
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक अपिलपछि राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको अराजकता छताछुल्ल भएको छ । राप्रपाले सांगठनिक अराजकतालाई रोक्न नसकेको चर्चा ज्ञानेन्द्रको अपिलपछि थप छरपष्ट बनेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र राजावादी धारमा को कति कट्टर भन्ने चर्चा चल्ने गरेको देखिन्छ । राजा फर्काउने आन्दोलनको पक्षमा चल्ने छलफल बहसमा समेत कट्टर राजावादी र नरम राजावादीबीचको रोचक जुहारी चल्ने गरेको देखिन्छ ।
यस्तोमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देशमार्फत देशका लागि अब जनताले आफूलाई साथ दिनुपर्ने भन्दै अपिल गरेपछि स्थिति फेरिन थालेको छ । पहिले ज्ञानेन्द्रको यो अपिल हेरौं ।
ज्ञानेन्द्रको यो अभिव्यक्ति सायदै राजावादी भनिएका दलहरुलाई जानकारी थियो । तर, पुर्वराजाले यस्तो अपिल गरेपछि राजावादी नेताहरुको सक्रियता र कट्टरपन्थीता देखाउने होड भने चर्किएको छ । यस्तोमा के हुँदैछ त राप्रपाभित्र ?
के गर्दैछ राप्रपा ?
पूर्वराजाले गरेको अपिललाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै समान विचार भएका दलहरु मिल्ने र राजसंस्थाबारे निर्णायक कदम चाल्ने समय आएको भनिसकेका छन् ।
लिङ्देनले यस्तो भन्नुअघि नै राप्रपाका नेताहरुले सामाजिक सञ्जालमार्फत अनेक पोस्टहरु सेयर गरिसकेको देखिन्छ । जसमा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, ज्ञानबहादुर शाही लगायतका नेताहरुले ज्ञानेन्द्रको अपिललाई ठूलो उपलब्धिको रुपमा लिएका छन् भने अर्का हार्डलाइनर राजावादी राप्रपाका महामन्त्री धवलशमशेर राणाले विज्ञप्ति नै जारी गरे ।
यतिमै नरोकिएका उनले सबै जिल्लामा ज्ञानेन्द्रको अपिललाई समर्थन गर्दै दीप प्रज्वलनको आह्वान गरेका छन् । यसले पनि राप्रपाभित्र को कट्टर राजावादी भन्ने होड थप चर्किएको देखिन्छ । यसरी हौसिएको राप्रपाले फागुन १५ गते केन्द्रिय कार्यसम्पादन समितिको बैठक समेत डाकेको छ । त्यो बैठकले ज्ञानेन्द्रको अपिलबारे छलफल गर्ने भनिएको छ ।
सांगठनिक अराजकतामा राप्रपा
राप्रपाका अध्यक्षले नै सार्वजनिक अभिव्यक्ति दिएपछि एकपछि अर्को गर्दै वक्तव्य, दीप प्रज्वलनको व्यक्तिगत अपिल र राजा फर्काउने आन्दोलन नयाँ चरणमा प्रवेश गरेको भन्दै देखाएको सक्रियतामा राप्रपाभित्रको अराजकता भने छताछुल्ल बनेको छ ।
यसअघि पनि राप्रपाका महामन्त्री धवलशमशेर उपचारका लागि भारतमा रहेको बेला संगठन विभागको जिम्मेवारीबाट जबरजस्ती हटाइएको भन्दै चर्को मतभेद चलेको थियो ।
धवलले विरामी नै हुन नपाउने हो र भन्दै प्रश्न समेत गरेका थिए भने फरक राजनीतिक प्रस्ताव ल्याएर अध्यक्ष राजेन्द्र लिङ्देनमाथि प्रहार गरेका थिए । तर, बैठक सकिने बेला दुबै नेताहरुले मिलाप भइसकेको दाबी गरेपनि ज्ञानेन्द्रको अपिलपछि फेरि राजनीतिक र सांगठनिक अराजकताका साथ उनीहरुले सक्रियता देखाउन थालेका छन् । जुन विषयमा धवललाई साथ दिने धेरै नेताहरुले आन्तरिक गृहकार्य गरिरहेको बताइन्छ ।
ज्ञानेन्द्रले नदिएको जानकारी
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपासँग खास सल्लाह गर्ने गरेका छैनन् । राजतन्त्रको पक्षमा वकालत गर्ने दल भएपनि ज्ञानेन्द्रले पछिल्लो समय राप्रपाको एक पक्षलाई मात्रै बोलाउने गरेको समेत बताइन्छ । यस्तोमा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिले राप्रपाभित्र देखिएको जोश जस्तो भएपनि उनले यो विषयमा राजावादी दललाई नै कुनै जानकारी नदिएको बताइन्छ ।
जनतासँग अपिल गर्ने विषयमा राप्रपाले आफै एजेण्डाको रुपमा यो विषयलाई लिनुपर्ने धारणा ज्ञानेन्द्रले राख्ने गरेको कतिपयले बताउने गरेका छन् । तर, राजाको पक्षमा वकालत गर्नेमाथि नै किन सूचना संप्रेषण गरिदैन भन्ने सवाल भने अनुत्तरित नै देखिन्छ ।