
काठमाडौं । स्मार्टफोनका कारण अहिले मोबाइल बालेट प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइलबाटै कारोबार गर्न सकिने भएकाले वालेटले सेवाग्राहीको जीवन सहज र सरल बनाइदिएको छ । भुक्तानीदेखि रकम स्थानान्तरणसम्मको सुविधा यो प्रविधिबाट लिन सकिन्छ ।
मोबाइल एप्लिकेसनबाट पैसा जम्मा गरेर विभिन्न कारोबार गर्न सकिने सुविधालाई मोबाइल वालेट भनिन्छ । जसरी तपाइले तपाइको पर्स (वालेट)मा पैसा बोकेर हिड्नु हुन्छ त्यसरी नै मोबाइल वालेटलाई मोबाइलमा भएको तर पर्सले जस्तो काम गर्ने एप्लिकेसनको रूपमा प्रयोग गर्न सकिन्छ ।
राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनीहरुले यस्तो सेवा दिएका छन् । नेपालमा ई–सेवा, खल्ती, नमस्ते पे, आइएमई पे, प्रभु पे जस्ता मोबाइल वालेटहरु उपलब्ध छन् । जसलाई चलाउन सजिलो र घरबाटै खाता खोली कारोबार गर्न सकिने भएकाले यसको प्रयोग बढ्दै गएको छ ।
एक वालेटबाट अर्को वालेटमा दैनिक ५० हजार रुपैयाँसम्म र महिनामा पाँच लाख रुपैयाँ सम्म रकम पठाउन सकिने सुविधा राष्ट्र बैंकले दिएको छ । वालेटको प्रयोगबाट भुक्तानीका लागि भने निकै सहज भएको छ । मोबाइल बैंकिङ एप होस वा मोबाइल वालेट एप जसको प्रयोग राम्रोसँग गर्न सके पैसाको कारोबार गर्न सुरक्षित र सजिलो हुन्छ ।
मोबाइल वालेटाका फाइदाहरू
१. आफ्नो खातामा पैसा कति छ भनेर जाँच गर्न सकिन्छ । कारोबारको जानकारी पनि मोबाइलबाटै पाउन सकिन्छ ।
२. हातमा भएको पैसा लगेर राख्ने बाहेक पैसाको कारोबारको लागि बैंकसम्म पुगिराख्नु पर्दैन, कसैलाई पैसा पठाउँदा एउटा म्यासेज गरेर पठाउन सकिन्छ ।
३. पानी तथा बिजुली, मोबाइल तथा इन्टरनेट, ल्याण्डलाइन फोन, डिसहोम र अनलाइन सपिङको बिल तिर्न सकिन्छ । यसबाहेक सिनेमाको टिकट किन्न, प्लेन टिकट, बस टिकट लगायत खरिद गर्न सकिन्छ ।
४. खातामा भएको कारोबारको जानकारी पनि सिधै मोबाइलमा आँउछ ।
५. बैंकमा रकम पठाउन, विदेशबाट पठाएको रकम प्राप्त गर्ने सुविधा पाइन्छ ।
तर मोबाइल वालेट बैंक खाता होइन । यो एउटा भुक्तानीको माध्यम मात्रै हो । बैंक खाताबाट आफ्नो मोबाइल वालेटमा पैसा पठाई कारोबार गर्न सकिन्छ ।
मोबाइल वालेट चलाउँदा ध्यान दिन्ुपर्ने कुरा
१. आफ्नो मोबाइल लक गरेर राख्नुहोस, जसले मोबाइल वालेटको गलत प्रयोग हुनबाट जोगाउँछ ।
२. मोबाइल वालेटको पिन कसैलाई नदिनुहोस, समयसमयमा पिन नम्बर परिवर्तन गर्नुहोस् ।
३. आफ्नो व्यक्तिगत इमेल र फोन नम्बरको प्रयोग गरेर मोबाइल वालेट सुविधा लिनुहोस् ।