ्रमण गरिरहेका ज्ञानेन्द्र त्यस्ता कार्यक्रमहरुमा आफूप्रतिको जनआकर्षण देखेर प्रभावित पनि हुने गरेका छन् ।  
    
खासगरी भीडको हुटिङ र  नाराले प्रभावित हुुने गरेका उनी बेलाबखत देश बचाउनका लागि जनताले आफूलाई नै बोलाइरहेको भान गर्दै ‘राजा आउ देश बचाउ’ भन्दै आफ्नो पक्षमा नारा लागेको विषयलाई पनि अभिव्यक्त गरिरहेका हुन्छन् । विगतमा यतिमा मात्रै सिमित रहेका पूर्वराजाले यस वर्षको प्रजातन्त्र दिवासको पूर्वसन्ध्यामा भने एक भिडियो सन्देश जारी गरेरै वर्तमान व्यवस्था र जनताको  अवस्थाबारे टिप्पणी नै गरे । 

उनले हालको साशन पद्धति र राजनीतिले मुलुकमा निरासा नै निरासा पैदा गराएको आरोप लगाउँदै आफूले विगतमा जनताका लागि गरेको त्यागलाई नजरअन्दाज नगर्न चेतावनीसमेत दिएका छन् ।  

राष्ट्र र जनताका लागि आफ्नो ओहोदा तथा सुख सुविधालाई नै त्याग गरेको दावी गरिरहेका उनले राजनीतिक हस्तक्षेप गर्ने सम्मको संकेत गरेका छन् । वर्तमान व्यवस्थाप्रति पटक्कै चित्त नबुझाएका ज्ञानेन्द्रले अब सोच्ने बेला आएको र देश बचाउनका लागि आफूलाई साथ दिन तयार रहन जनतालाई आह्वान गरेका छन् । 

राजतन्त्रको अन्त्य भएको दुई दशक हुनै लाग्यो यसको अन्त्यसँगै स्थापित गणतन्त्रात्मक व्यवस्थाले नेपाललाई संघीयता, समावेशीता र धर्मनिरपेक्षताजस्ता विशेस्ताहरुसँग जोडेको छ । यहीबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने पूर्वराजाको सन्देशलाई स्वागत गर्दै राजसंंस्था चाहने शक्तिहरुलाई एकीकृत गर्नसमेत सघाउन पुगेको दावी गरेको छ । ज्ञानेन्द्रको सन्देशले राजसंस्था पुनःस्थापना गर्ने आफूहरुको एजेण्डामा थप बल पु¥याएको भन्दै राप्रपा भने उत्साहित छ । 

राजसंस्थाको एजेन्डा लिएर राजनीति गरिरहेका दलहरु पूर्वराजाको सन्देशले उत्साहित भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने राणा र राजतन्त्रात्मक व्यवस्थाप्रति खरो आलोचना गर्छन् । 

यस्तै प्रधानमन्त्री ओली लोकतान्त्रिक व्यवस्थाबाट नेपालमा उल्लेखनीय सकारात्मक परिवर्तनहरु भएको दावी गर्दै मुलुकमा लोकतन्त्रले नै अधिकार, अवसर, समानता,  सामाजिक न्याय र सुरक्षा कायम भइरहेको दावी गर्छन् । 

पूर्वराजाको सन्देशले तरङ्गित राजनीति 

पूर्वराजाबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आएको भिडियो सन्देशले हालको व्यवस्थामाथि गम्भीर प्रश्नसमेत उठाइरहेको छ । मुलुकमा देखिएको बेरोजगारी, युवा जनशक्तिको पलायन तथा भ्रष्टाचारको बढ्दो ग्राफले पनि वर्तमान व्यवस्थाको विकल्पतर्फ जनताको ध्यान जानसक्ने त्रास नेताहरुमा छन । यही अवस्थामा गणतन्त्र पक्षधर नेताहरुसमेत पूर्वराजालाई जवाफ दिन बाध्य बनेको देखिन्छ । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राजतन्त्रात्मक व्यवस्थाप्रति टिप्पणी गर्न भ्याए । त्यस्तै अन्य नेताहरुले पनि पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिको जवाफ फर्काएका छन् । 

को कस्ले के भने ? 

प्रजातन्त्र दिवसकै अवसरमा बोलेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी आन्दोलनसँगै जोडेर राजतन्त्रको पनि विरोध गरेका छन् । 

उनले २००७ सालमा प्रजातन्त्र आएपछि पहिले राजा र त्यसपछि माओवादीे हिंसाले नेपालको एक पुस्ता नै खेर गएको टिप्पणी गरेका हुन् । त्यस्तै नेकपा एमाले महासचिव शंकर पोखरेले पनि ज्ञानेन्द्रको अभिव्यक्तिलाई लिएर परिवर्तन मास्नका लागि पूर्वराजालाई उचाल्ने काम भइरहेको आरोप लगाएका छन् । करिब २ दशकअघि नै राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएपनि फेरि पश्चगामीहरूले पूर्वराजालाई वक्तव्य जारी गर्न लगाएर उचाल्ने काम गरिरहेको टिप्पणी गरेका हुन् । 

 तर, गणतन्त्रवादीहरुले यस्तो दावी गरेपनि व्यवस्थाको परिवर्तनले मात्रै जनता सन्तुष्ट र मुलुक समृद्ध हुने अवस्था छैन । मुलुकको खास परिवर्तनका लागि जनताको खुसी र सहज दैनिकीलाई आधार मान्न सकिन्छ । तर मुलुकमा गणतन्त्र स्थापना भएको दुई दशक पुग्न लाग्दा पनि जनताको अवस्थामा खास परिवर्तन देखिएको छैन ।  

मुलुकमा बढ्दो भ्रष्टाचार, वेथिति, अनियमितता र पछौटेपनाले गणतन्त्रको झनै बदनाम हुने अवस्था आएको देखिन्छ । पछिल्लो समय बढ्दो राजनीतिक अस्थिरताले मुलुकलाई अझ संकटतर्फ धकेलिरहँदा गणतन्त्रको जपले मात्रै देश बन्दैन भन्ने जनताको चेतनालाई पनि आजका शासकहरुले सोच्नुपर्ने बेला आएको छ । नत्र मुलुक र जनताले गणतन्त्रको विकल्पमा राजतन्त्र नै रोज्ने अवस्था नआउँला भन्न सकिने अवस्था छैन । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update