
पोखरा । वरिष्ठ सञ्चारकर्मी सुमन ढुंगाना ‘दिगो विकास प्रवर्द्धन अवार्ड २०८१' बाट सम्मानित भएका छन् । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालले दिगो विकास प्रवर्धनका लागि खोजमुलक पत्रकारिता मार्फत अमुल्य योगदान दिएको भन्दै ‘दिगो विकास प्रवर्धन अवार्ड २०८१’ बाट न्युज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख सुमन ढुंगाना सम्मानित भएका हुन् । उनीसँगै १२ दिनमा ३ पटक सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पनि सम्मानित भएकी छिन् ।
बिहीबारबाट पोखरामा शुरु भएको नेपाल युवा उत्सवमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि सहभागी छन् । त्यस्तै कार्यक्रममा सहभागीलाई दिगो विकासमा युवाको भूमिका सम्बन्धमा प्रशिक्षण गराउन भारत स्थित क्यानाडा दूतावासका फस्ट सेक्रेटरी सहित विभिन्न दातृ निकायका अधिकारीहरू पोखरा आएका छन् ।
कार्यक्रममा बोल्दै सम्मानित पत्रकार ढुङ्गानाले युवाहरू स्वदेशबाट कम हुँदै गएको गलत भास्य स्थापित गर्दै स्वदेशमै केही गरौं भन्ने युवाहरूलाई अवमूल्यन गर्न खोजिएको धारणा व्यक्त गरे । त्यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसीले युवा लक्षित कार्यक्रमहरू सञ्चालन गरी स्वदेशमा नै काम गर्ने वातावरण निर्माणका लागि गण्डकी सरकार लागिपरेको बताइन् ।
राष्ट्रिय युवा सञ्जालले यसभन्दा अगाडि देशका विभिन्न ठाउँमा गरी नौ पटक नेपाल युवा उत्सव मनाइसकेको छ । सञ्जालका अध्यक्ष सौरभ खनालले आगामी अगस्ट महिनामा पर्यटन, वातावरण र युवा केन्द्रित कार्यक्रम पोखरामै गर्ने बताउँदै सो कार्यक्रममा युरोपेली, अमेरिकी लगायतका थुप्रै देशहरूबाट युवाहरूको सहभागिता गराउने घोषणा गरे ।
त्यस्तै वातावरणविद अमृत देवकोटा संस्थापक रहेको सञ्जालले दिगो विकास, जलवायु परिवर्तनले पारेको असर लगायतका विषयमा केन्द्रित रहेर युवा लक्षित अभियान सञ्चालन गर्दै आइरहेको छ । बिहीबारबाट सुरु भएको नेपाल युवा उत्सव शनिबारसम्म पोखराको लेकसाइडमा चल्दैछ ।