News 24 Television
गलत तथ्याङ्क देखाएर रौतहटलाई शिक्षामा पछाडि देखाएको गुनासो 

रौतहट । मधेस प्रदेश सरकारका पूर्व मन्त्री तथा मधेश प्रदेश सभा सदस्य युवराज भट्टराई ’समिर’ले गलत तथ्याङ्क सङ्कलन गरेर रौतहटलाई शिक्षामा ७७  औँ जिल्लामा देखाइएको प्रति गुनासो गरेका छन् ।

रौतहटको चन्द्रपुर ६ मा रहेको चन्द्रपुर एकेडेमीको दोस्रो अभिभावक दिवसलाई सम्बोधन गर्दै भट्टराईले रौतहट जिल्ला नेपालकै सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको जिल्ला भएकाले यहाँ मदरसामा अध्ययन गर्ने विद्यार्थीहरू पनि धेरै रहेका उल्लेख गर्दै मदरसा शिक्षालाई नेपाल सरकारले औपचारिक शिक्षा नमानेकाले जनगणनामा रौतहट शिक्षामा पछाडि देखिएको उनको भनाइ छ ।

‘मधेस प्रदेशमा सबैभन्दा धेरै बाहुल्यता भएको जिल्ला रौतहट हो । मुस्लिमहरू धेरै मदरसामा पढ्छन् । हाम्रो शिक्षा नीतिले मदरसा शिक्षा चिन्दैन’ उनले भने, ‘यही डाटालाई आधार मानेर रौतहटलाई ७७ स्थानमा राखिएको छ । यो विषयलाई ठिक ढंगले जनप्रतिनिधिहरूले बहस गर्न जरुरी छ । कि मदरसा शिक्षालाई राज्यले शिक्षा नीतिभित्र ल्याउनुपर्यो र त्यहाँ पनि अहिलेको पाठ्यक्रम पढाउनुपर्यो ।’

54cdf3f1-e52f-4621-802a-bcc015dfbb2d-1740040910.jpg
 

उनले रौतहट मात्रै नभएर देशैभर यही गलत तथ्याङ्कलाई आधार मानेर आम मानिसमा यहाँका जनप्रतिनिधिहरू खतम, शिक्षामा लाग्ने मान्छेहरु पनि खत्तम भन्ने खालको एउटा भाष्य बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै यसमा राज्य गम्भिर हुनुपर्ने माग गरे । 

नेपाल सरकार र तथा निजी क्षेत्रले लिएका छात्रवृत्तिको परीक्षामा सबैभन्दा धेरै नाम रौतहटका विद्यार्थीहरुले निकाल्न सफल भएका उदारहण दिदैं उनले देशैभर डाक्टर धेरै रौतहटका, इन्जिनियर धेरै रौतहटका,  शिक्षक धेरै रौतहटका हुने तर भएपनि शिक्षामा सबैभन्दा पछाडि कसरी हुने उनले प्रश्न गरे ।

55e5f217-aa31-45de-81ae-0eb156cb5055-1740040915.jpg
 

अर्को एक प्रसङ्गमा उनले हामीले एकअर्काको आलोचना गरेर समय खेर फाल्नु भन्दा अरुको भन्दा म राम्रो गर्छु भन्ने भावना राख्नुपर्नेमा जोड दिए ।

‘अहिले हाम्रो देश बन्दैछ राम्रो हुँदैछ हामीले हाम्रो देशलाई सिङ्गापुर , अमेरिका होइन नेपाल बनाउनु पर्छ । प्रकृतिको सुन्दर देशलाई विश्वको उत्कृष्ट देश नेपाल बनाउँछु भन्नुपर्छ।’ उनको भनाइ छ, ‘हामीले अरुको नक्कल गर्नुभन्दा आफ्नो मौलिकतामा जोड दिनुपर्ने र मौलिक ढङ्गले देशको विकासमा लाग्नुपर्छ । चन्द्रपुर नगरपालिकाले पनि स्थानीय पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई स्थानीय संस्कार संस्कृति र पहिचानको बारेमा जानकारी दिनुपर्छ ।’

उनले चन्द्रपुर एकेडेमीले स्थापनाको दोस्रो वर्षमै हेटौडा काठमाडौँ जाने विद्यार्थीहरुलाई रोक्न सफल भएको भन्दै चन्द्रपुर नगरपालिकालाई सबैले जिम्मेवार भएर शिक्षा र स्वास्थ्यको हव बनाउनुपर्ने विचार राखे । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update