
पर्सा । मधेश प्रदेशमा पछिल्लो समय अस्पतालको संख्यामा जसरी वृद्धि हुँदैछ, त्यसरी नै विभिन्न समस्याहरु पनि देखिन थालेका छन् । प्रदेशमा रहेका कतिपय अस्पतालहरु मापदण्ड पुरा नगरी नै सञ्चालनमा छन् । यस्ता गुनासोहरु र मापदण्डबिना खोलिएका अस्पतालहरुका कारण उत्पन्न समस्याबारे गुनासोको चाङ लाग्न थालेपछि प्रदेश सरकारले सक्रियता बढाएको छ ।
अहिले प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठै जिल्लाका अस्पतालहरुमा छड्के अनुगमन गरिरहेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह नेतृत्वको टोलीले प्रदेशभित्रका ८ वटै जिल्लाका अस्पतालहरुको छड्के अनुगमन कार्यलाई तिव्रता दिएका छन् ।
प्रदेशको राजधानी जनकपुर देखी आठै जिल्लामा प्रक्रिया पूरा नगरेका अवैध अस्पतालहरू छ्याप्छ्याप्ती सञ्चालनमा रहेको तथा उपचारको नाममा बिरामीहरूलाई लाखौँ ठगिरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिंह आफै अग्रसर भएर अनुगमन सुरु गरेका हुन ।
कानुनी प्रक्रिया पूरा नगरी जनकपुर पिडारी चौकमा सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । त्यस्तै वीरगञ्जस्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गर्न निर्देशन दिएका छन् । अस्पताल अनुमति नै नलिई सञ्चालन गरेको पाईएकोले अस्पतालमा उपचार गराईरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन् ।
विरामीहरुले गुणस्तरीय स्वास्थ्य उपचारका लागी महंगो शूल्क तिरेर निजी अस्पताल जाने गरेको हुँदा विरामीहरुको सेवा सुविधामा निजी अस्पताल कतिको गम्भीर र गुणस्तर छ भन्ने अभिप्रायले आफूहरुले निजी स्वास्थ्य संस्थाको अनुगमन गरेको मुख्यमन्त्री सिंहले बताए ।
अनुगमन टोलीले श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वाेत्तम अस्पताल, आशाराम हस्पिटल, स्पर्श मल्टी स्पेस्यालिटी अस्पताल लगायत विभिन्न निजी अस्पतालहरुको अनुगमन गरेका छन् ।
अस्पतालहरुको कागजपत्र, फार्मेसी, लयाब, आकस्मिक वार्डलगायत विभिन्न विभागहरुको अनुगमन पश्चात आउने प्रतिवेदनका आधारमा ती अस्पतालहरुमाथि कारबाही गर्ने पनि मुख्य मन्त्री सिंहले बताएका छन् ।